जब ‘मेरो भोइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन केन्द्र बिर्तामोडमा लोपोन्मुख जातजातिका सांस्कृतिक नृत्य आउन थाले, गौरवले छाती फुल्यो। कोही ट्याक्टरमा, कोही टुकटुकमा, कोही साइकल यात्रा गरेर अडिसन केन्द्रमा आउने ती दुर्लभ लोक समुदायमा असीम उत्साह, ऊर्जा, कुतूहल र खुसी देख्न सकिन्थ्यो। विपन्नताभित्रको सांस्कृतिक सम्पन्नता देखेर म हर्ष विभोर भएँ।
पितृ, प्रकृति, पर्वत, नदीनाला, ताल, वनस्पति, जडीबुटी, जीवजन्तु, पन्छी, सरीसृप, सिमेभूमे, ढुंगोमाटो, मातापिता, गुरुजन र मानवजातिको सभक्ति पूजा प्रार्थना गरेर प्रारम्भ हुने सांस्कृतिक नृत्यले सहअस्तित्व, अनुशासन, सहिष्णु, सहनशीलता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको अमूल्य सन्देश दिइरहेको भान हुन्थ्यो। प्रकृति र संस्कृतिको अन्तर्घुलित अन्तर्सम्बन्ध कति गहिरो, फराकिलो, व्यापक र विशाल! मातृभूमिको माया, राष्ट्रियता, राष्टवाद प्रस्तुत लोकसंस्कृतिमा अभिव्यक्त भइरहेको छर्लङ्ङ देखिन्थ्यो।
निभ्ने बेलाको बत्ती भनेजस्तो जति लोपोन्पुख जातजाति उति विशिष्ट र शक्तिशाली लोकसंस्कृति देखेर आँखाको आली भत्काएर अश्रुधारा बगिरह्यो। आफ्नो लोकधर्म, लोकसंस्कृति, लोक–सिर्जनाकला र लोकशक्ति उनीहरूको गीत, संगीत, नृत्यमा प्रतिबिम्बित भइरहेको थियो।
अनेक क्षेत्र, समुदाय, जाति, वर्ण, धर्म, संस्कारको सदियौं लामो अन्तर्घुलित अन्तर्सङ्घर्ष, अन्तर्समन्वय, अन्तरर्सहकार्यबाट विकसित विशिष्ट सहिष्णु संवेदनशील मनोविज्ञान र जीवनशैली झल्किने लोकसंस्कृतिले मलाई मोहनी लगायो। म भावुक भएँ। अश्रुधारामा डुबेँ।
भौगोलिक र प्राकृतिक विविधताका पत्रभित्र अमूल्य संस्कृति लुकेर बसेको देखियो। जति दूरदराज उति दुर्लभ र सुन्दर–शान्त संस्कृति ! निक्खर र वजनदार राष्ट्रियता र राष्ट्रवाद झल्किने कला, भाषा, साहित्य र संस्कृति।
अडिसनका दुई दिन मलाई दुई वर्ष लामो विश्वविद्यालयको उपयोगी पढाइजस्तो फलदायी लाग्यो, तर सांस्कृतिक रंगरमाइलो र रसले दुई मिनेटमा बितेझैं भयो। कति रसिक, सटिक, व्यापक र शक्तिशाली छ नेपाली राष्ट्रवाद भरिएको राष्ट्रिय संस्कृति।
भाषा, कला, साहित्य, संस्कृतिको सिमाना हुँदैन भनेको सत्य रहेछ। नेपाल मात्र होइन, सिक्किम, दार्जिलिङ, आसाम, मुम्बई लगायतका नेपाली कलाकारहरूको पवित्र संगमस्थल बनेको थियो कञ्चनजङ्घाको काखमा अवस्थित बिर्तामोड।
काठमाडौं संस्कृति
विश्वमा अमेरिका, क्यानडाबाट प्रारम्भ भएको अडिसन युरोपको लन्डन, पोर्चुगल हुँदै मध्यपूर्वमा दुबई र कतारमा सम्पन्न भएपछि एसिया प्यासिफिकमा जापान, हङकङ, बैंकक अस्ट्रेलियापछि भारतको मुम्बई र सिलिगुडीमा सम्पन्न भएर नेपाल छिरेको थियो। नेपालको पोखरा, नेपालगन्ज, झापापछिको अन्तिम अडिसन केन्द्र थियो काठमाडौं। नवोदित कलेजको प्राङ्गणमा राजधानी केन्द्रविन्दु वरिपरिका कलाकार मात्र होइन, छुटेका नेपालभरिका कलाकारहरूको रमाइलो दुई दिने सम्मिलन भयो।
पहिलो सिजन वानमा ५२ देशका नेपाली प्रतिभाको सांस्कृतिक माला यो सिजन टुमा आइपुग्दा फैलिएर ६० देशका नेपाली फूलको माला बनेको छ। गायन र नृत्यका विश्वभरिका एक सय २० प्रतिभा प्रतिस्पर्धाका लागि राजधानी आउने काम सुरु भइसकेको छ।
विश्वभरि भएको अडिसनले बनेको सांस्कृतिक मालाको दर्विलो गाँठो पार्ने काम काठमाडौंमा हुने भएकाले काठमाडौं–संस्कृति बहुआयामिक, रोचक र रमाइलो हुनेछ। विश्वभरिका कलाकार र स्रष्टाको संगमस्थल अब काठमाडौं हुनेछ।
विश्वभर छरिएको भाषा, कला, साहित्य, संस्कृतिको ज्ञान, सिप, अनुभव आदानप्रदान अब काठमाडौंस्थित सांस्कृतिक चौतारीमा हुनेछ। यो सांस्कृतिक एकताले राष्ट्रिय एकताको दियो बाल्नेछ। नेपालको राष्ट्रियता मजबुत पार्नेछ, चम्काउने छ। सिजन वानबाट मैले परोक्ष सिकेको पाठ।
भौगोलिक, प्राकृतिक, जैविक विविधताको खानी देखेर नेपाललाई पृथ्वीको स्वर्ग भनेर चित्रण गरिरहेँ मेरा लेख, रचना, पर्याकविता र पुस्तकहरूमा। देवभूमि, तपोभूमि, ज्ञानभूमि, मानव सभ्यताको आदिभूमिको गौरवशाली इतिहास भन्नै परेन।
संस्कृतिबिनाको प्रकृति झन् सुन्दर, शान्त, विशाल हुने नै भयो। प्रकृतिले संस्कृति रुचाउँदैन, सहन गर्दैन। तर प्रकृतिबिनाको संस्कृति सायद टुहुरो बिचरो हुन्छ। सांस्कृतिक सम्पदाको उदाहरण स्वयम्भूनाथ र बौद्धनाथलाई हेरे पुग्छ। सानो भए पनि हरियो जंगलले शिरमा बोकेको स्वयम्भुनाथ कति सुन्दर र शोभायमान ! बौद्धनाथलाई मानव अतिक्रमण र बस्तीले एेंठन हुनेगरी निचोरेको दृश्य सकसलाग्दो छ।
प्रकृतिबाट सिर्जित संस्कृति, गीत, संगीत, नृत्य, कला, कविता, लेख, रचना जे होस्, कति परिस्कृत र विशिष्ट हुन्छ। त्यसमा प्रकृतिको सुवास आउछ। भिर–पहिरो, बगर, उजाड मरुभूमिको संस्कृति सजीव सुन्दर लाग्दैन। त्यो निरस हुन्छ। दिनभरि जंगल सफारी गरेर बाघ देख्ने पर्यटकलाई लोकभाका, लोकसंस्कृति र लोकलयमा छमछमी घुमिघुमी नाच्नुपर्छ।
विश्वप्रसिद्ध अन्नपूर्ण पद यात्रा सकेर होस् वा सगरमाथा आरोहणपछि पर्यटकलाई नेपाली मौलिक संस्कृतिमा डुब्नुपर्छ। गाउनु, बजाउनु, नाच्नु पर्छ। तब मात्र पर्यटन कोर्स (गन्तव्य) पूर्ण÷तृप्त भएको मानिन्छ। त्यसैले पर्यटन विकासलाई एउटा सिक्काका दुई भाग प्रकृति र संस्कृति दुवै अपरिहार्य छन्। दुवैको संरक्षण संवर्धन प्रवर्धन जरुरी छ। प्राकृतिक, भौगोलिक, जैविक विविधताको रक्षक र पुजारी पंक्तिकार हाल स्वःस्फूर्त सांस्कृतिक सम्पदाको पुजारी भएको छु। सांस्कृतिक विविधताको चम्किलो इन्द्रेणीमा डुबेको छु, हराएको छु। यो लेख मेरो त्यही सांस्कृतिक अनुभूति हो।
पश्चिमेली र मध्य तथा सुदुरपश्चिमेली संस्कृति
विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र, ढोरपाटन क्षेत्र र धौलागिरि क्षेत्र सांस्कृतिक विविधताको भण्डार हो। यो क्षेत्रको समृद्ध लोकसंस्कृति आफ्नै लय, गति र पथमा लम्किरहेको छ। सांस्कृतिक केन्द्र पोखराले लोकसंस्कृतिको भण्डारलाई जीविकोपार्जन र पर्यटन प्रवर्धनमा जोडेर समृद्धिको यात्रा तय गरेको छ।
मध्य र सुदूरपश्चिममा मौलिक भाषा, कला, संस्कृतिको छुट्टै पहिचान र मानसम्मान छ। सुन्दर सुदूरपश्चिम भौगोलिक, प्राकृतिक, जैविक र सांस्कृतिक विविधतामा धनी छ। शुक्ला, खप्तड, रारा, डोल्पा, बाँके राष्ट्रिय निकुञ्जहरूमा प्रकृतिमैत्री पर्यापर्यटन बढाएर त्यहाँको सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्न सके प्रकृति र संस्कृतिले समृद्धिको ढोका खोल्ने थिए। नेपालगन्ज अडिसनअवधिभर आशलाग्दो समृद्ध भविष्यमा डुबुल्की मारिरहेँ। एउटा प्रसिद्ध डेउडा सांस्कृतिक नृत्य काठमाडौंसम्म आए हुने थियो भनेर प्रार्थना गरिरहेँ।
नेपालगन्ज, बिर्तामोड अडिसनमा तराईदेखि चुरे शृङ्खलासम्मको सांस्कृतिक सम्पदा समेटिएको देख्दा गर्वबोध भयो। प्रतिकूल प्रकृतिसँग अनुकूलित भएर प्रकृतिको पूजा गर्ने र भावी पुस्तालाई पुग्ने गरी त्यसको फारु र सन्तुलित रसपान र संरक्षण गर्दै जीवनलाई सरल, सरस, सार्थक, सभ्य बनाउने परम्परित रैथाने सोच र प्रविधि कति वैज्ञानिक व्यावहारिक र मूल्यवान् ! जहाँ जहाँ पुगेँ, त्यहाँ भूगोल, प्रकृति र तत्तत् समुदायले कुँदेको विशिष्ट मौलिक नेपाली भाषा, कला, संस्कृतिको भण्डार भेटेँ।
स्वामित्व र दायित्व
सत्य स्विकारेँ र चिन्तित भएँ। शैक्षिक विकृति, प्रविधि, आधुनिकीकरण र हचुवा विकासले मौलिक संस्कार–संस्कृति सङ्कटग्रस्त छ। मान्छेलाई ऊर्जा भर्ने, खार्ने, चुस्तस्फूर्त, स्वस्थ, खुसी, सुखी राख्ने लोकसंस्कृति खस्कँदो र लोपोन्मुख हुनु दुर्भाग्य हो। कुनै जातिविशेषको मौलिक वेशभूषा, भाषा, कला, साहित्य, संस्कृति र अस्तित्व लोप हुनु देशको अमूल्य ऐश्वर्य पलायन हो। समग्रमा राष्ट्रियता कमजोर हुनु हो।
अन्तर्राष्ट्रिय नेपाली एकताको सेतु नेपाली राष्ट्रिय संस्कृतिको संवर्धन र विकास गर्नु हरेक सचेत नेपालीको स्वधर्म र परमकर्तव्य हो।
आआफ्नो सांस्कृतिक सम्पदाको उजागर, संरक्षण, संवर्धन, प्रवर्धनको पहिलो जिम्मेवारी हरेक राष्ट्रभक्त नागरिकको हो। त्यसपछि त्यो विशेष समुदायको हो। तहतह र पत्रपत्रका सरकारहरूको हो।
नेपाल सरकार ‘अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि २००३’को पक्षराष्ट्र हो। यो महासन्धिले हरेक जातजातिका अझ लोपोन्मुख दुर्लभ समुदायका सांस्कृतिक परम्परागत सम्पदालाई अनिवार्य रक्षा तथा सम्मान गर्नु राष्ट्रिय वाध्यकारी उत्तरदायित्व हो भन्छ, जसबाट हामी हस्ताक्षरित राष्ट्र विमुख हुन मिल्दैन।
आभार इन्ट्रा फाउन्डेसनलाई
हिजो गाउने, बजाउने, नाच्ने कलाकारलाई मानसम्मान होइन, हेयको दृष्टिले हेरिन्थ्यो। राजा, महाराजा र विलासीहरूको मनोरञ्जनको साधन मानिन्थ्यो।
यो सांस्कृतिक महाअभियानले गाउनु, बजाउनु, नाच्नु विशेष र विशिष्ट प्रतिभा हो। अनमोल बौद्धिक सम्पत्ति हो। यो सिर्जनशील कला सम्मानयोग्य छ, पूजनीय छ भन्ने आत्मविश्वास जगाइदिएको छ।
नेपालका पत्र पत्रभित्र र विश्वभर छरिएका नेपाली कलाकारहरूलाई एउटा साझा सांस्कृतिक छातामुनि गोलबद्ध गर्ने, नेपाल नटेके नदेखेका नेपाली मूलका कलाकारहरूलाई नेपाल पुर्याउने, स्वदेशी संस्कृतिलाई परोक्ष अनुभूत गर्न पाउने इन्ट्राको पवित्र उद्देश्य तारिफयोग्य र कदरयोग्य छ।
संसारभरका नेपाली कलाकारले पितृ–मातृभूमिको साक्षात् दर्शन गर्न पाउने, गीत, संगीत, नृत्यको उत्पत्ति, विकासक्रम र समाजमा पारेको प्रभाव हेर्न पाउने र भौगोलिक, प्राकृतिक, जैविक, सांस्कृतिक विविधताको खोज–अन्वेषण, अध्ययन–अनुसन्धान तथा संरक्षण–सम्वर्धन एवं र पुनर्जागरणमा योगदान पुर्याउन पाउने दुर्लभ अवसरप्रति विश्वभरका कलाकारहरू हृदयदेखि अनुगृहीत रहेको देखेँ।
भावी पुस्तालाई नेपाली सांस्कृतिक मूल्यमान्यताको महत्त्वबोध गराई त्यसप्रति चित्ताकर्षक बनाउनु र त्यसलाई हस्तान्तरण पुस्तान्तरण गर्दै लैजानु यो सांस्कृतिक अभियानको सुन्दर सपना हो।
स्वदेश–विदेश एउटै भएको विश्वग्राम (ग्लोबल भिलेज) मा नेपालीहरू सयभन्दा बढी देशमा फैलिइसकेको विश्वास छ। जहाँ गए पनि म नेपाली र मन त नेपाली हो भन्दै गुनगुनाउनेहरूसँग हृदय पगाल्ने गीत, संगीत, नृत्य, संस्कृति झुन्डिएर गएको देखिन्छ।
कतिपय नेपालीहरू खाटी कलाकार नै छन्। त्यसैले विश्वका हरेक नेपाली हाम्रो सांस्कृतिक वैभव र पूर्वीय सभ्यता विश्वभर सम्प्रसार गर्ने नेपालका सांस्कृतिक दूत हुन्। ती नेपाली जातिको पहिलो गन्तव्य र प्राण हो नेपाल। एक सय २३ भाषाभाषीको सांस्कृतिक माला लगाएकी नेपाल आमा हेर्ने तिनको सपना साकार पारिदिएको छ यो अभियानले।
उसो त अमेरिकाका विभिन्न सहरमा बसोबास गर्ने नेपाली समुदायका लागि सात वटा निःशुल्क नेपाली वाद्यवादन, गीत, संगीत, नृत्य, स्कुल खोलेर भाषा, कला र प्रकृति प्रष्फुटनको अवसर दिइरहेको छ इन्ट्राले। जहाँ अमेरिकामा जन्मेका १२ सय बढी नेपाली विद्यार्थीहरूले रुचिपूर्वक नेपाली संस्कृतिको ज्ञान आर्जन गरिहेका छन्।
पंक्तिकार ती स्कुलमा पुगेर अरू स्रष्टाजस्तै भावविह्वल भएको थिएँ। मलाई लागेको थियो, त्यो नेपाली सांस्कृतिक केन्द्रको सजीव बिम्ब थियो। हरेक दुई वर्षमा संसारभर हुने अडिसन सांस्कृतिक केन्द्र सरह हुन्, जहाँ त्यो भूपरिधिका राजदूत, कला र संस्कृतिप्रेमी स्रष्टा, अभिभावक जम्मा भएर कलाकारहरूलाई हौसला दिनुहुन्छ।
अरू देशका भव्य, सभ्य सांस्कृतिक केन्द्र छन् काठमाडौंमा। विश्वमा भोलिपर्सि हाम्रा पनि होलान्। विश्व हुरुक्क हुने यति धनी कला, संस्कृति, परम्परा संसारलाई किन नसिकाउने? किन नदिने? तिनको विश्वभर प्रचारप्रसार गरेर देशको महिमा सगरमाथाझैं किन नफैलाउने? हरेक दिन ताँती लागेर विदेश जाने युवाले आफ्नो देशको कलासंस्कृतिलाई सभक्ति संसारभर पुर्याउने हो भने प्राकृतिक स्वर्ग नेपाल सांस्कृतिक स्वर्ग हुनेछ। हाललाई सांस्कृतिक केन्द्रको त्यो खाली ठाउँ इन्ट्राले पुर्ताल गरिदिएको छ। भावी सांस्कृतिक केन्द्रको जग सांस्कृतिक धरोहर इन्ट्राले हालिदिएको छ।
गैरनाफामूलक र विशुद्ध परोपकारी संस्था इन्ट्राको यो सांस्कृतिक अभियानलाई हरेक सरकार, प्रशासन, सञ्चार, सुरक्षा अंग र संस्कृतिअनुरागी दर्शकको साथसहयोग रहिआएको छ।
नेपाली सेना र सम्पूर्ण सुरक्षा अंग आफैं सांस्कृतिक सम्पदाका भण्डार हुन्। अझ समानता, समावेशितासहितको सांस्कृतिक सम्पदाको भण्डार छ त्यहाँ। पहिलो सिजनमा सेना, प्रहरी र सशस्त्रले नेपाली मौलिक सांस्कृतिक नृत्य पठाएर सांस्कृतिक अभियानमा एकाकार र सबैको साझा संस्कृति भन्ने शक्तिशाली सन्देश दिएको थियो। यो सिजन टु र भविष्यमा समेत त्यो सुन्दर परम्पराले निरन्तरता पाउने प्रतिबद्धताले यो अराजनीतिक अभियानलाई उत्साहित बनाएको छ। मिलिजुली स्वामित्व ग्रहणको कति सुन्दर र साझा पहलकदमी।
विश्वभर फैलिएको नेपाली जातिको बहुसांस्कृतिक माला नेपाल र नेपालीको प्राण हो। पहिचान र सम्मान हो। त्यस्तो अभौतिक सम्पदा र सम्पतिको रक्षा, कल्याण, सम्मान गर्नु राज्यका सबै नागरिक र तहतप्काको परमकर्तव्य हो। आफू गैरनेपाली भएर पनि यो कर्तव्यभन्दा धेरै माथि उठेर, आफैं धागो बनेर वैश्विक नेपाली संस्कृतिलाई एउटै मालामा उन्ने यो पवित्र अभियानका कल्पनाकार तथा रचनाकार इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी र टिमलाई जति सम्मान र कदर गरे पनि कमै हुन्छ। चार जात छत्तीस वर्णको साझा फूलबारीका अनेक जातजाति, भाषाभाषी र संस्कृतिको इन्द्रेणी कोर्ने, भर्ने, सजाउने उहाँको यो महान् अभियान नदीझैं अविश्राम, अविरल बगिरहोस्, शुभकामना !
–लेखक नेपाली सेनाका अवकाशप्राप्त सयाहक रथी साथै इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका नेपाल च्याप्टर अध्यक्ष हुन्।
प्रकाशित: ३० चैत्र २०८१ ०९:२५ शनिबार