कला

पण्डितको साइत

दुई लघुकथा

१) पण्डितको साइत

‘गल्लीपारिका वृहस्पति ढकालले भेट्न खोज्दै थिए, हजुरलाई!’

मन्दिर पुगेर आउँदै गरेका पण्डित बाजेलाई पण्डितनी बज्यैले दैला ठेलामै सम्झाइन्। ‘घरपैंचो कि के जातिका लागि साइत हेर्दिनुपर्‍यो भन्दै थिए।’

‘आइतबार आइतकुमारको घरमा एकाहा, सोमबार सोमवीरको घरमा रुद्री, मङ्गलबार मङ्गली भाउजूकोमा वार्षिकी ...’ पण्डित बाजेले आसकोटको खल्तीबाट चस्मा निकाल्दै टिपोट हेरेर बोल्दै गए। त्यति नै बेला घरपैंचोको साइत हेर्ने कुरा सम्झाउँदै वृहस्पतिको फोन आयो।

पण्डित बाजेले राशिको नाम सोधे जस्तो गरे। ‘राशि वृश्चिक, राशिको नाम यिश्वर...’ उताबाट आवाज आयो। ‘वृश्चिक राशि तो ना नि नु ने या यि यु ... भनेपछि मैले कुरा बुझें। पात्रो हेरेर एकछिनपछि फोन गर्छुझ भनेर फोन राखिहाले।

पण्डित बाजेले अघिको क्रम फेरि अगाडि बढाए। ‘बुधबार बुद्धिप्रसादकी छोरीको बिहे, शुक्रबार शुकमाया भाउजूकोमा सरात, शनिबार सन्सरेका भान्जाको बर्तुन ...।’

पण्डित बाजेले पण्डितनी बज्यैसँग भित्ताको क्यालेन्डर मगाए। आफू व्यस्त हुने बार हेर्दै घेरो लगाए, फोन निकाले र तुरुन्तै ब्याककल गरिहाले, ‘मैले पात्रो हेर्दा बिहीबार राम्रो साइत निस्कियो है, वृहस्पति बाबु!’

२) निष्कर्ष

दाजुभाइको घरझगडा दिन प्रतिदिन चर्किंदै गयो। कुटाकुटको अवस्थासम्म आयो। ’अर्काको घरका दाजुभाइ लडेको पनि के हेर्नु?’ भनेर जोरीपारीले खासै चासो दिएनन्।

दाइको अन्याय सहन नसकेको बहाना अघि सार्दै न्यायको खोजीका लागि भाइले छिमेकी गुहार्‍यो। छिमेकीले मतलब राखेनन्।

भाइको व्यवहारबाट आजित भएको बहाना बनाउँदै दाइले गाउँलेसमक्ष हारगुहार गर्‍यो। गाउँलेले वास्ता गरेनन्।

दुवैको राजनैतिक पार्टी एउटै थियो। भाइले न्याय पाउने उपाय रच्दै बठ्याइँ खेल्यो र पार्टी परिवर्तनको घोषणा गर्‍यो।

भोलिपल्ट दाजु र भाइका समर्थक पार्टीका नेताहरू झगडाबारे बुझ्न उनीहरूको घरमा प्रवेश गरे। दुवै पार्टीका नेताले आफ्नो समर्थकलाई पीडित र विपक्षीलाई पीडक ठहर्‍याउँदै दोषीमाथि कार्यवाही गरी पीडितले न्याय पाउनुपर्ने निष्कर्ष निकाले।  

प्रकाशित: २६ जेष्ठ २०८१ १०:५७ शनिबार

The knowledge of Pandit Siblings quarrel