निर्वाचन विशेष

झापा ५: सुकुम्वासी मत निर्णायक

भावी प्रधानमन्त्रीको नारासहित झापा–५ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह दुवैको नजर सुकुम्वासी बस्तीमा परेको छ। झापा–५ ओलीको गृह क्षेत्र हो। शाह भने ओलीसँग चुनाव लड्न काठमाडौंबाट यहाँ आएका हुन्। दल र उम्मेदवारले सधैजसो निर्वाचन जित्नका लागि सुकुम्वासी बस्तीमा आँखा लगाउँदै आएका छन्।

झापा–५ मा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या प्रत्येक निर्वाचनमा प्रमुख अजेन्डा बन्दै आए पनि अहिलेसम्म पूर्ण समाधान हुन सकेको छैन। यस पटक पनि यो विषयलाई अजेन्डा बनाइएको छ। यो क्षेत्रमा रहेको सुकुम्वासी समस्या २०४८ सालको निर्वाचनदेखि नै मुद्दा बन्दै आएको छ । जितमा सुकुम्वासीको मत निर्णायक हुने देखिएपछि दुवै नेताले उनीहरूलाई आआफ्नो पक्षमा तान्न प्रयास गरिरहेका छन्।

भूमि आयोग झापाको तथ्यांकअनुसार लालपुर्जा माग गर्दै ५२ हजार ४१ सुकुम्वासी परिवारले लिखित निवेदन दिएका छन्। यो जिल्लाभरिको तथ्यांक हो। झापा–५ मा करिब १२ हजार सुकुम्वासी परिवारको बसोबास छ। यो क्षेत्रमा पर्ने दमक नगरपालिकाभित्र बस्ने ५६० भूमिहीन दलित, दुई हजार ४७७ भूमिहीन सुकुम्वासी, ३ हजार २८५ अव्यवस्थित बसोवासी गरी ६ हजार ३३२ परिवारले जग्गाधनी प्रमाणपुर्जाका लागि निवेदन दिएका छन्।

ओलीले सुकुम्वासी समस्या समाधानका लागि रक्षात्मक प्रस्तुति दिने गरेका छन्। शाह भने यो मामिलामा आक्रामक देखिएका छन्। ‘साथीहरुले भन्दै थिए, सुकुम्वासी बस्ती भत्काउने अरे, डोजर लगाउने अरे। कोको मान्छे पो आएका छन् भनेर डर लाग्यो भन्दै थिए,’ ओलीले प्रतिस्पर्धी शाहलक्षित अभिव्यक्ति दिएका छन्। उनले नयाँ नयाँ मात्र भन्दा भोट खेर जान्छ भन्ने कुरा २०६४ सालको निर्वाचनबाटै पुष्टि भएको पनि उनले बताइरहेका छन्। ‘२०६४ देखि न एक सिन्का विकास भयो न जनतासँग सम्पर्क छ। वरको सिन्को पर सर्दैन, सिन्को भाँचिदैन,’ ओलीले भन्दै आएका छन्, ‘नयाँको स्वाद यस्तो तीतो, यस्तो अमिलो, न जिब्रो पखाल्दा जान्छ न अरु केही गर्दा।  बैंकले नोट छाप्दा त धितो जमानीबिना छाप्दैन। अहिले कुन मान्छेलाई भोट हाल्नु हुन्छ, भोट हालेको मान्छेलाई खोज्दै कहाँ जानुहुन्छ, घर देख्नुभएको छ?’

ओलीले काठमाडौंको मेयर बन्दा शाहले सुकुम्वासी बस्तीमा डोजर लगाएको विषयलाई पनि उठाएका छन्।

शाहले भने आफ्नो नेतृत्वमा सरकार बनेमा १०० दिनमा आयोग बनाउने र एक हजार दिनमा सुकुम्वासी समस्या समाधान गर्ने वाचापत्र वितरण गरिरहेका छन्। उनले काठमाडौंका सुकुम्वासीलाई व्यवस्थित गर्न खोजेको तर तत्कालीन सरकारले नदिएको भनेर मत तान्ने कोसिस गरिरहेका छन्। आली सुकुम्वासी समस्या समाधानका लागि आफूले गरेका कामको विवरणसहित प्रस्तुत भएका छन्।

झापा–५ मा पर्ने गौरादह नगरपालिकामा बस्ने ३३१ भूमिहीन दलित, एक हजार १२० भूमिहीन सुकुम्वासी र एक हजार २१३ अव्यवस्थित बसोवासी गरी दुई हजार ५६४ परिवारले लालपुर्जाका लागि निवेदन दिएको भूमि समस्या समाधान आयोग झापाको तथ्यांकमा उल्लेख छ । कमल गाउँपालिकामा बस्ने ७८ भूमिहीन दलित, दुई हजार १९० भूमिहीन सुकुम्वासी, २३१ अव्यवस्थित बसोवासी गरी ४९९ परिवारले जग्गाधनी प्रमाणपुर्जाका लागि निवेदन दिएका छन्।

गौरीगन्ज गाउँपालिकामा बस्ने २३५ भूमिहीन दलित, एक हजार १४६ भूमिहीन सुकुम्वासी, ७३६ अव्यवस्थित बसोवासी गरी दुई हजार २१ परिवारले जग्गाधनी प्रमाणपुर्जाका लागि निवेदन दिएका छन्। झापा–५ मा ३६ हजार मत सुकुम्वासीको रहेको बताइन्छ। उनीहरूले अहिलेसम्म लालपुर्जा पाएका छैनन्।

काठमाडौं महानगरपालिकाको मेयर हुँदा शाहले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयलाई लिएर झापाका सुकुम्वासीले चिन्ता व्यक्त गरेपछि उनले हटाउन होइन, व्यवस्थित गर्न खोजेको तर तत्कालीन सरकारले असहयोग गरेको बताएर मत तान्ने प्रयास गरिरहेका छन्।

कुन पालिकामा कति मतदाता?

निर्वाचन आयोगको तथ्यांकअनुसार झापा–५ मा १ लाख ६३ हजार ३७७ मतदाता छन्। गत चुनावमा भन्दा अहिले ९ हजार नयाँ मतदाता थपिएका छन्। फागुन २० गतेसम्म १८ वर्ष पुगेकाले मतदान गर्न पाउने भएकाले यो संख्या अझै थपिने सम्भावना छ।

यो क्षेत्रमा अघिल्लो चुनावमा ६४ प्रतिशत मत खसेको तथ्यांक छ। खसेको ६४ प्रतिशत मतमध्ये ५ हजार ११७ अर्थात् ५.१७ प्रतिशत बदर भएको थियो। त्यही आधारमा यसपालि पनि ५ प्रतिशत मत बदर भयो भने करिब १ लाख ६ हजार मत गणनायोग्य हुनेछ।

यो क्षेत्रमा चारवटा पालिका छन्। दमक र गौरादह नगरपालिका, कमल र गौरीगन्ज गाउँपालिका यो क्षेत्रमा पर्छन्। दमकका १० वटा वडा, कमलका सात वटा वडा, गौरीगन्जका चारवटा वडा (वडा नं. १, २, ३ र ४), गौरादहका वडा नम्बर ९ बाहेक बाँकी ८ वटा वडा यो क्षेत्रमा पर्छन्।

तथ्यांक अनुसार दमकमा ६५ हजार ९९७ मतदाता छन्। थपिएका मतदाताको आधारमा दमकमा ६५ प्रतिशत मत खस्यो भने ४२ हजार हुन आउँछ। यसमा बदर मत ५ प्रतिशत कटाउँदा ४० हजार मत गणनायोग्य हुन सक्छ।

गौरादहका ८ वटा वडामा गरी ४१ हजार ४७५ मतदाता छन्। जसमध्ये ६५ प्रतिशत मत खस्यो भने २६ हजार ९५८ मत हुन आउँछ। यसबाट बदर मत ५ प्रतिशत घटाउँदा लगभग २५ हजार मत गणनायोग्य हुन सक्छ।

त्यस्तै ४० हजार ७८६ मतदाता रहेको कमल गाउँपालिकाबाट करिब २५ हजार सदरमत खस्न सक्छ। गौरीगन्जका चारवटा वडा गरी १५ हजार ११९ मतदाता छन्। गौरीगन्जबाट ६५ प्रतिशतले मतदान गरे भने करिब ९ हजार ८०० मत हुन आउँछ। जसमा ५ प्रतिशत बदर मत घटाउँदा करिब ९ हजार मत गणनायोग्य हुन सक्छ। अहिले झापा–५ मा १ लाख मत खस्न सक्ने सम्भावना छ।

समानुपातिकमा कसको मत कति?

अघिल्लो निर्वाचनमा झापा–५ बाट एमालेले समानुपातिकतर्फ ३५ हजार ८७२ मत पाएको थियो। प्रत्यक्षतर्फ ५२ हजार ३१९ मत पाएर ओली निर्वाचित भएका थिए। यो क्षेत्रमा एमालेको संगठित मतमा ओलीले व्यक्तिगत प्रभावका मत पनि थपेको नतिजाबाट देखिन्छ।

रास्वपाले यो क्षेत्रबाट समानुपातिकतर्फ १८ हजार २०५ मत पाएको थियो। यो मतमा शाहले व्यक्तिगत प्रभावको मत थपेर दोब्बर बनाए भने पनि ३६ हजार हाराहारीमा पुग्छ। समानुपातिकतर्फ कांग्रेसको १६ हजार, माओवादीको ८ हजार र राप्रपाको ७ हजार मत थियो। जनमत पार्टीले १८०० र पहिचानवादी दलका रूपमा रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १४०० मत पाएको देखिन्छ। बाँकीले एक हजार मत कटाएको देखिँदैन।

प्रकाशित: १४ फाल्गुन २०८२ ०८:०४ बिहीबार