धर्म/संस्कृति

भक्तपुरमा यसरी मनाइयो यौन संस्कृतिसँग जोडिएको ‘घण्टाकर्ण पर्व’

नास्तिक गठामगलाई दाहसंस्कार गरी बुधबार भक्तपुरमा गठामग चह्रे (घण्टाकर्ण पर्व) मनाइएको छ। विशेष गरेर भक्तपुर नगरका टोलटोलमा छुट्टाछुट्टै रूपमा यो पर्व मनाइएको हो। प्रत्येक वर्ष साउन शुक्ल चतुर्दशीका दिन काठमाडौं उपत्यकासहितका नेवार समुदाय रहेको देशभरका बस्तीमा यो चह्रे यसरी नै मनाइन्छ।  

काठमाडौं उपत्यकामा मनाइनेमध्ये भक्तपुरमा मनाइने पर्व विशेष आकर्षक छ। त्यहाँ टोलटोलमा नर्कट, छ्वाली, नागलो, हाँडी लगायतबाट आफैं उभिन सक्ने गरी तीन खुट्टा भएको मानवरूपी गठामग बनाइन्छ। नर्कटबाट छ्वालीले बेरेर उभिन सक्ने कलात्मक मानवरूपी गठामग टोलटोलमा साँझ बनाइन्छ। नागलोमा मुख, नाक, कान लेखिन्छ। हाँडीको टाउको बनाइन्छ। यसरी टोलटोलमा बनाइएको गठामगलाई टोलबासी नै मिलेर नजिकको दोबाटोमा लगेर जलाइन्छ। यस क्रममा दुई-चार जनाले गठामगलाई बोकेर बाँकी बालबालिकादेखि वृद्धवृद्धासम्म छ्वाली बालेर दाहसंस्कार गर्न जाने परम्परा छ।  

दाहसंस्कारबाट फर्कँदा बाटोमा पर्ने धारा, ढुंगेधारा, कुवा, पोखरी, इनार आदिमा पुगी चोखिने चलन यथावत् छ। फर्केपछि दाहसंस्कारमा सहभागी फर्केर आ-आफ्नो घरमा छ्वाली बालेर धुवाले घरलाई सेक्ने चलन छ। साथै आ-आफ्नो घरको ढोकामा किला ठोक्ने पनि गरेर सम्हे बजी (भोज) खाने चलन छ।  

चह्रे यौनसँग पनि सम्बन्धित छ। गठामग बनाउँदा यौन अंग (गुप्ताङ) लाई विशेष प्राथमिकतामा राखी बनाइन्छ। लामो नर्कटलाई परालबाट बनाइएको डोरीले बेरेर त्यसको तल दुई वटा भोगटे राखी पुरुष यौन अंग (लिङ्ग) राखेर गठामग बनाइन्छ। साथै दाहसंस्कार गर्न जाँदा पनि बाटोभरि अश्लील भाका लगाउँदै जाने परम्परा यथावत् छ। यसलाई नेपाल भाषामा भ कायगु (नारा लगाउने) भनिन्छ। यसकारण यो पर्वमा महिलाहरू सहभागी हुने गर्दैनन्। पर्वका क्रममा अश्लील नारा लगाउने भएकाले महिलाहरू सहभागी नहुने बताइन्छ। यही कारण अरू-अरू सबै जात्रापर्वमा महिलाहरू सहभागी भए पनि अहिलेसम्म यो पर्वमा महिला सहभागी भएका देखिँदैनन्।  

कला, संस्कृति तथा भजन महागुथि भक्तपुरका संस्थापक अध्यक्ष डा. इन्दुल केसीका अनुसार टोलटोलमा बनाएर दाहसंस्कार गर्न लगिने यो गठामग राक्षस नभई घण्टासुर नामको एकजना नास्तिक हो। जिउभरि घण्टा झुन्डाएर बस्ने भएकाले उनको नाम घण्टासुर रहेको उनी प्रष्ट पार्छन्।  

संस्कृतिविद् डा. केसीका अनुसार चोक दोबाटोमा बसेर बालबालिकालाई मारेर खाने घण्टाकर्णलाई टोलबासी मिलेर मारेर दाहसंस्कार गरेको रूपमा पर्व मनाइँदै आएको छ। परापूर्वकालमा रोपाइँ सकेर यौन शिक्षा दिने क्रमसँग जोडिएको पर्व यौनसँग जोडिएको उनी सुनाउँछन्।

प्रकाशित: ७ श्रावण २०८२ १८:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App