धर्म/संस्कृति

‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’

फाइल तस्बिर

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘उभौली पर्वले हामी सबैलाई प्रकृतिको संरक्षण र संवर्द्धन गर्नका साथै सबै नेपाली जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ भनी कामना गरेका छन्।

उनले आज उभौली पर्वका अवसरमा किरात समुदायलगायत सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै कामना गरेका हुन्। प्रकृतिसँगको सहअस्तित्व, ऋतु परिवर्तनको स्वागत तथा सामूहिक एकताको प्रतीकका रूपमा मनाइने उभौली पर्वले हाम्रो मौलिक संस्कृति र परम्पराको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ। उनले यस पर्वले प्रकृतिप्रतिको प्रेम एवं सम्मान, सामूहिकता र श्रमप्रतिको आदरलाई अझ सुदृढ बनाउने गरेको पनि बताएका छन्।

अध्यक्ष दाहालले भनेका छन्, 'विविधता हाम्रो पहिचान र शक्ति हो। विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो, यस्ता मौलिक पर्वहरूले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकताको आधारलाई अझ मजबुत बनाएका छन्।'

उभौली पर्वमा प्राकृतिक प्रकोपबाट बच्न र अन्न बाली राम्रो होस् भनी पूजा गरी भूमि देवतालाई खुसी बनाउने चलन छ। प्रकृतिलाई खुसी तुल्याएर भूमिबाट बढीभन्दा बढी लाभ लिने परम्परा संस्कृतिका दृष्टिले मात्र नभएर हाम्रो कृषिप्रधान देशका लागि थप प्रेरणादायी र सन्देशमूलक भएको अध्यक्ष दाहालको भनाइ छ।

प्रकाशित: १८ वैशाख २०८३ ०८:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App