मोहनी नखः को आज आठौं दिन नेवार समुदायले विधिवत रूपमा दसैंको मासु भित्र्याएर ‘कुछीभ्वय’ खाई महा अष्टमी पर्व मनाउँदै छन्। बडादसैँलाई महनी नखाः का रूपमा मनाउने नेवार समुदायले महा अष्टमीको साँझ कुछीभ्वय खाएर पर्व मनाइन्छ। विशेष गरेर अष्टमीलाई कुछिभ्वय, नवमीलाई स्याक्वट्याक्व नखाः र दशमीलाई चालका रूपमा भवानीको प्रसाद ग्रहण र टीकासँगै नेवार समुदायले मोहनी नखाः मनाइन्छ।
आश्विन शुक्ल प्रतिपदाको दिन नलाः स्वनेगु अर्थात् जमरा राखेर नेवार समुदायले मोहनी नखाः को सुरुआत गर्छन् भने अष्टमीको दिन कुछिभ्वय खाँदै मोहनी नखाः को भोजको सुरुआत गर्दछन्। कुछिभ्वय खाएदेखि दशमीको दिन बिहान भवानीको प्रसाद ग्रहण नगरेसम्म भात खान नहुने प्रचलन छ।
वर्षभरि मनाइने चाडपर्वमध्ये मोहनी नखाः महत्त्वपूर्ण र ठूलो चाड हो। मोहनी नखाः मनाउन घरपरिवारदेखि टाढा परदेशमा नोकरी गर्ने, व्यापार व्यसाय गर्नेहरू घर आउँछन्।
त्यसैगरी छुट्टिएका दाजुभाइहरू एउटै घरमा घरका ज्येष्ठ सदस्य भएको घरमा जम्मा भई मोहनी नखाः मनाउने गर्दछ।
विभिन्न चाडपर्वलाई विशेष र मौलिक परम्पराका साथ मनाउन सिपालु नेवार समुदायमा अष्टमीको खाने कुछीभ्वयको विशेष महत्त्व छ। यसको परिकारसमेत अन्य भोजभन्दा भिन्न प्रकारको हुन्छ।
कुछीभ्वय खान तरकारीका परिकार मात्रै १२ थरी चाहिन्छ भने छोयला १२ टुक्रा राखिन्छ। केराको पातमा दुई माना चिउरासँगै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपीच्यपी (काँचो फर्सीका ससाना दुईथरी चाना), अदुवा, बोडी, केराऊ, मस्याङ, घिराैंला, भटमास लगायत परिकार राखेर कुछीभ्वय खाने प्रचलन रहेको संस्कृतिकर्मी हरिशरण राजोपाध्यले बताए। कुछीभ्वय्मा फलफूलमा अम्बा र केरा अनिर्वाय मानिन्छ।
कुछिभ्वय खाने बेलामा माटोको सानो घैँटोमा जाँड अथवा रक्सी राखेर ‘थापिँचा स्वनेगु’ गर्ने प्रचलन रहेको राजोपाध्यले बताए। थापिँचा स्वने बेला माटोको घैँटोलाई सलिँचाले घैँटो छोप्ने र त्यसमाथि केराको पातमा राँगोको मासु एक टुक्रा राख्ने प्रचलन रहेको राजोपाध्यले बताए।
यसरी थापिँचा स्वनेगु गर्दा राखेको जाँड र मासु नवमीको दिन प्रसादका रूपमा खाइन्छ। यो प्रसाद खाँदा पेट सम्बन्धी विकार हट्ने धार्मिक विश्वास छ।
आफन्तको मृत्यु भएर जुठो परे पनि कुछीभ्वय खानुपर्ने मान्यता केही नेवार समुदायमा छ। जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन छ।
नेवार समसदायमा कुछिभ्वयका सन्दर्भमा दुई भनाइ प्रचलनमा छ। एकथरी भनाइ अनुसार कुछिको अर्थ ‘दुई माना’ हो भने भ्वयको अर्थ ‘भोज’ हो। दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम ‘कुछी भ्वय्’ रहन गएको एकथरीको भनाइ छ भने अर्को थरी संस्कृतिकर्मीले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकाले यसको नाम कुलछी भ्वय् हुन गएको र पछि अपभ्रंश भएर कुछीभ्वय हुन गएको भनाइ छ।
महाअष्टीको अवसर पारेर नेवार समुदायले घरघरमा दसैंको मासु भित्र्याएका छन्। नेवार समुदायमा गुठी, टोलछिमेक मिलेर संयुक्त रूपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलन अनुसार आज दसैँको मासु भित्र्याएको हो। मासु भित्र्याउँदा घरको मूलढोका अगाडि राखेर चोखो पानी छरेर तीन पटक दायाँबायाँ ढुटो, मासुको टुक्रा र रगत र्छकेर मन्छाएर मात्र घर भित्र्याउने प्रचलन छ। यो परम्परा घरको नकींबाट गर्ने चलन छ।
प्रकाशित: १४ आश्विन २०८२ १०:५५ मंगलबार



