धर्म/संस्कृति

रामजानकी विवाह महोत्सवमा मुग्ध जनकपुरधाम

जनक नगरिया भइले शोर हे सुहावन लागे...

अवध नगरिया से चलली बरियतिया
हे सुहावन लागे।
जनक नगरिया भइले शोर
हे सुहावन लागे...
मिथिला तथा भोजपुरी क्षेत्रको विवाहमा गाइने यी र यस्तै गीतले गुञ्जायमान छ जनकपुरधाम। रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत जनकपुरधाममा सप्ताहव्यापी कार्यक्रमले रौनकता बढाएको छ। विवाह पञ्चमी महोत्सवका लागि जनकपुरको जानकी मन्दिर झकिझकाउ पारिएको छ।

जनकपुरधामका (मिथिला) राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबिच त्रेता युगमा भएको भनिएको बिहेको सम्झनास्वरूप हरेक वर्ष जनकपुरधाममा रामजानकी विवाह उत्सव मनाइन्छ। मधेस सरकारले मंगलबार विवाहपञ्चमीका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव बिहीबारदेखि नै सुरु भएको छ। महोत्सवका प्रत्येक कार्यक्रम महत्त्वपूर्ण र रोमाञ्चक हुन्छन्। महोत्सवको पहिलो दिन नगर दर्शन सम्पन्न भयो। यस दिन राम–सीताको प्रतिमा र झाँकीलाई बाजागाजाका साथ नगर परिक्रमा गराइएको थियो।

दोस्रो दिन फूलबारी लीला मनाइएको छ। राम अयोध्याबाट आएपछि सीतालाई फूलबारीमा पहिलो पटक हेरेको सम्झनास्वरूप फूलबारी लीला गरिन्छ। मौलिक मैथिली लोकगीत गाएर राम–सीताको प्रतीक मानिएका दुई बालबालिकालाई शृंगार गरी फूलबारीमा घुमाइन्छ। यो विधि जानकी मन्दिरसँगै रहेको विवाह मण्डपमा हुन्छ।

फूलबारीमा राम–सीताको पहिलो भेट भएपछि नै दुवैबिच प्रेम सम्बन्ध जुटेको मान्यता छ। तेस्रो दिन बिहीबार धनुष यज्ञको विधि भएको छ। सीता स्वयंवरका लागि राजा जनकले शिवको धनुषमा ताँदो चढाउने सर्त राखेको स्मरणस्वरूप सोही लीलालाई प्रदर्शन गरिँदै आएको छ। चौथो दिन आइतबार तिलकोत्सव मनाइएको छ। 

विवाह महोत्सवको मुख्य आकर्षणमध्ये एक हो तिलकोत्सव। राम मन्दिरको प्रांगणको तिलकोत्सव मञ्चलाई जानकी मन्दिरबाट वरपक्ष राम मन्दिरलाई पठाएको एक सयभन्दा बढी भार (कोसेली) सहित सजाइन्छ। सोही क्रममा जानकी मन्दिरका महन्थ र राम मन्दिरका महन्थबिच सम्धी मिलान समारोहसमेत गरिन्छ। सम्धी मिलन मिथिलाको वैवाहिक उत्सवमा विशेष संस्कृति हो।

पाँचौँ दिन सोमबार मटकोरको विधि मनाइएको छ। यस विधिमा विवाहमण्डप बनाउन पवित्र जलाशय गंगासागरबाट माटो ल्याइन्छ। सोही माटोले विवाहको वेदीलाई लिप्ने गरिन्छ। छैटौँ दिन मंगलबार साताव्यापी महोत्सवको मुख्य आकर्षण राम–सीताको स्वयंवर हुन्छ।

यस दिन राम–सीताको डोलालाई हजारौँ श्रद्धालुहरूका साथमा रंगभूमि मैदान लगिन्छ। सोही मैदानमा जानकीको डोलाले रामको डोलालाई चार पटक परिक्रमा गरी माला लगाउने परम्परा छ। साँझमा मन्दिरको प्रांगणमा अवस्थित विवाह मण्डपमा राम–सीताको प्रतिमाबिच वैवाहिक विधि सम्पन्न गरिन्छ।

अन्तिम दिन बुधबार रामकलेवा मनाइन्छ। यसलाई मैथिलीमा बरातीको बिदाइ भनिन्छ। यस दिन बरातीलाई छपन्नवटा भोग व्यञ्जन खुवाइन्छ। लुगा र कोसेली दिई बिदाइ गरेपछि विवाह महोत्सव विधिवत् रूपमा सम्पन्न हुन्छ। रामायणमा तुलसीदासले लेखिएको पंक्ति उद्धृत गर्दै जानकी मन्दिरका उत्तराधारी महन्थ रामरोशन दास भन्छन्, ‘सिया रघुवीर विवाह जे गावही, सुनही तिनहुँ सदा उछाह मंगलाय तन रामजसो।’

बालकाण्डको अन्तिममा लेखिएको यस पंक्तिको अर्थ हो, भगवान् राम र सीताको यस अलौकिक विवाहलाई जसले हृदयदेखि सुन्ने, गाउने र वाचन गर्ने गर्छ, उसको जीवन सदैव मंगलमय हुन्छ। त्यसैले पनि विवाहपञ्चमी महोत्सव जनकपुरधामका घरघरमा सुनिने, गाइने र वाचन गर्ने गरिन्छ। वर्षौंदेखि जनकपुरधामले धान्दै आएको यो सांस्कृतिक विरासत मिथिलाका अन्य सहरमा फैलिँदै छ।

अघिल्ला वर्षहरूमा महोत्सवमा सहभागी हुन देश–विदेशका विशिष्ट राजनीतिक व्यक्तित्वलाई पनि आमन्त्रित गर्ने गरिन्थ्यो। विशिष्ट व्यक्तिहरूको आगमन हुँदा सर्वसाधारण श्रद्धालुलाई महोत्सव मनाउन समस्या हुन्थ्यो। 

जनकी मन्दिरको इतिहास
जानकी मन्दिर हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल हो। जानकी अर्थात् सीताको यस मन्दिरलाई मुगलशैलीमा बनाइएको छ। विदेह राज्यको एक हजार चार सय ८० वर्ग मिटर (१५,९३० वर्ग फिट) क्षेत्रफलमा पूर्ण रूपमा चम्किलो सेतो रङमा निर्मित, यो ढुंगा र संगमरमरले बनेको तीन तले संरचना हो। मन्दिरका भित्तामा मिथिला कला (मधुबनी) चित्र छन्। यसका सबै ६० कोठामा नेपालको झन्डा, रंगीन काँच, नक्कासी र चित्रकला, जालीका झ्याल र बुर्जले सजाइएको छ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो। हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ। भारतको मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले नौ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ। सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मन्दिर निर्माण पूरा भएको थियो। 

मन्दिर मिथिलाञ्चलवासीका लागि सांस्कृतिक धरोहर पनि हो। मन्दिरको वार्षिक क्यालेन्डरअनुसार जन्मदेखि मृत्युसम्म प्राय: सम्पूर्ण क्रियाकलाप मिथिला विधिअनुरूप हुने गरेको छ। राम जन्मका अवसरमा हरेक चैतमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूर्णिमामा कोजाग्रत, साउन–भदौमा झुला, फागुनमा परिक्रमालगायत मनाइनु यसका उदाहरण हुन्। प्रत्येक महिनाका पूर्णिमामा हजारौँ भक्तजन सहभागी हुन्छन्। यस मन्दिरलाई नेपाल सरकारले विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न प्रयास गरिरहेको छ। 

रामायणअनुसार राजा जनकले मिथिलाको तत्कालीन राजधानी जनकपुरधाम क्षेत्रबाट विदेह राज्यमा शासन गरेका थिए। उनकी छोरी, जानकी (सीता), आफ्नो स्वयंवर (दुलहा छनोट समारोह) को समयमा, रामलाई आफ्नो पतिको रूपमा रोजिन् र अयोध्याकी रानी बनिन्। उनीहरूको विवाह समारोह पाँचौँ शताब्दीमा यस मन्दिरसँग जोडिएको पुरातन विवाह मण्डपमा भएको मानिन्छ। जसलाई पछि अमरसिंह थापाले मर्मत र पुनर्निर्माण गरेका थिए। यो साइटलाई सन् २००८ मा युनेस्को अस्थायी साइटको रूपमा नामाकरण गरिएको थियो।

विसं १४१७ मा भारतको राजधानीस्थित लोहागढबाट जनकपुर आएका आदि महन्थ सुरकिशोरदास वैष्णवले राम–जानकीको प्रतिमा फेला पारेको बताइन्छ। १७८४ सालमा मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरका नाउँमा १४ सय बिघा दान दिएको लिखत छ।

रोटी–बेटी जनसम्बन्धको सेतु
त्रेतायुगमा सीता र रामको जनकपुरधाममा विवाह भएको थियो। यो पर्व त्यही परम्पराको निरन्तरता हो। छोरी सीताको विवाहका लागि पिता जनकले शिवको धनुषमा ताँदो चढाउने प्रतिस्पर्धासहितको स्वयंवर आयोजना गरेका थिए। अयोध्याका राजकुमार रामले धनुष उचाली ताँदो चढाउन लाग्दा भाँचिएर तीन टुक्रा भएको थियो।

रामले विवाहको सर्त जितेको हुनाले उनलाई सीताले वरमाला लगाइदिएकी थिइन्। ‘पाँच शताब्दी पुरानो परम्परालाई हामीले निरन्तरता दिइरहेका छौँ’, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव बताउँछन्।

पहिला अयोध्याबाट जन्ती ल्याउने चलन थिएन। अयोध्याबाट अनौपचारिक रूपमा आउनेलाई जनकपुरवासीले जन्ती मानेर स्वागत गर्थे। ‘तर २०६१ सालदेखि अयोध्याबाट विधिवत् जन्ती ल्याउन थालिएको हो’, वैष्णव बताउँछन्।

यसका लागि दुई देशका सरकार र खास गरी तत्कालीन विश्व हिन्दु परिषद्का अशोक सिंघलले पहल गरेको उनले बताए। यसरी पहिलो पटक चारपाँच सय गाडीमा जन्ती सजाएर ल्याइएको थियो। रामायणमा जुन बाटोबाट जन्ती गएको उल्लेख थियो, त्यही बाटो भएर जनकपुरधाम पुर्‍याइएको थियो।

जनस्तरमा नेपाल–भारत सम्बन्ध सघन छ। यसलाई ‘रोटी–बेटी’ को सम्बन्ध भनेर पनि अर्थ्याइन्छ। यसको सुरुवात जानकीले गरेकी थिइन्। त्यसैले विवाह महोत्सव दुई देशबिचको सांस्कृतिक सेतु हो।

प्रकाशित: ९ मंसिर २०८२ ०८:१६ मंगलबार