हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा आज छठ पर्व मनाइएको छ। म्याग्दीमा बसोबास गर्ने तराईबासी नेपाली र भारतीय नागरिकले बेनीमा छठ पर्व मनाएका हुन्।
जलजला गाउँपालिका–३ स्थित कालीगण्डकी नदी किनारमा मिथिलाञ्चलवासीले छठी देवीको पूजाआजा र नदीमा गएर अर्घ दिएका छन्।
सूर्यदेवको उपासना गरेर हरेक वर्षको कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएर सप्तमीसम्म मनाइने छठले धार्मिक र सामाजिक सद्भावको सन्देश दिएको छ।
आज साँझ कालीगण्डकी नदी किनारमा पूजाआजा र अर्घ दिएका व्रतालुले सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिने तयारी गरेका छन्। छठको पुजाका लागि तीन दिनसम्म पानी पनी नखाई व्रत बसेका थिए।
नुहाइधुवाइ शुद्ध बस्त्र लगाएर व्रत बस्ने गरिएको बेनीमा ब्यवसाय गर्दै आउनुभएका प्रतिमा शाहले बताइन्।
व्यावसायिक व्यस्तताले जन्मथलो जान नपाए पनि आफू बसेकै ठाउँमा सामूहिक रुपमा छठ पर्व मनाइएको किसन शाहले बताए।
नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायत राखिएका प्रसाद लिएर नदी किनारमा उभिएका व्रतालुले सूर्यलाई अर्घ चढाएका थिए । ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, फर्सी, सिंगारा, पान, सुपारी, धूप, दीप, अरतक, पात, चना आदिको प्रसाद बनाएर चढाएका थिए।
छठ मनाउन जम्मा भएका मिथिलाञ्चलवासीलाई बेनीमा बसोबास गर्ने अन्य समुदायले शुभकामना दिएका थिए।
छठको पूजा गरेको देखेर अनौठो मानेका थिए। आफ्नै जन्मथलोमा जसरी विधिपूर्वक छठ मनाएको उमाशङ्कर शाहले बताए।
म्याग्दीका विभिन्न ठाउँमा करिब २०० जना तराईबासी छन्। व्यावसायिक र पारिवारिक कारणले घरमा जान नपाउनेलाई पछिल्ला केही वर्षयता बेनीमै छठ पर्व मनाउने व्यवस्था मिलाएको सञ्जय ठाकुरले बताए।
बेनीका करिब १०० जना मिथिलाञ्चलबासी यसपालि छठ मनाउन आफ्नो जन्मथलो गएका र नगएकाहरुले बेनीमै मनाएको उनले बताए।
विसं २०७७ वर्षदेखि तराईबासीले म्याग्दीमा छठ मनाउन थालेका हुन्। सरकारले विसं २०७६ फागुनमा म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गरेको थियो। रासस
प्रकाशित: २९ कार्तिक २०८३ १८:५५ आइतबार



