प्रहरीले ५ केजी ५०० ग्राम गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरोले थाईल्याण्डबाट नेपाल हुँदै भारततर्फ गाँजा तस्करी गरिरहेको अवस्थामा भारत उत्तर प्रदेशका ४३ वर्षीय रेन्कु मेहेन र ३२ वर्षीय मोहम्मद हस्नाइनलाई पक्राउ गरेको हो।
ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौं नयाँ बसपार्कबाट २ जना भारतीय नागरिकहरू सुटकेस साथमा लिएर शङ्कास्पद अवस्थामा फेला परी चेकजाँच गर्ने क्रममा रेन्कु मेहेनले समाई राखेको सुटकेसभित्र लुकाई राखेको थाईल्याण्डको ५ केजी गाँजा बरामत गरेको थियो।
प्रारम्भिक अनुसन्धानबाट रेन्कु मेहेन थाईल्याण्डबाट काठमाडौं आएको र मोहम्मद हस्नाइन भारतीय नम्बर प्लेट युपी ३८ एपी १९७३ को गाडी लिएर गाँजा रिसिभ गर्न काठमाडौं आएको खुलेको प्रहरीले जनाएको छ।
उक्त गाडी धादिङको धुनीबेसी नगरपालिका–१ स्थित पृथ्वी राजमार्ग किनारमा बेवारिसे अवस्थामा फेला परेको र गाडीमा खनतलासी गर्ने क्रममा सिटमुनि लुकाएर राखिएको अवस्थामा थप ५०० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
थाईल्याण्डबाट गाँजा पठाउने व्यक्ति सुहेल खान र भारतबाट गाडी लिएर गाँजा लिन आउने फरार साहिब खान आपसमा दाजुभाइ रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उक्त गाडी यसभन्दा अगाडि २ पटक नेपाल आई थाई गाँजा भारत लगीसकेको खुलेको छ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २१ श्रावण २०८३ १८:३४ बिहीबार



