रूपा गाउँपालिकाबाट पोखरातर्फ आउँदै गरेको सार्वजनिक बसमा सवार एक महिलाको पर्स चोरी गरेको अभियोगमा कास्की प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा रौतहट घर भएका ४२ वर्षीय गुरू प्रसाद बजगाई, पोखरा महानगरपालिका–९ शान्तिवन बस्ने ३४ वर्षीय रविन खड्का र पोखरा महानगरपालिका–६ खहरे बस्ने ४५ वर्षीय ‘सुर्य’ भन्ने टेक बहादुर भुजेल रहेका छन्। खड्काको स्थायी घर रौतहट र भुजेलको झापा हो।
प्रहरीका अनुसार रूपा गाउँपालिका–५ देउरालीबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख १३७२ नम्बरको बसमा यात्रा गरिरहेकी महिलाको पर्स बिहीबार दिउँसो चोरी भएको थियो।
बसमा सवार तीन जना अपरिचित व्यक्तिहरूले पर्स चोरी गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले तत्काल उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका उनीहरू विरुद्ध जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा ६ दिन म्याद थपको अनुमति लिएर प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।
प्रकाशित: २ श्रावण २०८३ १९:२९ शनिबार

-600x400.jpg)

