अपराध

१०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

पर्सा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

लागूऔषध बिक्री–वितरण तथा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा सोमबार राती ११ बजे पटेर्वासुगौली गाउँपालिका–३ सोनवर्षस्थित सडक छेउमा प्रहरी टोलीले चेकजाँच गरेको थियो।

सो क्रममा शंकास्पद रूपमा बोरा बोकेर हिँडिरहेका एक व्यक्तिलाई रोकेर खानतलासी गर्दा बोराभित्र लुकाइछिपाइ राखिएको गाँजा बरामद भएको हो।

पक्राउ पर्नेमा भारतको बेतिया जिल्ला भांगाहा श्रीनगर–३ निवासी ५० वर्षीय सरफु चौधरी रहेका छन्। उनको साथबाट प्लास्टिकबाहेक १०५ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका चौधरीमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रकाशित: २६ श्रावण २०८३ १२:४४ मंगलबार