प्रहरीले तीन जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ३९ जनालाई नियन्त्रणमा लिएको छ।
मकवानपुर, बकैया गाउँपालिका-५ राजदमार बस्ने ४६ वर्षीय मिलन थिङको घरमा जुवा खेलिरहेको अवस्थामा मिलन समेत २२ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय फापरवारी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ३६ हजार ४० रूपैयाँ र ३ सेट कौडा सहित पक्राउ गरेको हो।
जुम्ला, पातारासी गाउँपालिका-५ लासी बजार बस्ने ४८ वर्षीया उर्मीला बुढाले संचालन गरेको ओम हिमा होटलमाजुवातास खेलिरहेको अवस्थामा उर्मिला समेत १० जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख २८ हजार २ सय रूपैयाँसहित पक्राउ गरेको हो।
काभ्रे, बनेपा नगरपालिका-७ गोदाम चोक डेरा गरी बस्ने भारत बिहार पुर्वी चम्पारण-११ घर भएका रबि कुमार जैसवालको कोठामा जुवातास खेलिरहेको अवस्थामा रबि समेत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ६ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो।
उल्लेखित सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित: २८ असार २०८२ १९:३६ शनिबार



