जोरपाटीस्थित लिम्पिया नेसनल कलेजले आफ्ना बास्केटबल खेलाडीलाई शुक्रबार सम्मान गरेको छ। गत भदौ महिनामा विभिन्न ८ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको लिम्पियाको छात्र बास्केटबल टोलीलाई सम्मान गरिएको हो। भदौमा मात्र लिम्पियाले विभिन्न १० थ्री बाइ थ्री प्रतियोगितामा सहभागिता जनाएकोमा ८ पटक उपाधि जित्न सफल भएको थियो।
त्यस क्रममा संगम साम्देन तामाङ ४ पटक, विवेक यादव २ पटक र दीपेश कार्की १ पटक मोस्ट भ्यालुएबल प्लेयर चुनिएका थिए। उनीहरूसहित टोलीका महत्वपूर्ण सदस्य स्वीकार कुँवर पनि सम्मानित भए। चारैलाई प्रशंसापत्र, खेलपोसाक, ट्य्राकसुट र प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरियो।
अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य दुधराज लामा र लिम्पियाका प्रिन्सिपल मदनराज रेग्मीलगायतले उनीहरूलाई सम्मान गरे। लिम्पियालाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै लिम्पियाका हेड कोच सुनिल योन्जन र इसिए इन्चार्ज राजकुमार दंगाललाई पनि प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो।
प्रकाशित: २ आश्विन २०७८ ०१:५१ शनिबार