खेल

युरो कप २०२०: इटाली नकआउट चरणमा

म्यानुयल लोकाटेलीको दुई गोलको मद्दतमा बुधबार स्विट्जरल्यान्डलाई ३–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउँदा इटाली जारी युरो कप २०२० मा नकआउट चरण प्रवेश गर्ने पहिलो टोली भएको छ।  

समूह ‘ए’ मा रहेको इटालीले लगातार दुई खेलमा जित निकाल्दै अघिल्लो चरणको यात्रा तय गरेको हो। पहिलो खेलमा पनि ३–० को जित निकालेको इटालीले बुधबार स्विट्जरल्यान्डमाथि सहज जित निकालेको हो। समूह ‘ए’ कै अर्को खेलमा बुधबार वेल्सले टर्कीलाई २–० ले स्तब्ध बनायो।  

लगातारका खेलमा जित निकालेको इटालीका प्रशिक्षक रोबर्टो मानचिनीले खेलाडीको प्रदर्शनमा सन्तुष्ट रहेको प्रतिक्रिया दिए। ‘हामीले राम्रो खेल्याैं। कुनै पनि हालतमा हामीलाई जित आवश्यक थियो र सोही चाहेका थियौं,’ इटालीका प्रशिक्षक मानचिनीले भने, ‘विपक्षीले सुरुआतमा दबाब दिएर खेलेका थिए। छोटो समयमा नै जित निकाल्न निकै कठिन भयो।’

इटालीलाई सहज जित दिलाउनका लािग स्टार नयाँ खेलाडीको प्रदर्शन उत्कृष्ट रह्यो। पहिलो मिनेटबाट नै दबाब दिएर खेलेको इटालीका तर्फबाट १९औं मिनेटमा कप्तान जर्जियो किएलिनीले गोल गरेका थिए। गोलको खुसियाली मनाए पनि भिएआरले उक्त गोललाई मान्यता दिएन। 

लोरेन्जो इन्सिग्नेको कर्नरमा किएलिनीले बललाई जाली चुमाएका थिए। २६औं मिनेटमा इटालीले अग्रता लियो।  डोमेनिको बेरार्डोको कटब्याकमा अनमार्क रहेका लोकाटेलीले ६ यार्डबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। ५२औं मिनेटमा लोकाटेलीले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे। 

निको बरेल्लाको पासमा पेनाल्टी क्षेत्रबाहिरबाट उनले गरेको प्रहार स्विट्जरल्यान्डका गोलरक्षक यान सोमरले ठम्याउन सकेनन्। ६४औं मिनेटमा गोलरक्षक जियानलुइजी डोनारुम्माको प्रहार स्टिभन जुबरको विफल पारिदिए। लगत्तै काउन्टर अट्याकमा बेरार्डीले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार अकासिएको थियो।  

७५औं मिनेटमा फेडेरिको किएजाको पासलाई नियन्त्रणमा लिँदै इम्मोबाइलले गरेको प्रहारले पोस्टको दिशा लिएन। ८९औं मिनेटमा इम्मोबाइलले गोल गर्दै इटालीलाई ३–० को जित दिलाए। जितसँगै इटालीको अपराजित यात्रा २९ खेलसम्म लम्बिएको छ। इटालीले पछिल्लो १० खेलमा गोलसमेत खाएको छैन। 

जितसँगै समूहको शीर्ष स्थानको इटालीसँग २ खेलमा ६ अंक छ। बुधबारै टर्कीविरुद्ध २–० को जित निकालेको वेल्सले २ खेलमा ४ अंक जोडेको छ। वेल्स समूहतालिकाको दोस्रो स्थानमा छ। स्विट्जरल्यान्डको १ अंक छ। इटालीले समूहको अन्तिम खेलमा वेल्सको सामना गर्नेछ। त्यस्तै, स्विट्जरल्यान्डले अंकविहीन रहेको टर्कीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: ४ असार २०७८ ०५:०४ शुक्रबार

इटाली नकआउट चरणमा