प्रिमियर लिगमा बढुवा भएको लिड्सले नयाँ सिजनको पहिलो खेलमा साबिक विजेता लिभरपुलसँग खेल्दा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले उद्घाटन खेलमा आराम लिने भएका छन् ।
लिड्स १६ वर्षपछि प्रिमियर लिगमा बढुवा भएको हो । टोलीले यसअघि २००३/०४ मा प्रिमियर लिग खेलेको थियो । प्रिमियर लिगको तालिका आयोजकले बिहीबार सार्वजनिक गरेको छ । तालिकाअन्तर्गत उद्घाटन खेलमा लिड्सले साबिकको च्याम्पियन लिभरपुलसँग उसैको घरेलु मैदानमा आफ्नो खेल पस्ँिकदा प्रिमियर लिग २०२०/२१ को नयाँ सिजन आरम्भ हुनेछ । उता २०१९÷२० सिजनमा पछिसम्म खेलेका सिटी र युनाइटेडले भने पहिलो साताको खेलमा आराम लिने भएका हुन् ।
कुनै पनि क्लबलाई प्रिमियर लिगको प्रावधानअनुसार सिजनको अन्त्यमा ३० दिन आरामको समय छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले धकेलिएका केही खेलका कारण सिटी र युनाइटेडको खेल एक साता लम्बिएको हो । यस्तै सिटी र युनाइटेड क्रमशः च्याम्पियन्स लिग र युरोपा लिगबाट गत साता मात्रा बाहिरिएका थिए । च्याम्पियन्स लिग प्रिमियर लिग सकिएको तीन सातापछि पुनः सुचारु भएको थियो । च्याम्पियन्स लिगअन्तर्गत अहिलेसम्म सेमिफाइनलसम्मका खेल सम्पन्न भइसकेका छन् । जर्मन क्लब बायर्न म्युनिख र फ्रान्स लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ले युरोपको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगमा उपाधि भिडन्त पक्का गरिसकेका छन् । यस्तै चेल्सी र उल्भसले सेप्टेम्बर १४ बाट खेलको सुरुआत गर्नेछन् । उनीहरूले अगस्ट महिनामा युरोपका केही प्रतियोगितामा सहभागिता जनाएका थिए ।
लिड्सलाई आतिथ्यता दिन लागेको लिभरपुलले पछिल्लो तीन वर्षमा घरेलु मैदानमा भएको पहिलो खेलमा सुखद नतिजा निकालिरहेको छ । प्रिमियर लिगअन्तर्गत ह्यारी केन कप्तान रहेको टोटेनह्यामले एभरटनलाई आतिथ्यता गर्दा आर्सनलले यसै सिजन बढुवा भएको अर्को टोली फुलह्यामसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै चेल्सीले ब्राइटनको मैदानमा भ्रमण गर्नेछ । बिहीबार सार्वजनिक भएको तालिकामा सिटी र लिभरपुलबीच नोभेम्बर ७ मा प्रतिस्पर्धा हुने तालिका छ ।
प्रकाशित: ५ भाद्र २०७७ ०३:५२ शुक्रबार