खेल

उपाधिको सँघारमा लिभरपुल

साडियाे माने

लिभरपुल ३० वर्षपछि इङ्ल्यान्डमा च्याम्पियन बन्ने सँघारमा छ तर त्यसका लागि बिहीबार चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा दोस्रो स्थानको म्याचेस्टर सिटीलाई  रोक्नुपर्नेछ।  

योर्गान क्लोपको टोली लिभरपुलले लामो प्रतीक्षापछि प्रिमियर लिग उपाधिनजिक पुग्न बुधबार क्रिस्टल प्यालेसमाथि ४–० को रबाफिलो जित निकालेको थियो।  आफ्नो बन्द घरेलु मैदान एन्फिल्डमा लिभरपुलले क्रिस्टल प्यालेसमाथि च्याम्पियनको शैलीमा दाबेदारी प्रस्तुत गरेको थियो। ट्रेन्ट एलेक्सजान्डर आर्नोल्ड, मोहम्मद सालाह, फाबिन्हो र साडियो मानेको गोल पे्ररणाबाट द रेड (लिभरपुल)ले अंकतालिकाको शीर्ष स्थानका लागि २३ अंकको अग्रता बनाएको छ। सिटीले उपाधि होड जीवितै राख्न चेल्सीको घरेलु मैदानमा सफलता निकाल्नुपर्नेछ र तर जुलाई २ मा म्यानचेस्टरमा सिटीविरुद्धको प्रतिस्पर्धामा एक अंक नै लिभरपुललाई उपाधि उचाल्न पर्याप्त बन्नेछ।

‘आजको खेलबाट ठूलो फड्को मा-यौं, जुन स्पष्ट पनि छ,’ क्लोपले भने, ‘हामीले अझैं पनि सात खेल खेल्न बाँकी छ, हामीले यही लयमा खेल्यौं भने विपक्षीको राम्रा प्रदर्शन हाम्रा लागि असर पर्दैन।’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले बुधबार आफ्नो प्राथामिकताको विषय लिभरपुलसँगको खेलभन्दा पनि आइतबारको एफए कप क्वार्टरफाइनल रहेको बताएका छन्। त्यसैले न्युक्यासलको यात्राका लागि उनले आगामी खेलमा केही खेलाडीलाई आराम दिन सक्नेछन्। ‘पेपले ठूलो चुनौती लिन पनि सक्छन्,’ क्लोपले थपे, ‘उनीहरू उत्कृष्ट छन्। जुन फुटबल उनीहरूले खेलेका छन्, त्यो अविश्वसनीय छ।’ क्लोपले आफूले जसरी पनि फरक प्रदर्शन गर्नुपर्ने जोड दिए।  

‘हामीले केही फरक गर्नुपर्छ, जुन आवश्यक पनि छ। यहाँ फुटबल खेल्ने हरेक किमिसका शैली छन् र तर मलाई सबै मन पर्छ,’ क्लोपले भने। प्यालेसविरुद्ध एलेक्सजान्डर आर्नोल्डले उत्कृष्ट फ्रिकिकमार्फत गोल गर्दै अग्रता दिलाएका थिए। २३औं मिनेटमा उनले मानव बारमाथिबाट गरेको कर्ली प्रहार प्यालेसका गोलकिपर वायने हेन्नेसेले पत्तै पाएनन्। त्यसपछि अग्रता लिएको लिभरपुलले उत्कृष्ट लय जारी राख्यो। दुई सिजनअगाडि सिटीले प्रिमियर लिग अंकतालिकामा सय अंकको रेकर्ड बनाएको थियो, तर क्लोपको टोलीले अझैं सात खेल खेल्न बाँकी रहेकाले १ सय ७ अंकसम्म बनाउने अवसर छ।

‘पछि यो खेल हेर्दा हाम्रा लागि विशेष हुनेछ, तर पनि त्यति धेरै उत्साहित हुन आवश्यक छैन,’ एलेक्सजान्ड्रे आनोल्र्डले भने, ‘हामीले आगामी खेलका लागि अझैं धेरै तयारी गर्नुपर्छ, जहाँ हामीसँग सात खेल बाँकी छन् र त्यो २१ अंक नै ल्याउने प्रयास गर्नुपर्छ।’ खेल सुरु हुनुअघि नै एन्फिल्डमा ‘यु विल नेभर वाल्क एलोन’ गुन्जिएको थियो, तर जहाँ करिब ५५ हजार दर्शक हुन्थे, त्यहाँ खाली थियो। गत आइतबार मर्सिसाइड डर्बीमा जित निकालेको भए बुधबारको जितले लिभरपुललाई ऐतिहासिक उपाधि उचाल्न पर्याप्त थियो।  

तीन महिनाको लकडाउन सामना गरेपछि एभर्टनसँगको पहिलो खेलमा लिभरपुलले गोलरहित बराबरी सामना गरेको थियो। तर, प्यालेसविरुद्ध भने लगातार आक्रमण बुन्न सफल भयो। सालाहले सिजनको २१औं गोल गर्दा फाबिन्होको पास सदुपयोग गर्दै पहिलो हाफअगाडि लिभरपुललाई २–० को अग्रता दिलाए। तीन महिनाको लकडाउनले उपाधि छिट्टै उचाल्नबाट वञ्चित लिभरपुलले अझैं केही दिन कुर्नुपर्नेछ र आगामी बुधबार त्यो प्रतीक्षा पूरा हुन सक्नेछ। साथै लिभरपुललाई किन च्याम्पियन बन्न लायक थियो भन्ने प्रमाणित गर्न पनि चुनौती हुनेछ।

प्रकाशित: १२ असार २०७७ ०२:११ शुक्रबार

लिभरपुल