खेल

मच्छिन्द्रलाई उपाधि

छैटौं माइभ्याली गोल्डकपको उपाधिका साथ मच्छिन्द्र क्लबका खेलाडी। तस्बिर : भीम/नागरिक

इलाम - निया आन्ड्रेसको निर्णायक गोलसँगै मच्छिन्द्र क्लबले छैटौं माइभ्याली गोल्डकपको उपाधि चुमेको छ। शनिबारको फाइनलमा आयोजक माइभ्याली फुटबल क्लबलाई १–० ले पराजित गर्दै मच्छिन्द्रले पहिलो सहभागितामै उपाधि उचालेको हो।

मच्छिन्द्रका विदेशी खेलाडी आन्ड्रेसले निर्धारित ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै टोलीलाई उपाधि दिलाए। दुवै टोली गोलरहित बराबरीमा रहेका बेला आन्ड्रेसको गोलले नै मच्छिन्द्रलाई नगद ८ लाख रुपैयाँसहित छैटौं संस्करणको विजेता बनायो। खेलअवधिभर दुवै टोलीले निकै राम्रा अवसर चुकाए। माइभ्यालीका शिशिर लेखीले विपक्षीको डी बक्सभित्र दिएको पास प्रिजन तामाङले प्रहार गरे पनि फ्रेममा पार्न सकेनन्। नवीन गुरुङले दिएको सुन्दर पास नियन्त्रित प्रहार गर्न नसक्दा माइभ्यालीका दर्शन गुरुङले अर्काे अवसर चुकाए। मच्छिन्द्रका विजय धिमालले विपक्षीको गोलपोस्टनजिकै पाएको अवसर सदुपयोग गर्न सकेनन्।

मच्छिन्द्रका विदेशी खेलाडी आन्ड्रेसले निर्धारित ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै टोलीलाई उपाधि दिलाए।

मध्यान्तरपछि खेल सकिँदासम्म निरन्तर वर्षा भएकाले खेलाडीले ज्यादै कष्टपूर्ण तबरले खेल्नुपरेको थियो। पहिलो पटक फाइनल पुगेको आयोजकले उपविजेता हुँदै नगद ५ लाख रुपैयाँमा चित्त बुझायो। विजेता टोलीलाई संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले ट्रफी र पुरस्कार प्रदान गरे। फाइनल खेलको म्यान अफ दी म्याच मच्छिन्द्रका गोलकर्ता आन्ड्रेस घोषित भए। उनले नगद १५ हजार रुपैयाँ पाए। प्रतियोगिताको म्यान अफ दी टुर्नामेन्ट भएका माइभ्याली क्लबका श्याम बस्नेतले नगद १ लाख १५ हजार रुपैयाँ हात पारे। प्रतियोगिताकै सर्वाेत्कृष्ट डिफेन्डर माइभ्यालीका छिरिङ गुरुङ, बलरक्षक माइभ्यालीकै देव लिम्बु, मिडफिल्डर मच्छिन्द्रका योगेश गुरुङ, फरवार्ड मच्छिन्द्रकै निया आन्ड्रेस र प्रशिक्षक मच्छिन्द्रका प्रवेश कटवाल घोषित भए। विधागत रूपमा सर्वाेत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ पुरस्कार पाए।

उपाधि विजेता मच्छिन्द्रले क्वार्टरफाइनलमा बुटवलको गोर्खा स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा र सेमिफाइनलमा भारत मानेभन्ज्याङको एमएफसी क्लबलाई  ३–० ले पराजित गरेको थियो। उपविजेता माइभ्यालीले क्वार्टरफाइनलमा भारत कोलकाताको मोहम्मडन स्पोर्टिङ क्लबलाई २–१ ले पराजित गरेको थियो। आयोजकले विभागीय टोली आर्मीलाई सडन डेथमा पराजित गर्दै फाइनलमा पुगेको हो। आयोजक माइभ्याली, आर्मी, गोर्खा ब्वाइज, संकटा, मच्छिन्द्र, झापा ११ र भारत नागाल्यान्डको कोहिमा इगल, दार्जिलिङको एमएफसी, सिक्किमको गान्तोक सिटी तथा कोलकाताको मोहम्मडन क्लब प्रतिस्पर्धामा सहभागी थिए।

प्रकाशित: २५ फाल्गुन २०७६ ०१:१० आइतबार

माइभ्याली_गोल्डकप उपाधि