खेल

सुमित र पृथुको उत्कृष्ट प्रदर्शनमा एपिएफलाई सफलता

काठमाडौं – सुमित महर्जन र कप्तान पृथु बास्कोटाको उत्कृष्ट ब्याटिङप्रेरित एपिएफले शनिबार तेस्रो प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश–३ माथि ४१ रनको जित हात पारेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा एपिएफले प्रस्तुत गरेको २ सय ८९ रनको लक्ष्य पछ्याएको प्रदेश–३ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन मात्र जोड्न सक्यो। प्रदेश–३ का लागि ज्ञानेन्द्र मल्लले शतक पूरा गरे पनि आफ्नो टोलीको हार टार्न सकेनन्। यससँगै ज्ञानेन्द्र जारी प्रतियोगितामा शतक पूरा गर्ने पहिलो खेलाडी बने।

५५–३ को खराब स्थितिबाट ब्याटिङ गर्न आएका ज्ञानेन्द्रले कप्तान पारस खड्कासँग चौथो विकेटका लागि ५७ रनको साझेदारी गर्दै टोलीको इनिङ उकास्ने प्रयास गरेका थिए। त्यसपछि आएका ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा प्रदेश–३ सस्तैमा सीमित बन्यो। १ सय ११ बलको सामना गरेका ज्ञानेन्द्रले ८ चौका र ५ छक्काको मद्दतमा १ सय १७ रन  बनाए।  ४५ बल खेलेका पारसले ४ चौका र २ छक्काको मद्दतमा ४६ रन जोडे।

पारसले प्रतियोगितामा सहभागिता जनाएको यो पहिलो पटक हो। उनले यसअघि व्यक्तिगत कारण देखाउँदै पहिलो र दोस्रो संस्करण खेलेका थिएनन्। एपिएफका कमलसिंह ऐरीले ३, अविनाश बोहोराले २ तथा भुवन कार्की र पृथुले समान एक विकेट लिएका थिए। यसअघि टस जितेर ब्याटिङ रोजेको एपिएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८८ रनको योगफल खडा गरेको थियो।

एपिएफले १५ रन जोड्दा शरद भेषावकरलाई गुमाएको थियो। थप २० रन जोड्दा शंकर राना र अर्का ओपनर आसिफ शेखलाई गुमाएपछि एपिएफ ३५–३ को कठिन स्थितिमा आएको थियो। तर चौथो विकेटका लागि सुमितले प्रदीप ऐरीसँग ७५ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाए। सोनु देवकोटाबाट रनआउट हुनुअघि सुमितले १ सय ३ बलमा ५ चौका र ६ छक्का मद्दतमा ९४ रनको योगदान गरेका थिए।

त्यस्तै सुमितले पाँचौं विकेटका लागि पृथुसँग ९८ रनको साझेदारी गर्दै एपिएफलाई सम्मानजनक योगफलतर्पm अघि बढाए। त्यस क्रममा पृथुले ५८ बल खेल्दै ३ चौका र १ छक्काको मद्दतमा ५९ रनको योगदान दिए। प्रदेश–३ का नन्दन यादव र जितेन्द्रसिंह ठकुरीले समान ३ तथा पारस र सूर्य तामाङले समान १ विकेट लिए। प्रदेश–३ का लागि ज्ञानेन्द्र मल्लले शतक पूरा गरे पनि आफ्नो टोलीको हार टार्न सकेनन्।

प्रकाशित: १२ जेष्ठ २०७६ ०१:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App