वीरगञ्जमा जारी जय ट्रफी मेन्स एलाइट कप अन्तर्गत त्रिभुवन आर्मी क्लबसँगको फाइनल खेलको दोस्रो इनिङमा पनि नेपाल पुलिस क्लबको टोली लडखडाएको छ । दोस्रो दिनको खेल सकिँदा पुलिसले ९ विकेट गुमाइसकेको छ भने, बोर्डमा १३२ रन मात्रै जोडेको छ। यस कारण उसले आर्मी क्लबभन्दा ९५ रन मात्रै अग्रता बनाएको छ ।
पुलिसका लागि दोस्रो इनिङमा पनि सर्वाधिक रन योगदानकर्ता कुशल भुर्तेल रहे । उनले ४५ रनको योगदान दिँदा, दिलीप नाथले ३४ रन, रसिद खानले १८ रन र अमित श्रेष्ठले १३ रनको योगदान दिए । दिनको खेल सकिँदा क्रिजमा सागर ढकाल एक रन र ललित राजवंशी शून्य रनसहित अन्तिम जोडीका रूपमा क्रिजमा छन्।
पुलिसको टोलीलाई यसरी रोक्नमा पहिलो इनिङमा बलिङका नायक साहब आलम नै चम्किएका छन् । उनले दोस्रो इनिङमा पाँच विकेट लिएका छन्। यसअघि पहिलो इनिङमा उनले ७ विकेट लिएका थिए । यस्तै बासिर अहमदले ४ विकेट लिएका छन् ।
यसअघि पहिलो इनिङमा आर्मी क्लबले ३७ रनको अग्रता लिएको थियो । मङ्गलवार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको प्रहरी बुधवार बिहानसम्म आइपुग्दा १३३ रनमा नौ विकेट गुमाएको थियो। त्यसपछि उसले पारीको घोषणा गरेको थियो ।
प्रहरीका लागि पहिलो इनिङमा कुशल भुर्तेलले नै सर्वाधिक ५१ रनको पारी खेल्दा अर्जुन साउँदले २८, अमित श्रेष्ठले २० रनको योगदान दिएका थिए ।
बलिङमा आर्मीका साहब आमलले ७, सोमपाल र बासिर अहमदले एक एक विकेट लिएका थिए ।
त्यसपछि ब्याटिङमा उत्रिएको आर्मी क्लबले सबै विकेट गुमाउँदै १७० रन जोडेको थियो । जसमा भीम सार्कीले ५८, बासिर अहमदले ४०, सोमपाल कामीले ३२, विनोद भण्डारीले १४ र इमरान शेखले १० रनको योगदान दिए ।
बलिङमा पुलिस क्लबका सागर ढकालले ५ विकेट लिँदा कुशल भुर्तेलले तीन विकेट लिए । ललित राजवंशी र गुल्सन झाले एक एक विकेट पाए।
फाइनल खेल तीन दिवसीय फरम्याटमा भइरहेकाले बिहीबार खेल सकिने छ । एक पूरै दिनको खेल बाँकी रहेकाले बिहीबार यो खेलको नतिजा आउने सम्भावना प्रबल बनेको छ ।
प्रकाशित: २ माघ २०८१ १७:५८ बुधबार