खेल

भूटानसँगको मैत्रीपूर्ण खेलमा नेपालको खराब प्रदर्शन

नेपालले भुटानका दुई फरक उमेर समूहका महिला टोलीसँग खेलिएको मैत्रीपूर्ण फुटबल खेलमा खराब प्रदर्शन गरेको छ।

घरेलु मैदानमा सम्पन्न खेलमा नेपालले भुटानको यु-१६ र यु-१९ महिला टोलीसँग एक-एक खेल खेले पनि दुवै खेलमा जित निकाल्न असफल रह्यो।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाली यु-१९ महिला टोलीले भुटानसँग १–१ को बराबरी खेल्दै मैत्रीपूर्ण सिरिज टुंग्यायो। खेलमा नेपाली टोलीले सुरुवातमै अग्रता लिए पनि भुटानी टोलीको उत्कृष्ट प्रदर्शनका कारण अन्तिम समयमा बराबरीमै रोकियो।

गत शुक्रबार भएको यु-१६ महिला टोलीको खेलमा नेपालले भुटानसँग ५–१ को लज्जास्पद हार व्यहोरेको थियो। त्यसपछि नेपाली यु-१९ टोलीले जीत निकाल्ने अपेक्षा गरिएको भए पनि सम्भव भएन।

नेपालले पहिलो हाफमा सन्तोषजनक प्रदर्शन गर्दै गोलरहित बराबरीमा खेल टुंग्यायो। दोस्रो हाफ सुरु भए लगत्तै ४७ औं मिनेटमा सुशीला केसीले शानदार गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। उनले भुटानी डिफेन्डरको त्रुटिपूर्ण क्लियरेन्सलाई उपयोग गर्दै डिबक्स बाहिरबाट वान टचमा टप कर्नरमा गोल गरेकी थिइन्।

तर खेलको निर्धारित समय समाप्त हुन ९ मिनेट बाँकी रहँदा भुटानकी फुन्टोस छोडेनले प्रिया घलेको क्रसमा गोल गर्दै खेल बराबरीमा पुऱ्याइन्।

भुटानी टोलीले सटिक पास, उत्कृष्ट फिटनेस, र समन्वयात्मक खेल प्रदर्शन गर्दै नेपाली टोलीलाई चुनौतीपूर्ण समय दियो। एकेडेमी खेलाडीहरूको सहभागिता र लामो तयारीले भुटानी टोलीलाई बलियो बनाएको देखिन्थ्यो।

नेपालकी खेलाडीहरूको शारीरिक फिटनेस कमजोर देखिएको थियो। प्रशिक्षकले खेलाडीहरूको तयारीमा सुधार आवश्यक रहेको बताउँदै प्रदर्शनमा निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

भुटानकी प्रशिक्षक टंकमाया घलेले लामो तयारीको प्रतिफलस्वरूप राम्रो नतिजा आएको बताउँदै निकट भविष्यमा महिला साफ प्रतियोगिता जित्ने विश्वास व्यक्त गरिन्।

प्रकाशित: ७ पुस २०८१ १९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App