खेल

क्रिकेट महाकुम्भको फाइनल आज, उपाधि जित्ने आ-आफ्नै दाबी

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिबार (आज) हुँदैछ। फाइनलमा खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। 

नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मध्याह्न साढे १२ बजे सुरु हुनेछ। फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ। दुवै टोली उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिने तयारीमा छन्। सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन्।  

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी मैदानमा शतप्रतिशत योगदान दिने बताउँछन्। कप्तान ऐरीले फाइनल खेलका लागि कुनै विशेष योजना नभएको उल्लेख गर्दै भने, “त्यस्तो कुनै विशेष योजना छैन। दुई टिममध्ये एउटाले जित्ने हो। हामी मैदानमा शतप्रतिशत दिन्छौँ।”

कप्तान ऐरीले अघिल्ला खेलहरू राम्रो भइरहेको बताउँदै फाइनल खेलमा पनि राम्रो गर्ने बताए। “सबै राम्रो भइरहेको छ। पहिले खेलेका खेलहरू पनि राम्रै भएका छन्। पहिले हरायो भनेर सजिलो रूपले लिनुभएन। प्रतिस्पर्धा एकदम रोमाञ्चक र उत्कृष्ट हुनेछ”, उनले भने, “हामीले योजना बनाएर खेलिरहेका छौँ। फाइनल खेल पनि लिगहरूका खेलमा खेले जस्तै खेल्नेछौँ। फाइनल शतप्रतिशत दिनेछौँ।”  

जनकपुर बोल्ट्सका कप्तान आशिफ शेख फाइनल खेलमा राम्रो प्रदर्शन गर्ने दाबी गरेका छन्। उनले भने, “आफूसँग जे जति छ, त्यो मैदानमा दिने छौँ। फाइनल खेलको नतिजाका बारेमा अहिले नै सोचेका छैनौँ तर उत्कृष्ट प्रदर्शन गर्नेछौँ।” कप्तान शेखले आज क्वालिटी क्रिकेट खेल्ने बताए। रिजल्टका बारेमा त्यस्तो केही नसोचेका बताउँदै उनले भने, “मैदानबाट निस्कने बेलामा यति मात्र महसुस हुनुपर्‍यो कि, आफूसँग जे जति थियो सबैलाई दियौँ।” रासस

प्रकाशित: ६ पुस २०८१ ०६:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App