खेल

महिला फुटबल लिग: चन्द्रपुरलाई ‘सरप्राइज’ नतिजा

एन्फा महिला फुटबल लिगमा फेरि प्रमाणित भएको छ, मोफसलका टोली र क्लबले पनि पाएका अवसरमा विभागीय जस्तै आफूलाई बलिया साबित गर्न सक्नेछन्।

अब पहिलाजस्तो विभागीय टोलीले विपक्षीलाई ८/९ गोलको वर्षा गराउने स्थितिमा केही परिवर्तन भएका छन्। ओहो ! अब त प्रदेश र अन्य टोलीले पनि नतिजा लिने अवस्था पो आए। यो सबै सम्भव भएको हो, बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा। भयो के भने, लिगको २८औं खेलमा विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध चन्द्रपुर नगरपालिकाले कल्पना नै नगरेको अंक हात पार्‍यो। यो खेलमा बराबरी होला भन्ने त चन्द्रपुरका मुख्य प्रशिक्षक पारस चौधरीलाई पनि आश थिएन।

तर, उनी रोक्ने योजनासहित चाहिँ आएका थिए। तर, झन्डै जितेर नै फर्किए। यसले उनलाई ‘सरप्राइज’ दिएको छ। ‘सकेसम्म एक अंकको लागि खेल्ने योजनासहित थियौं। त्यसअनुसार डिफेन्समा पाँच जना राख्यौं। तर, खेल्दै जाँदा जित्ने अवस्थामै पुगियो त !,’ पारसले एक अंकको खुसी साट्दै भने। पुलिस लिगकै बलियो टोली हो। यो टोलीले दुई विभागीयसँग मात्रै बराबरी खेलेको छ। पुलिसले विभाग बाहिरका कोसी, सुदूरपश्चिम प्रदेश र बागमती युथ क्लबलाई १५ गोल बर्साउँदै आफू बलियो रहेको प्रमाणित गरिसकेको छ। तर, चन्द्रपुरसँग खेल्दा भने पुलिस फिका देखियो।

पहिलो हाफमै कप्तान निरु थापा दुई तथा अनुश्का शेर्पा र निर्मला उपाध्यायले दुई राम्रा अवसर सदुपयोग गर्न सकेनन्। यसमा सबैभन्दा राम्रो प्रदर्शन भने चन्द्रपुरकी गोलकिपर उषा थापाकै रह्यो। उनले खेलअवधिभर ६ प्रहार त ‘वान भर्सेस वान’ मै विफल पारिदिइन्। सोही प्रदर्शनपछि उनी प्लेयर अफ द म्याचसमेत भइन्। नियमित खेलाडी दीपा न्यौपानेको अनुपस्थितिमा राइट विंग निरुले सम्हालेकी थिइन्। खेलको सुरुदेखि नै चन्द्रपुरका डिफेन्डरलाई व्यस्त राख्ने प्रयास नगरेको होइन। तर, उषाको उत्कृष्ट गोलकिपिङसामू पुलिसको केही चलेन। ‘३/४ दिनको टाइम पायौं। यसमा खेलाडीलाई ब्रिफिङ गर्ने मौका पाएको थियौं। उनीहरूले राम्रोसँग लिँदै खेलको रौनक नै बढाइदिए,’ पारस भन्छन्।

कुनै बेला जनकपुर चुरोट कारखानाबाट राजुकाजी शाक्यसँगै डिफेन्स सम्हाल्ने चौधरीले टोली निर्माण गर्न चन्द्रपुरसँग १० दिनको समय माग गरेका थिए। तर, छोटो समय पनि पाएनन्। विराटनगरबाट एक्कासी काठमाडौं आइपुगेका उनले खेलाडीको गुणस्तर जाँच्ने मौका पाएको भए बुधबारको खेलमा इतिहासमा लेखिन्थ्यो। किनभने लिगमा विभागीय टोलीलाई अन्यले हराएको इतिहास नै छैन। ७०औं मिनेटमा रजनी थोकरले प्रहार गरेको बल बक्सभित्र रहेकी सरु वाइबाको हातमा लाग्न पुगेको थियो। तर, चन्द्रपुरका कोही खेलाडी पेनाल्टी लिनै अगाडि सर्न चाहेनन्।

पेनाल्टी लिन आएकी इशा मगर (दिलकुमारी) पनि पुलिसकी अनुभवी गोलकिपर उषा नाथसामू ‘नर्भस’ भइन्। उनको फितलो प्रहार उषाले ‘डाइभ’ गर्दै सहजै बचाइन्। टोलीमा पेनाल्टी, फ्रिकिक र कर्नर प्रहार गर्ने छुट्टै खेलाडी हुन्छन्। रजनी र सजनी थोकर पेनाल्टी प्रहारमा पोख्त थिइन्। तर, रजनी घाइते भइन्। सजनीले पनि आफू थकित भएको भन्दै पेनाल्टी प्रहार गर्न नसक्ने बताएपछि इशाले मौका पाएकी हुन्। तर, उनी चुकिन्। ‘हामीले तयारी गर्दा रजनी काठमाडौंमै थिइन्। उनले टोलीसँग प्रशिक्षण नै गर्न पाइनन्। तर, केही गर्छ कि भनेर जोखिम लिएर खेलाएको हो। पेनाल्टीका लागि खेलाडी तयार गर्ने मौका पनि पाइएन,’ पारस सुनाउँछन्।

अब चन्द्रपुरले आर्मी, कोसी र वालिङसँग खेल्नेछ। पुलिससँगको नतिजाले मनोबल उच्च बनाएको कारण शीर्ष पाँचमा रहेर पहिलो चरण पूरा गर्नेमा पारस ढुक्क देखिन्छन्। किनभने यो टोलीले ६ खेलबाट सात अंक जोडेको छ, जुन पाँचौं स्थानमा रहेको वालिङको भन्दा एक अंक मात्रै कम हो। पुलिसलाई भने यो नतिजाले आहत दिएको छ। कम्तिमा विभाग बाहिरका टोलीसँग शतप्रतिशत अंक बटुल्दै पहिलो चरणमा शीर्ष स्थान वा दोस्रोमा हिँडिरहने लक्ष्य उसको थियो। तर, चन्द्रपुरले रोक्दा मुख्य प्रशिक्षक भोलानाथ सिलवाललाई फिनिसिङ गर्ने खेलाडीको अभाव महसुस भएको छ।

‘हामीले पहिलो हाफमा ४/५ वटा मौका गुमाउनु नै दुर्भाग्यपूर्ण थियो। अर्को समस्या रेखा पौडेल र दीपा न्यौपाने छैनन्। त्यसले पनि चुनौती भयो,’ उनले भने, ‘अब एपिएफलाई भेट्दैनौं। त्यसैले दोस्रो र तेस्रो स्थानमा रहेर फिनिस गर्छौं।’ अब लिगमा बाँकी तीन खेल मात्रै छन्। यस्तोमा बुधबार यस अघिका पाँचै खेल हारेको कर्णालीले पनि सुदूरपश्चिम प्रदेशविरुद्ध ३–० गोल गर्दै पहिलो जित दर्ता गरेको छ। यस्तोमा नतिजा जे पनि आउन सक्छ। तर, ६ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा रहेको एपिएफले लगभग दोस्रो चरणमा स्थान पक्का गरिसकेको छ। आर्मीको समान खेलबाट १३ अंक हुँदा पुलिसले भने १२ अंक मात्रै पुर्‍याउन सकेको छ। यस्तोमा सुदूरपश्चिम रेलिगेसनमा पर्ने लगभग पक्का हुँदा अन्य टोलीको भने शीर्ष पाँचको सम्भावना जीवित छ।

प्रकाशित: ३ आश्विन २०८१ ०९:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App