खेल

दशरथ रंगशालामै भद्रगोल महिला लिग

नेपालको एकमात्रै अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालामा खेल हुनु नै ठूलो कुरा भइसक्यो। यो रंगशालमा २०८० जेठ २७ गतेदेखि अखिल नेपाल फुटबल संघ (एन्फा) ले घरेलु प्रतियोगिता गर्न सकेको थिएन। यही मैदानमा एन्फाले १५ महिनापछि घरेलु प्रतिस्पर्धा फर्कायो, तर अविस्मरणीय भने बन्न सकेन।

अझ संकटा फुटबल क्लबका मुख्य प्रशिक्षक रवीन्द्र शिलाकारलाई यो सम्झनाभन्दा बिर्सनलायक नै बन्यो। उनी भन्छन्, ‘ए डिभिजन लिगमा काम गरेको करिब ९ वर्ष भयो। तर, आज जस्तो कहिल्यै भएन।’ एन्फा महिला लिगअन्तर्गत विभागीय डर्बीमा पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिडेका थिए। 

यो खेल १–१ को बराबरीमा सकियो। यो खेललगत्तै यही रंगशालामा संकटा र कोसी प्रदेशबीच खेल भयो। चौथो स्थानको कोसीसँग भिड्नुअघि संकटालाई शीर्ष पाँचमा अटाउन जित्नै पर्ने दबाब थियो। त्यसैले संकटा ‘ब्रिदिङ एक्सरसाइज’ पनि मैदानमै गर्ने योजनासहित टेबाहलबाट त्रिपुरेश्वर आइपुग्यो। 

तर, एन्फाले भिआइपी पारापिटको चेन्जिङ रूम नदिएपछि संकटा भनाभनमै उत्रिन पर्‍यो। पारापिटको चेन्जिङ रूममा एड्जस्ट गरेको टोलीलाई वार्मअप गर्नबाट समेत वञ्चित गरिएको शिलाकार गुनासो गर्छन्। ‘सिइओ (इन्द्रमान तुलाधर) कै कल आएपछि चेन्जिङ रूममा चित्त बुझायौं। तर, वार्मअप गर्न फिल्ड सेटअप गर्न छिरेका थियौं। 

मैदानभित्र गर्न मिल्दैन भनेर निकाले,’ उनले भने। यही रंगशालामा साढे १२ बजे पुलिस र आर्मीको खेल सुरु हुनुभन्दा अगाडि दुवै टोलीलाई वार्मअप गर्न दिएको थियो। तर, त्यो खेल सकिएलगत्तै वार्मअप गर्न सानो स्थान लिएकी गोलकिपर तेनिङ सेनेलाई पनि सेन्थेटिक ट्य्राकमा जान भनेपछि गोलकिपर प्रशिक्षक अजय महर्जन एकछिन एन्फाका पदाधिकारीसँग जंगिन पुगे। 

‘संकटामा धेरै बलिया विदेशी खेलाडी छन्, उनीहरू दौडिँदा खर्लपै घाँस उप्काउँछन् भन्ने सोचले हो या पहिला चेन्जिङ रुममा भएको विवादले गर्दा जसरी पनि हराउनुपर्छ भन्ने मेन्टालिटी रह्यो। हामीलाई वार्मअप गर्दादेखि खेल नसकिएसम्म फिल्डमा राम्रो व्यवहार भएन,’ उनले भने। विदेशी क्लबमा होस् या अन्तर्राष्ट्रिय खेल हुँदा नै किन नहोस् एक दिनअघि ‘अवे’ टोलीलाई खेल हुने स्थानमा प्रशिक्षण गर्न दिइन्छ। नेपालमा भने कुनै क्लबको आफ्नै मैदान छैन।

त्यसैले दुवै टोलीले अघिल्लो दिन खेल हुने मैदानमा प्रशिक्षण गर्दै आएका थिए। तर, अघिल्लोपल्ट कोसीले त्यस्तो अवसर पाएन। एन्फाका महासचिव किरण राईलगायतले आफू फुटबल खेलिरहेको भन्दै मैदानबाहिरबाटै फर्काइएको घटना आफै सेलाएको छैन। ‘अघिल्लो दिन प्रशिक्षण गराएर बिहान रेस्ट दिने गरेका छौं। जति खेलअगाडि नै तयारी गराउनुपर्ने हो। पहिलो हाफमा खेलाडीले बललाई नियन्त्रण लिनै गाह्रो भइरहेको थियो । यो सबै समस्या फिल्ड फिलिङ गर्न नपाएर हो,’ उनले भने।  

खेलको पहिलो हाफमा संकटा तुलनात्मक रूपमा धेरै दबाबमा रह्यो। तर, कोसीले मौका पाए पनि पेनाल्टी बक्सभित्र सेनेलाई कुनै दबाब दिन सकेन। दोस्रो हाफमा भने संकटाले सुधार गर्दै केही आक्रमण बुन्यो। तर, फितलो रह्यो। योसँगै संकटाले लिगमा दोस्रो बराबरी खेल्दै पाँच खेलबाट पाँच अंक पुर्‍याएको छ। चौथो स्थानको कोसीको भने समान खेलबाट १० अंक छ, जुन शीर्ष स्थानको पुलिस र आर्मीको भन्दा एक अंक मात्रै कम हो।

‘गल्ती भएको हो’ अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हुने भएको कारण एन्फाले पनि लिग खेलाउँदा उनीहरूकै नियम पालना गर्नुपर्ने हो। तर, शनिबारको खेल भने टोल कपभन्दा कम थिएन। यो खेलमा न्यूनतम मापदण्डभित्र पर्ने स्कोर बोर्ड र टाइमरसमेत राख्न आवश्यक ठानिएन। त्यसैले रंगशालामा पुगेका सबै दर्शक खिन्न देखिए। 

उनीहरू मात्रै होइन, ‘टच लाइन’ मा उभिएका प्रशिक्षकसमेत समय एकिन गर्न बारम्बार घडीतिर नजर डुलाइरहन्थे। खेलाडीलाई समेत सुरक्षा चुनौती हुन सक्ने गरी बारम्बार दर्शक खेल भइरहेको मैदानसम्म पुग्दा रोक्ने सुरक्षाकर्मी पनि थिएनन्। प्रतियोगिता संयोजक सञ्जीव मिश्र यसमा आफ्नो चुक भएको स्वीकार गर्छन् । अनिश्चिताको बीचमै खेल हुँदा व्यवस्थापन फितलो देखिएको उनको भनाइ छ। 

‘यहाँ खेल हुन्छ हुँदैन भन्ने नै एकिन भएन। सुरक्षाकर्मी एन्फाको सानो मैदानका लागि मात्रै तयार गरेका थियौं। तर, सानोबाट ठूलोमा आउँदा त्यो जनशक्तिले पुगेन,’ उनले भने। धन्न यो खेलमा कुनै अप्रिय घटना भएन। भएको भए यसको जिम्मेवारी को हुन्थे ? प्रश्न छ। तर, जवाफ दिने कोही छैन।

प्रकाशित: ३० भाद्र २०८१ ०६:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App