खेल

यु–२० भलिबल टोली घोषणा

अर्को महिनादेखि श्रीलंकामा आयोजना हुने काभा पुरुष यु–२० च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा गरिएको छ। सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले आयोजना गर्ने च्याम्पियनसिप असोज १७ देखि २३ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुने तय छ। नेपालले यो च्याम्पियनसिपमा पहिलोपल्ट सहभागिता जनाउन लागेको हो।

नेपाल भलिबल संघले यसै च्याम्पियनसिपका लागि गत असार १५ गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सम्पन्न भएको सहाना प्रधान स्मृति यु–१९ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो।

भदौ ८ गतेदेखि सुरु गरिएको बन्द प्रशिक्षणमा उक्त प्रतियोगिताका विजेता टोली गण्डकी र उपविजेता लुम्बिनी प्रदेशबाट समान पाँच खेलाडी सहभागी थिए। यसबाहेक सुदूरपश्चिमबाट चार र अन्य प्रदेशबाट समान एक खेलाडी बन्द प्रशिक्षणमा अटाएका थिए। त्यही बन्द प्रशिक्षणबाट संघले बुधबार टोलीमा पर्न सफल १२ खेलाडीको नाम सार्वजनिक गरेको हो।

बन्द प्रशिक्षणमा रहेका गण्डकीका सरोज बर्देवा, सुक्सन थापा र सौरभ फुन्जेल अन्तिम १२ सदस्यीय टोलीमा अटाउन सकेनन्। लुम्बिनीका रेशम विक, सुदूरपश्चिमका सुनील बोहोरा, मधेसका अभिषेक थापाले पनि टोलीमा स्थान बनाउन सकेनन्।

प्रतियोगिताका बेस्ट लिबेरो जितबहादुर सार्की, बेस्ट सर्भर सूर्य विश्वकर्मा र उत्कृष्ट खेलाडी विश्वास अधिकारी टोलीमा स्थान बनाउन सफल भए। उनीहरू गण्डकीका हुन्। 

बेस्ट सेटर दिनेश कुँवर, बेस्ट स्पाइकर सागर रसौली र बेस्ट ब्लकर अर्जुन नेपाली पनि टोलीमा अटाए । कुँवर तथा रसौली गण्डकी र अर्जुन सुदूरपश्चिमका हुन्। 

लुम्बिनीका रेसमन राहादी, कर्णालीका पहल गहतराज, सुदूरपश्चिमका सुरेश मल्ल अर्जुन नेपाली र अशोक रानाले पनि श्रीलंका जाने टोलीमा स्थान बनाएका छन्।

प्रकाशित: २८ भाद्र २०८१ ०८:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App