खेल

एन्फा पदाधिकारीले मैदान ओगट्दा अभ्यास गर्नेलाई सास्ती

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार महिला लिगमा संकटा फुटबल क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा सुरु हुनुअघि नै एकाएक दक्षिणी पारापिट खचाखच भरियो। यो पारापिट दर्शकको कारण भरिएको होइन। यो त लिग खेल्न आउने खेलाडीले भरिएको हो। 

बागमती युथ क्लबका साहयक प्रशिक्षक सोनाम लामाका अनुसार उनको टोलीलाई प्रशिक्षण गर्न यही प्रतियोगिता भइरहेको मैदान छुट्ट्याइएको छ। त्यसैले उनको टोलीका खेलाडी कति बेला खेल सकिएला र मैदान प्रवेश गरेर बललाई दुई चार लात्ता हानुम्ला भनेर साढे दुई घण्टाअघि नै एन्फा कम्प्लेक्स पुगेका हुन्।

‘हामीलाई अभ्यास गर्न एक घण्टाको मात्रै समय दिइएको हो। त्यसैले अगाडि नै आएका हौं। सुरुआतदेखि यसरी नै अभ्यास गरिरहेका छौं,’ उनले भने। पहिलोपल्ट लिग खेल्न सर्लाहीबाट बागमती काठमाडौं आइपुगेको हो। तर, उसको प्रदर्शन राम्रो हुन सकेको छैन। 

तीन खेलमा एक जित हात पारेको बागमती अझै अंकतालिकाको सातौं स्थानमा छ। उसले बिहीबार त्रिभुवन आर्मी क्लबसँग चौथो खेल खेल्दै छ। आर्मीले दुई दिनअघि मात्रै सुदूरपश्चिम प्रदेशको पोस्टमा १४ गोल बर्सााएको थियो । यति बलियो टोलीसँग खेल्न एक घण्टाको अभ्यासले पुग्छ त?

छनोट नै नखेली अखिल नेपाल फुटबल संघ (एन्फा) ले सीधै स्थान दिएको भएर होला उनी यो विषयमा खुल्न चाहेनन्। किनभने उनलाई अर्को वर्ष लिग खेल्न नपाइएला भन्ने डर पनि उत्तिकै छ। तर, उनी घुमाउरो पारामा असन्तुष्टि जनाउँदै भन्छन्, ‘तीन दिनअघि पुलिससँग खेलेका थियौं। एक दिन रेस्ट गर्छौं। एक दिन हाफ ट्रेनिङ गर्छौं। एक दिन फुल ट्रेनिङ गरेर आर्मीविरुद्ध उत्रिन लागेका हौं।’ 

विभागीयलाई छाड्ने हो भने लिग खेलिरहेका सबै क्लबको समस्या अभ्यास मैदानकै हो । सुदूरबाट आएको टोली होस् या टेबहालको संकटालाई नै किन नहोस् एन्फाले अभ्यासका लागि आफ्नै हाताभित्र रहेको टर्फ मात्रै उपलब्ध गराइदिएको छ। 

त्यही टर्फमा पनि कहिले उमेरसमूहका खेलाडी त कहिले एन्फाकै पदाधिकारी खेलिदिँदा अभ्यास नै नगरी फर्किन परेको गुनासो सुनाउँछन् कोसीका मुख्य प्रशिक्षक श्याम मानन्धर। ‘मंगलबार अभ्यास गर्न आएका थियौं। तर, एन्फाकै पदाधिकारी खेलिरहेको हुँदा फर्किन बाध्य भयौं,’ उनले सुनाए। कोसीले आइतबार मात्रै कर्णालीसँग प्रतिस्पर्धा गरेको थियो। यो खेलमा ४–० को नतिजा निकाल्न उसले खासै संघर्ष गर्नुपरेन। 

तर, पुलिसविरुद्धको खेल सहज थिएन। त्यसैले बुधबार शीर्ष स्थानमै कायम रहने लक्ष्यसहित खेलाडीलाई रणनीति बुझाउन उनी मंगलबार एन्फा पुगेका हुन्। तर, साँझ मैदान पुगेका उनलाई एन्फाका पदाधिकारीले मैदान नै छाड्न मानेनन्। छाडुन् पनि किन ? त्यही मैदानमा एन्फा महासचिव किरण राईदेखि अन्य वरिष्ठ पदाधिकारी जो उत्रिएका थिए। त्यसैले उनी खिस्स परेर फर्किएको सुनाउँछन्। ‘दुईदेखि हामीले मैदान पाएका थिएनौं। मंगलबार पाइन्छ कि भनेर आएका थियौं तर, पाएनौं । त्यसैले राम्रो तयारी गर्न पाएनौं,’ उनले भने। फिटनेसमा कोसीको मात्रै होइन, विभागबाहिरका सबै टोली कमजोर छन्। 

विभागीयको भने आफ्नै मैदान र नियमित प्रशिक्षण हुने गर्दा कुनै समस्या छैन। त्यसैले यी टोलीलाई रोक्न अन्य टोलीले टेक्टिकली प्रशिक्षण मात्रै गराउने गरेका छन्। त्यो पनि गर्न नपाएको छनक बुधबारको खेलमा कोसीले देखाएको थियो। अघिल्ला खेलसम्म लगातार जित निकालेको कोसी यही खेलमा पुलिससँग ४–० ले पराजित भयो।

यो टर्फमा बेलुकासम्म प्रतियोगिता नै हुन्छ। खाली समयमा बीचमा दुई भाग बाँडेर टोलीले अभ्यास गनुपर्ने बाध्यता छ। यु–२० राष्ट्रिय टोलीले पनि यहीँ अभ्यास गर्ने भएकोले यो स्थान साघुँरो हुन्छ । त्यही भएर संकटा सेन्ट जेभियरको मैदानमा सरेको छ। वालिङ नगरपालिका जावलाखेलको मैदानमा प्रशिक्षण गर्न पुगेको छ भने सुदूरपश्चिमले सानो गौचरण रोजेको छ।

संकटाले मैदान पाए पनि अभ्यास गर्न नपाएको रवीन्द्र शिलाकारको समस्या उस्तै छ । यही मैदानमा पनि यु–१७ राष्ट्रिय टोलीले प्रशिक्षण गरिरहेका कारण समस्या थपिएको उनको भनाइ छ। त्यसैले प्रशिक्षण नै नगराई उनी खेलाडी मैदान उतारिरहेका छन्। 

तर, तलबभत्ता बाँडफाड र राजनीति दाउपेजमा व्यस्त एन्फा कुनै टोलीको गुनासो सुन्ने मुडमा देखिँदैन । महासचिव राईको भनाइबाटै यो कुरा अझ प्रष्ट हुन्छ। उनको भनाइ छ, ‘खाली भएको मैदानमा खेले । मैदानको व्यवस्थापन मिलाउने व्यक्ति राख्देको छु । यस्तो गुनासो उनीहरूसँग गर्ने हो, अरूसँग होइन।’

प्रकाशित: २७ भाद्र २०८१ ०७:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App