खेल

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डलाई अजोडको साथ

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २१औं संस्करणले इन्स्योरेन्स पार्टनरका रूपमा बिमा कम्पनी युनाइटेड अजोड इन्स्योरेन्स प्रालिको साथ पाएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा अवार्ड कार्यक्रम आगामी भदौ २८ गते नेपाल एकेडेमी भवन कमलादीमा हुने भएको छ। सोही अवार्डका लागि सहप्रायोजकका रूपमा युनाइटेड अजोड इन्स्योरेन्स रहने भएको हो।

एनएसजेएफ र युनाइटेड अजोड इन्स्योरेन्स प्रालिबीच शुक्रबार यस सम्बन्धमा प्रायोजन सम्झौता भएको छ। सम्झौतापत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र युनाइटेड अजोडका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलले हस्ताक्षर गरे।

सम्झौता अनुसार मञ्चका सम्पूर्ण सदस्यहरूले जनही पाँच लाख बराबरको स्वास्थ्य बिमा पोलिसी पाउनुका साथै कार्यक्रम आयोजना गर्नका लागि नगद सहयोग पनि गर्ने छ।

सम्झौतापछि सिइओ रावलले नेपालमा यस्तो प्रतिष्ठित कार्यक्रममा सहप्रायोजकको रूपमा निरन्तरता दिन पाउँदा खुसी लागेको बताए। मञ्चका अध्यक्ष सुवेदीले एआइपिएस एसियाको २५औं कंग्रेससँगै आयोजना हुने यो वर्षको अवार्ड अन्तर्राष्ट्रिय स्तरको बनाउने मञ्चको प्रयासमा युनाइटेड अजोडको निरन्तर साथले थप हौसला बढाएको बताए।

पल्सर स्पोर्ट्स अवार्ड २०८० मा कुल विधामा सम्मानित हुनेछन्। वर्षका उत्कृष्ट पुरुष, महिला र युवा तथा प्रशिक्षक विधाको मनोनयन पनि सार्वजनिक हुन बाँकी छ।

त्यसबाहेक टिम अफ दी इयर, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट विधाको घोषणा भदौ २८ गते कार्यक्रमकै दिन घोषणा हुनेछ। अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन भने सार्वजनिक भइसकेको छ।

पिपल्स च्वाइसमा क्रिकेटका गुलसन झा, फुटबलकी प्रीति राई, भलिबलकी कविता भट्ट, कबड्डीकी मानमती विष्ट र रग्बीका श्रीराम श्रेष्ठ मनोनयनमा परेका छन्। ई–सेवा, पल्सर स्पोर्टस अवार्ड तथा पल्सर नेपालको आधिकारिक फेसबुक पेजमा जारी भोटिङ भदौ २७ गते राति १२ बजेसम्म खुला रहनेछ।

यसपटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसका विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन्। अन्य विधाका विजेतालाई जनही एक लाख रूपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिने छ।

प्रकाशित: २२ भाद्र २०८१ ०७:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App