खेल

एन्फा यु–१८ युथ लिग: शीर्ष स्थानमै फर्कियो पुलिस

कप्तान सुवास बम र विक्रम गौतमको चार र साजनराज गौतम र गणेश पुलामी मगरको अर्को दुई उत्कृष्ट गोल। त्यसैले शीर्ष स्थानमा उक्लिएको विभागीय टोली नेपाल पुलिस क्लबले मंगलबार ललित स्मृति एन्फा यु–१८ युथ लिगमा सातदोबाटो युथ क्लबलाई ६–१ ले पन्छायो।

अघिल्लो दिन मात्रै मनाङ मस्र्याङ्दीले एफसी खुमलटारलाई ३–१ ले हराउँदै पुनः शीर्ष स्थानमा कब्जा जमाएको थियो । तर लिगमा कमजोर प्रदर्शन गरिरहेको सातदोबाटोले फिका प्रदर्शन गरिदिँदा पुलिसलाई पुनः मनाङसँगको अंक दूरी बढाउने अवसर मिल्यो । यससँगै पुलिसले पाँच खेलबाट १३ अंक जोडेको छ। 

जारी लिगमा अपराजित रहने पुलिस एक मात्रै टोली हो। पाँच खेल नै खेलेको मनाङको भने १२ अंक छ। दोस्रो स्थानमा झरेको मनाङलाई पुलिससँग ६ गोल खाएको सातदोबाटोले नै २–० ले पाखा लगाएको थियो। त्यो नै मनाङको लिगमा पहिलो हार हो। सातदोबाटोको भने समान खेलबाट चार अंक मात्रै छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुद्धि बुद्धले लामो पासमार्फत मिलाइदिएको बलमा डी बक्सभित्र मार्कमा रहेका साजनले २९ मिनेटमै गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । त्यसको आठ मिनेटपछि नै कप्तान सुवासले दिएको कट ब्याक बललाई विक्रमले जाली चुमाए । खेलको पहिलो हाफमै सातदोबाटोको कमजोर डिफेन्सको फाइदा उठाएको पुलिसले त्यसपछि पनि लगतार आक्रमण बुनिरह्यो। ६१औं मिनेटमा सुवासले अर्को गोल थपे।

डी बक्सनजिक विक्रम गौतमले मिलाइदिएको पासलाई लक्ष्मण थामीले सीधै प्रहार गरेका थिए। तर गोलरक्षक अजय दर्जीले बचाउन नसक्दा रिबाउन्डमा सुवासले गोल थपे। ६९औं मिनेटमा विक्रमले पनि दोस्रो गोल गरे। त्यसको १० मिनेटपछि नै सुवासले व्यक्तिगत दोस्रो गोल गर्दा पुलिस ५–० को फराकिलो अग्रतामा पुगिसकेको थियो। त्यस्तो अवस्थामा गणेशले ९० मिनेटमा अर्को गोल थप्दिए।

इन्जुरी समयको तेस्रो मिनेटमा निष्पक्ष बरालले सातदोबाटोका लागि गोल गरेका थिए। तर पुलिसलाई त्यो गोलले केही घाटा गरेन र ६–१ को फराकिलो जित निकाल्यो। अर्को खेलमा चर्च ब्वाइज युनाइटेडलाई ४–२ ले हराउँदै जावलाखेल युथ क्लब पहिलो जित निकाल्न सफल भएको छ। 

जावलाखेललाई दोस्रो जित दिलाउन विवश धामीले ह्याट्रिक पूरा गरे। उनले खेलको २५औं मिनेटदेखि नै गोलको खाता खोलेका थिए। त्यसलाई निरन्तरता दिँदै उनले ७० र दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसअघि ३०औं मिनेटमा प्रशान्त तामाङले पनि जावलाखेलका लागि गोल गरेका थिए।

चर्च ब्वाइजका अमनबहादुर तामाङ र पासाङ लामाले गरेको गोल भने सान्त्वना रह्यो। अमनले ३५औं मिनेटमा गोल गरेका थिए। प्रशान्त भने दोस्रो हाफको इन्जुरी समयको आठौं मिनेटमा गोल गर्न सफल रहे। जितसँगै जावलाखेलले पाँच खेलबाट पाँच अंक जोडेको छ । चर्च ब्वाइजको भने यो दोस्रो हार हो। यसअघि चर्च ब्वाइजले न्युरोड टिम (एनआरट)सँग २–१ को हार बेहोरेको थियो। चर्च ब्वाइजको पाँच खेलबाट सात अंक छ।

प्रकाशित: १६ श्रावण २०८१ ०८:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App