खेल

दार्चुलाका भरतसिंहले पेरिस पारालिम्पिक खेल्ने

पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले पेरिस पारालिम्पिक २०२४ मा खेल्ने भएका छन्।

भरत वाइल्ड कार्ड कोटामार्फत् पेरिस पारालिम्पिकका लागि छनोट भएका हुन्। विश्व तेक्वान्दो महासंघले नेपाल पारालिम्पिक कमिटीलाई भरतको सहभागिता निश्चित भएको बारे जानकारी गराएको हो।

भरतले पेरिस पारालिम्पिकमा के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने पारालिम्पिक कमिटीले उल्लेख गरेको छ। यो समूहमा छनोट हुने भरत १२औं तथा अन्तिम खेलाडी हुन्।

दार्चुलाका भरतले यसअघि चीनको ताइयानमा पेरिस ओलम्पिकका लागि भएको एसियाली छनोट र भियतनामको दनाङमा भएको नवौं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाएका थिए।

यसअघि पेरिस पारालिम्पिक २०२४ मा पलेशा गोबर्धन छनोट भइसकेकी छन्। उनले छनोट चरण नै पूरा गरेकी हुन्।

प्रकाशित: ५ असार २०८१ १२:४१ बुधबार

#Bharat Singh Mahata #Paris Paralympics 2024