खेल

तुल्सीलाल स्मृति बुद्धिचाल आजदेखि

छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिता आजदेखि हुने भएको छ।

नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव तुल्सीलाल अमात्यको स्मृतिमा ललितपुर स्पोर्ट्स क्लब र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजनामा आजदेखि २८ गतेसम्म प्रतियोगिता हुनेछ।

प्रतियोगिता ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको हलमा लिग कम नकआउटका आधारमा हुनेछ। प्रतियोगिताको विजेता टोलीले नगद पुरस्कार दुई लाख, उपविजेताले एक लाख २० हजार, तेस्रो स्थान प्राप्त गर्ने टोलीले ६० हजार र चौथो हुने टोलीले ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रत्येक बोर्डमा पहिलो हुने चार जना खेलाडीले जनही १०÷१० हजार पुरस्कार पाउनेछन्। कुल पुरस्कार राशि चार लाख ७० हजार रूपैयाँ प्रदान गरिने प्रतियोगिताका संयोजक राजु ताम्राकारले जानकारी गराए। विगतभन्दा फरक शैलीमा खेलाइने प्रतियोगिताका प्रत्येक टोलीमा वैकल्पिकसहित पाँचजना खेलाडीहरू हुनेछन्।

प्रतियोगिता संरचनामा खेलाडीहरूलाई ए, बी, सी र डी गरी चार समूहमा वर्गीकरण गरिएको छ। समूह ‘ए’ मा उपाधि प्राप्त खेलाडी, नेपाल पूर्वच्याम्पियन, राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट १० स्थान प्राप्त खेलाडी तथा १९०० रेटिङ माथिका खेलाडी रहनेछन्।

समूह ‘बी’ मा १९०० रेटिङमुनिका खेलाडीहरू, समूह ‘सी’ मा यु–२० र समूह ‘डी’ मा यु–१६ वा महिला खेलाडी रहनेछन्। वैकल्पिक खेलाडीमा जुन समूहको खेलाडी हो त्यही स्थानमा मात्र प्रतिस्पर्धा गर्न पाउनेछन्।

प्रकाशित: २३ पुस २०८० ००:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App