खेल

आर्मी खप्तड गोल्डकपको फाइनलमा

धनगढी – बिभागीय टोली त्रिभुवन आर्मी क्लब साविकको बिजेता लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्दीमाथि जित हात पार्दै सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

खचाखच दर्शकले भरिएको धनगढी रंगशालामा शनिवार भएको पहिलो सेमीफाइनलमा मनाङ मर्स्याङ्दीलाई ३–१ ले हराउँदै आर्मी फाइनलमा पुगेको हो। गत संस्करणमा आर्मी पहिलो खेलबाटै बाहिरिएको थियो।

मनाङ मर्स्याङ्दीले खेलको ९ मिनेटमै गोल गरेर अग्रता लिएपनि नतिजा आफ्नो पक्षमा पार्न सकेन। मनाङका हेमन गुरुङले ९ मिनेटमा गोल गरेर अग्रता लिएका थिए। क्रसमा आएको बल आर्मीका गोलकिपर विकेश कुथुले राम्ररी क्लियर गर्न नसक्दा पेनाल्टी बक्समा रहेका हेमनले अवसरलाई सदपयोग गर्दै गोल गरेका थिए। खेलको २३ मिनेटमा आर्मीका भरत खवासले गोल गर्दै खेल बराबरीमा पुगाए। ४५ औ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै अग्रता दिलाए। त्यसअघि ४२ मिनेटमा श्रेष्ठले राम्रो गोल गर्ने मौका गुमाएका थिए।

दोस्रो हापमा दुवै टोलीले आक्रामक खेलेका थिए। तर कैयौं गोल गर्ने अवसर गुमाए। खेलको ६१ मिनेटमा मनाङ मर्स्याङ्दीका सुजल श्रेष्ठले गोल गर्न पाएको राम्रो अवसर गुमाए। ७७ औं मिनेटमा नवयुगले गोलकिपर दिनेश थापा मगरसँग ‘वान भर्सेस वान’ को मौका पनि गुमाए। ८८ औ मिनेटमा आर्मीका सन्तोष तामाङले नवयुगको पासमा गोल गरे।

खेलमा आर्मीका नवयुग श्रेष्ठ म्यान अफ द म्याच घोषित हुँदै १० हजार प्राप्त गरे। जितसंगै आर्मी यो सिजनको चौथो उपाधि नजिक पुगेको छ। आर्मीले उपाधीका लागी सोमबार आयोजक सुदूरपश्चिम र एपिएफबीचको सेमीफाइनल बिजेतासंग खेल्ने छ। यी दुईबीच आइतबार खेल हुनेछ।

आर्मीका प्रशिक्षक नविन न्यौपानेले खेलाडीले राम्रो मिहिनेतले खेलेकाले जित हात पार्न सकिएको बताए। ‘शुरुमै गोल खाएपनि समयमै गोल फर्काउदा खेलाडीको मनोवल बढेर राम्रो खेल्न सकेकाले जित हात पर्यो’ उनले भने। मनाङ थकित भएको मौकाको पनि फाइदा मिलेको उनले बताए। फाइनलमा पनि राम्रो खेल्ने बिश्वास रहेको उनको भनाई छ।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले शुक्रबार खेलेका खेलाडीले शनिबार नै खेल्नुपर्दा थकित भएकाले हार ब्यहोर्नु परेको बताए। आयोजकले बनाएको टाईसिट प्रति उनले असन्तुष्ट जनाए। ‘हिजोको आजै खेल्नु पर्दा हाम्रा खेलाडी थकित भएर खेल्न सकेनन्’ उनले भने, ‘आयोजकले कुन नियममा टाईसिट बनाएको हो।’ कुनै टोलीले ८, ९ दिनको बिश्राम पाएको छ भने कुनै टोलीले २४ घण्टा नवित्दै दोश्रो खेल खेल्नु परेको भन्दै उनले गुनासो गरे। मनाङले शुक्रबार अग्नी रुपन्देही ११ सँग प्रतिस्पर्धा गरेको थियो।

प्रकाशित: २९ पुस २०७४ १४:४७ शनिबार

आर्मी खप्तड गोल्डकपको फाइनलमा