खेल

नेपाल क्वार्टरफाइनलभन्दा माथि उक्लिन सकेन

उसुमा प्रतिस्पर्धा गर्दै निमा घर्तीमगर (माथि) र स्क्वासको प्रतिस्पर्धामा अमृत थापामगर। तस्बिर: नागरिक

नेपालको छिमेकी भारतले लगातार स्वर्ण पदक जित्दा अन्य दक्षिण एसियाली राष्ट्रले पनि जारी १९औं एसियाडको पदकतालिकामा आफूलाई उभ्याइरहेका छन्।

चीनको हानझाउमा जारी १९औं एसियाडमा पाँच खेलको प्रतिस्पर्धा सकिँदा नेपालको यात्रा क्वार्टरफाइनलभन्दा माथि उक्लिन सकिरहेको छैन। हालसम्म पुरुष भलिबल, सुटिङ महिलातर्फ, लन टेनिस, रग्बी र साइक्लिङको प्रतिस्पर्धा सकिइसकेको छ।

तर, पदकनजिक त परै जाओस् नेपाली खेलाडीले लगातार दोस्रो जित पनि निकाल्न सकिरहेका छैनन्। सरकारले प्राथमिकतामा राखेर तयारी गराएको तेक्वान्दो र बक्सिङको पनि प्रदर्शन पनि राम्रो हुन सकेन। यी दुवै खेलका खेलाडीले पहिलो खेल जिते पनि उनीहरूको प्रदर्शन क्वार्टरफाइनल चरण पार गर्न असफल बन्यो।

यद्यपि, नेपालकै दक्षिण एसियाली प्रतिद्वन्द्वी अफगानिस्तान, श्रीलंका र बंगलादेशले पदकतालिकामा आफूलाई उभ्याइसकेका छन्। मंगलबार यो रिपोर्ट तयार पार्दासम्म भारतले तीन स्वर्ण जितिसकेको छ। महिला क्रिकेटमा श्रीलंकाले रजत र बंगलादेशले कांस्य पदक जिते। अफगानिस्तानले भने तेक्वान्दोमा कांस्य पदक जित्यो। पुरुष ५८ केजी तौलसमूहमा रिजाई मोहसेनले अफगानिस्तानका लागि कांस्य पदक दिलाए। सेमिफाइनलमा दक्षिण कोरियाका जाङ जुनसँग पराजित भएपछि उनी कांस्य पदकमा नै सीमित भएका हुन्।

यता, नेपालको चुनौती भने क्वार्टरफाइनल नै पार गर्न सकिरहेको छैन। राम्रो प्रदर्शन गर्न सक्ने आशा गरिएको मार्सल आर्ट्स खेलले एक पछि अर्को खराब प्रदर्शन गर्दा नेपालको जुडोमा एकलतर्फ चुनौती समाप्त भएको छ।

दक्षिण एसियामा एक समय पावर हाउस मानिएको उसु र तेक्वान्दोमा पनि नेपाली खेलाडीको चुनौती अन्तिम अन्तिम पुगिसकेको छ। तर, यी खेलको प्रदर्शन पनि बिर्सनलायक नै बन्यो। आशा गरिएको अर्को खेल बक्सिङमा पनि नेपालको प्रदर्शन अन्तिम चरणमा पुगिसकेको छ।

नेपाल सरकारले पहिलो प्राथमिकता राखेर विशेष तयारी गरेको बक्सिङले पनि नतिजा त परै जाओस् प्रदर्शन पनि यादगार बन्न सकेन। समग्रमा भने नेपालका ६ खेलाडीले मात्र एक खेल जित्न सकेका छन्। तेक्वान्दोमा तीन तथा बक्सिङ, लन टेनिस र जुडोमा समान एक खेलाडीले मात्र एक खेल जित्न सकेका छन्।

जुडो: आठ खेलाडी स्तब्ध

जियोसन लिन्पु जिम्न्याजियममा जुडोमा नेपालका समान चार पुरुष÷महिला गरी आठ खेलाडीले एकलतर्फ प्रतिस्पर्धा गरिसकेका छन्। अब नेपालले जुडोमा मिक्स टिममा प्रतिस्पर्धा गर्न बाँकी छ।

तर, एकलको प्रतिस्पर्धा सकिँदा समग्रमा सुखद नतिजा त परैको कुरा नेपालको प्रदर्शन निकै निराशाजनक रह्यो। जुडोमा एक खेलाडीले मात्र एक खेल जित्न सके। जुडोमा विकास विकेले ६० केजीको राउन्ड अफ ३२ को खेलमा कम्बोडियाका भोलोडिमिर गुच्कोभलाई इप्पोन गोल्डेन स्कोरमा पाखा लगाएका थिए। तर, उनको चुनौती दोस्रो चरणमा तुर्कमिनिस्तानका ओमिरोभ आयबेकले समाप्त बनाए। मंगलबार दुई खेलाडीको पराजयसँगै नेपालको जुडोमा यात्रा समाप्त भयो। पुरुष १ सय केजीमाथि नेपालका रन्जेश गोले इप्पोनका आधारमा पराजित भए। उनलाई प्रिक्वार्टरफाइनलमा काजाकिस्तानका क्रिकबे गालिमजानले एक मिनेट सात सेकेन्डमा हराए।

महिला ७८ केजीमाथि नेपालकी आकृति जोशी उज्बेकिस्तानकी रिनिता इल्माटोभासँग इप्पोनकै आधारमा पराजित भइन्।

प्रिक्वार्टरफाइनलमा आकृति म्याटमा मात्र २७ सेकेन्ड टिकिन्। यसअघि पुरुषमा विकाससहति जंगबहादुर सारु र इन्द्रबहादुर श्रेष्ठ प्रतियोगिताबाट बाहिरिएका थिए। महिलामा मनिता श्रेष्ठ प्रधान, देवकीमाया श्रेष्ठ र १३औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठको यात्रामा पूर्णविराम लागेको थियो।

उसु: लगातार खराब प्रदर्शन

१३औं सागमा उसुका स्वर्ण विजेताद्वय निमा घर्तीमगर र दीपक हमालको प्रदर्शन पनि  निराशाजनक रह्यो।

छिओसान गाउली स्पोटर्स सेन्टरमा उसुको नान्दो विधामा प्रतिस्पर्धा गरेकी निमा पुछारमा रहिन्। निमाले नान छ्वानमा निकै फितलो प्रदर्शन गर्दै ९.१४० स्कोर गरिन्।

त्यो अंकलाई उनलाई पुछारमा खुम्च्यायो। नान्दोमा उनले सुधारिएको प्रदर्शन गरिन्। त्यो अंकले उनी आठौं स्थानमा रहिन्। तर, समग्र कुल १८.७०३ स्कोर बटुल्दै नान्दो अलराउन्डमा निमा दशौं तथा पुछारमा खुम्चिइन्। यता, दीपकले नानगुन अलराउन्ड विधामा प्रदर्शन गरेका थिए। उनी कुल १९.१७९ अंक बटुल्दै समग्रमा १३औं स्थानमा रहे।

उनले नान क्वानमा ९.६३३ स्कोरको प्रदर्शन गर्दै आफूलाई १३औं स्थानमा उभ्याए। तर, नानगुनमा भने उनले ९.५४६ स्कोर गरे। त्यससँगै उनको प्रदर्शन पनि यादगार बन्न सकेन।  

तेक्वान्दो: गोविन्द पनि पहिलो जितमा नै सीमित

एसियाडमा सबैभन्दा सफल तेक्वान्दोको प्रदर्शन पनि सुखद बन्न सकिरहेको छैन। एसियाली खेलकुदमा हालसम्म एक रजत पदकसहित १४ पदक जितेको तेक्वान्दोले मंगलबारसम्म क्वार्टरफाइनल चरण नै पार गर्न सकेन। तेक्वान्दोमा पुम्सेतर्फ प्रेमबहादुर लिम्बु तथा फाइटमा अञ्जली तामाङ र गोविन्दबहादुर आलेले पहिलो सफलता प्राप्त गरेका थिए।

फाइटमा अञ्जली तामाङ र गोविन्दबहादुरले पहिलो खेल जित्दै आशा जगाए पनि उनीहरूको यात्रा थप अगाडि बढ्न सकेन। लिनान स्पोर्ट्स कल्चर एन्ड एक्जिबिसन सेन्टरमा मंगलबार गोविन्दसहित तीन नेपाली तेक्वान्दो खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

पुरुष ६३ केजीमुनी प्रतिस्पर्धा गरेका गोविन्दबहादुरले अन्तिम ३२ को खेल जित्दै सुखद सुरुआत गरे।

तर, उनको यात्रा पनि पहिलो जितमा नै सीमित बन्यो। टिमोर लिस्टेका जोस डा कोस्टा सिल्भालाई नकआउट गर्दै उनी प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका थिए। तर, प्रिक्वाटरफाइनलमा भने उनी थाइल्यान्डका बानलुङ टुबतिम्दाङसँग २–० ले पराजित हुन पुगे।

 मंगलबार नै भएको महिला ५३ केजीमुनीको अन्तिम १६ को खेलमा नेपालकी आयषा लामा दक्षिण कोरियाकी हाएजिन पार्कसँग २–० ले पराजित भइन्। महिला ५७ केजीमुनि अन्तिम १६ कै खेलमा सन्ध्याकुमारी सिंह लाइतितिए आउनसँग २–० ले पराजित भइन्। यसअघि नै तेक्वान्दोका चार खेलाडी बाहिरिसकेका छन्।

बक्सिङ: बुद्ध पराजित

हाङझाउ एसियाडअन्तर्गत पुरुष बक्सिङमा नेपालका बुद्ध ग्याम्जो लामा पराजित भएका छन्। पुरुष ५७ केजीको अन्तिम ३२ को खेलमा बुद्ध भियतनामका भान डुयोङ एनगुएनसँग अंकका आधारमा ४–० ले पराजित भए।

पौडी: अनुशिया २५औं स्थानमा

जारी एसियाडमा एचओसी एक्वेटिक स्पोर्ट्स एरिनामा जारी पौडीतर्फ महिला एक सय मिटर फ्रिस्टायलमा नेपालकी अनुशिया तण्डुकार समग्रमा २५औं स्थानमा रहिन्।

२९ खेलाडीले प्रतिस्पर्धा गरेको उक्त स्पर्धामा अनुशियाले मंगोलिया, संयुक्त अरब इमिरेट्स (युएई), लाओस र टिमोर लिस्टेका खेलाडीलाई पछि पारिन्। पहिलो हिटमा अनुशियाले निर्धारित दूरी एक मिनेट ०३.१७ सेकेन्डमा पूरा गरिन्। अनुशिया हिट चरणबाटै बाहिरिइन्। हङकङ, चीन र फिलिपिन्सका खेलाडीले शीर्ष स्थान हात पारे।

लन टेनिस: नेपालको चुनौती समाप्त

हाङझाउ एसियाडअन्तर्गत लन टेनिसको मिक्स डबल्समा मंगलबार नेपालका प्रणव खनाल र सुनीरा थापाको जोडी पराजित भएको छ।

हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा जारी लन टेनिसमा नेपालको चुनौती समाप्त भएको छ। लन टेनिसमा पुरुष सिंगल्समा प्रदीप खड्काले एक खेल जित्नुबाहेक सुखद बन्न सकेन। दोस्रो चरणको खेलमा फिलिपिन्सका अलेक्स इला र क्यासे अल्कन्ताराको जोडीले प्रणव र सुनीराको जोडीलाई ६–० र ६–० को सोझो सेटमा पराजित गर्‍यो।

स्क्वास: टिम स्पर्धामा हार

हाङझाव एसियाडअन्तर्गत चौथो दिन मंगलबार स्क्वासमा नेपाल पुरुष÷महिला दुवै टोली मंगलबार टिम स्पर्धामा पराजित भएको छ।

हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर कोर्टमा सुरु भएको स्पर्धामा पुरुष÷महिलातर्फ दुई इभेन्टमा नेपाल पराजित भयो।

पुरुषतर्फ समूह ‘ए’ मा रहेको नेपाल कुवेत र पाकिस्तानसँग समान ३–० ले पराजित भयो। टिम इभेन्टमा नेपालका अमिर ब्लोन कुवेतका अली अर्लामेजीसँग ११–२, ११–३, ११–५ ले, अमृत थापामगर अब्दुल्लाह अल्मेजायनसँग ११–२, ११–२, ११–६ ले र अरहन्तकेशर सिंह अम्मार अल्तामिनीसँग ११–३, ११–३, ११–५ ले पराजित भए। अर्को खेलमा अमिर पाकिस्तानका नासिर इकबालसँग ११–२, ११–५, ११–२ ले अमृत असिम मुहमम्दसँग ११–३, ११–२, ११–५ ले र अरहन्त नुर जमनसँग ११–१, ११–८, ११–५ ले पराजित भए।

यस्तै महिलातर्फ समूह ‘बी’ मा रहेको नेपाल मलेसिया र मकाउसँग ३–० कै नतिजामा पराजित भयो। महिलातर्फ नेपालकी स्वस्थानी श्रेष्ठ मलेसियाकी बिन्ती अज्मानस आइरासँग ११–३, ११–१, ११–६ ले, विपना ब्लोन अजमान आइफाबिन्तीसँग ११–२, ११–५, ११–६ ले र कृष्णा थापा राचेल माएअल्नोल्डसँग ११–४, ११–५, ११–४ ले पराजित भए। मकाउविरुद्ध स्वस्थानी लेङ लामलिएङसँग ११–६, ११–९, ११–४ ले विपना वेएङ चियुएङसँग ११–३, ११–४, ११–४ ले र कृष्णा वाइ लेङ युएङसँग ११–६, ११–५, ११–० ले पराजित भए।

प्रकाशित: १० आश्विन २०८० ००:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App