खेल

नेपोली सिरी ‘ए’ उपाधिनजिक

विवादले सफलता खल्लो हुने चिन्ता

नेपोली इटालियन सिरी ‘ए’को उपाधि जित्ने लामो समयदेखिको पर्खाइमा पूर्णविराम लगाउने संघारमा छ। तर नेपोलीका समर्थक र क्लबमा मालिक औरिलो डी लौरान्टिसबीचको विवादले भने क्लबको सफलता खल्लो हुने चिन्ता बढेको छ।

सन् १९९० पछि नेपोलीले सिरी ‘ए’को उपाधि जित्न सकेको छैन। नेपोलीले सिरी ‘ए’मा शनिबार भेरोनाको सामना गर्दै छ। भेरोनामाथिको जितले नेपोलीले शीर्ष स्थानको अग्रता थप बढाउनेछ। तर नेपोलीको घरेलु मैदानमा पछिल्लो केही खेलदेखि निरन्तर समर्थकले नाराबाजी गरिरहेका छन्। जसले टोलीको मनोबल घटाउने काम गरेको छ।  

यसै महिना नेपोलीले घरेलु मैदानमा एसी मिलानलाई ४–० को नतिजा सुम्पिएको थियो। जसले समर्थकलाई थप आक्रोशित बनाएको थियो। समर्थकहरूले क्लब मालिकलाई राजीनामा दिन दबाब दिएका थिए। नेपोली २९ खेलमा ७४ अंकसहित शीर्ष स्थानमा छ। जुन दोस्रो स्थानको लाजियोभन्दा १६ अंक बढी हो।  

बुधबार मात्र च्याम्पियन्स लिगको क्वार्टफाइनल पहिलो लेगमा नेपोलीले मिलानलाई १–० को नतिजा सुम्पिएको थियो। मिलानसँगको हारपछि पनि समर्थकले टोली र क्लब नेतृत्वविरुद्ध नारा लगाएका थिए।

क्लबका प्रशिक्षक लुसानियो स्पालेट्लीले भने मंगलबार मिलानविरुद्धको दोस्रो लेगमा पनि समर्थकले क्लब नेतृत्वप्रति नाराबाजी गरेको खण्डमा राजीनामा दिने चेतावनी दिएका थिए।

डी लौरान्टिसले सन् २००४ मा क्लब टाट पल्टिएपछि नेपोलीको नेतृत्व सम्हालेका थिए। उनकै नेत्त्वमा नेपोलीले तेस्रो श्रेणीबाट सिरी ‘ए’सम्मको यात्रा पक्का गराएका थिए। तर उनी रोममा जन्मिएको भन्दै क्लब छोड्नुपर्ने माग उठ्दै आएको छ।  

‘डी लौरान्टिस नापेल्सका होइनन्, उनी रोमबाट आएका हुन्। नेपोलीका लागि राम्रो गरे पनि क्लबका अग्र समर्थकले कहिल्यै पनि उनको येगादनको कदर गर्दैनन्,’नेपोलिस्टा वेभसाइटका संचालक मासिमिलियानो गालोले भने, ‘उनीमाथि नापेल्सको समर्थन गर्न भन्दा पनि व्यापार गर्न आएको आरोप लाग्ने गरेको छ। नेपोलीले डिएगो म्याराडोना हुँदा सिरी ‘ए’को उपाधि जितेको थियो। त्यसयता भने क्लबले कहिले पनि सिरी ‘ए’को उपाधि जित्न सकेको छैन। म्याराडानो हुँदा जितेको सिरी ‘ए’र अहिलेको परिस्थिति फरक छ।  

‘डी लौरान्टिसले घरेलु मैदानमा हुने खेलमा टिकट मूल्य एक सय डलर तोकेका थिए,’उनले भने, ‘तर समर्थकहरूले भने त्यसमा धेरैभन्दा धेरै छुट पाउनुपर्ने माग राख्ने गरेका छन्।’  

प्रकाशित: २ वैशाख २०८० ००:४३ शनिबार