खेल

प्रथम वडाध्यक्ष कप फुटबलको उपाधि घरेलु टिम फ्युजनलाई

विजेता समूहलाई ट्रफि प्रदान गर्दै मेयर बस्नेत र उपमेयर राई लगायत। तस्विरः महेश्वर।

उदयपुर सदरमुकाम त्रियुगा नगरपालिका १० नं. वडाले सञ्चालन गरेको ‘प्रथम वडाध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता ०७९’ को उपाधि घरेलु टिम फ्युजन क्लब बोक्सेकै पोल्टामा परेको छ।

वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा स्थानीय गङ्गा खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा गाईघाट फुटबल क्लब ११ लाई पराजित गर्दै फ्युजनले उपाधि चुमेको हो।

निर्धारित ६० मिनेटको खेल १–१ गोल बराबरीमा टुङ्गिएपछि अन्तिम नतिजा निकाल्न टाईव्रेकरमा स्पर्धा गराइएको थियो। टाईव्रेकरमा फ्युजन क्लबले गाईघाटलाई ५–३ को गोल अन्तरले पराजित गर्दै गोल्डकप हात पार्न सफल भयो।

सुरुवाती चरणदेखि नै निकै प्रतिस्पर्धात्मक र रोचक देखिएको खेलको मध्यान्तरअघि दुवैतर्फबाट गोल हुन सकेन। मध्यान्तरपछि समय सकिन ६ मिनट मात्र बाँकी हुँदा फ्युजनका खेलाडी सुनिल खड्काले पहिला गोल गरेर समूहलाई अघि बढाए।

६० मिनटको समयभित्र एकातर्फबाट मात्र गोल भएपछि थपिएको ३ मिनटको अतिरिक्त समयको सदुपयोग गर्दै प्रतिस्पर्धी गाईघाटका खेलाडी प्रविण राईले जवाफी गोल फर्काएपछि खेल बराबरीमा टुङ्गिन पुगेको हो। टाईब्रेकरमा फ्युजनले गाईघाटभन्दा २ गोल बढी गरेर उपाधिमा बाजी मार्न पुगेको आयोजकले जनाएको छ।

विजेता फ्युजनले १ लाख नगदसहित ट्रफि र प्रमाणपत्र पाएको छ भने उपविजेता गाईघाटलाई ५० हजार नगद, सिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको छ। उनीहरुलाई त्रियुगा नगरप्रमुख बसन्तकुमार बस्नेत, उपप्रमुख महेश्वरी राई र वडाध्यक्ष किरण पाण्डेलगायतले पुरस्कार, ट्रफि र प्रमाणपत्र प्रदान गरे। प्रतियोगितामा बिभिन्न ७ वटा विधागत पुरस्कार विजेताहरूलाई पनि नगद तथा प्रमाणपत्र प्रदान गरियो।

माघ १४ गते उद्घाटन खेल भएर सुरु प्रतियोगितामा सिरहा, सप्तरी, सुनसरी र उदयपुर गरी ८ वटा खेलाडी समूहले भाग लिएकोमा विजेतादेखि विधागत पुरस्कारसम्ममा भने घरेलु टिम फ्युजनकै दबदबा रह्यो। सर्वोत्कृष्ट खेलाडी र वेष्ट गोलकिपरको पुरस्कार  फुयुजनका प्रमिज्य गच्छदारले पाउँदा म्यान अफ द म्याच सुदिप श्रेष्ठ घोषित भए। बेष्ट डिफेन्स टिप्सन राई, बेष्ट कोच हेम राई र उदीयमान खेलाडी सैसन राई पनि फ्यजनकै खेलाडी हुन्। बेष्ट मिडफिल्डरको पुरस्कार भने गाईघाटका अन्जन हमालले पाएको आयोजक वडा खेलकुद विकास समितिका सदस्य रुपेश मगरले बताए।

वडा युवा तथा खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता उदयपुरका वडाहरूले आयोजना गरेको मध्येकै सबभन्दा ठुलो पुरस्कार राशीको गोल्डकप हो। यसअघि वडामा हुने गाल्डकप प्रतियोगिताहरूभन्दा ठुलो पुरस्कार राशीको प्रतियोगितालाई आगामी दिन थप बढाउँदै निरन्तरता दिने वडाध्यक्ष पाण्डेले बताएका छन्।

प्रकाशित: २१ माघ २०७९ १६:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App