खेल

६५ वर्षमाथिको भेट्रान टेनिस उपाधि कमल थापालाई

भेट्रान्स टेनिस प्रतियोगिताको फाईनलमा व्याकह्याण्ड फर्काउँदै कमल थापा। तस्बिर नागरिक

६५ वर्षमाथिको उमेर समूहको भेट्रान टेनिस प्रतियोगिताको उपाधि कमल थापाले जितेका छन्। शुक्रबार बिहान भएको फाईनल प्रतिस्पर्धामा पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले बिदुर विष्टलाई ४–१, ४–० को सेटमा पराजित गर्दै उपाधि जितेका हुन्।

कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा आयोजित १९ औं माछापुच्छ्रे बैंक खुल्ला तथा भेट्रान्स टेनिस प्रतियोगितामा खुल्ला पुरुष तर्फ प्रदीप खड्का र प्रणव खनाल उपाधि प्रतिस्पर्धा हुने छ।

पोखरा रंगशालास्थित टेनिस कोर्टमा भएको सेमिफाईनलमा नेपालका शीर्ष बरियताका प्रदीपले बुटवलका ऋतिक रानालाई पराजित गर्न निकै कठिन भयो। दुवै सेट टाइब्रेकमा लिन पुगे। खड्काले ७–६, ७–६ को सेटमा रानाको चुनौति पन्छाउँदै फाईनल यात्रा तय गरेका हुन्।

यसैगरी प्रणव खनालले अकिजुवेन रावतलाई भने सोझो सेटमा पराजित गर्दै उपाधि भेट प्रदीपसँग बनाए। खनाल पोखरामा आयोजित नवौं राष्ट्रिय प्रतियोगितामा समेत प्रदीपसँग पराजित भएका थिए। खनालले रावतलाई ६–३, ६–३ को सेटमा पन्छाउँदै उपाधि निकट पुगेका हुन।

महिला तर्फको प्रतिस्पर्धामा अभिलाषा विष्टले फाईनल सुरक्षित गरेकी छन् । उनले सोनिरा थापालाई सोझो सेटमा पन्छाईन् । पहिलो सेट ६–१ मा लिएकी विष्टले दोस्रो सेटपनि ६–२ मा लिदैं फाईनल प्रवेश गरेकी हुन् । उनले उपाधिको लागि सर्वानी श्रेष्ठसँग प्रतिस्पर्धा गर्ने प्रतियोगिताका निर्देशक राजन पौडेलले जानकारी दिए।  सर्वानीले प्रकृति श्रेष्ठलाई ६–४, ४–६, ६–१ को सेटमा पराजित गरिन्।

३५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा कमल भण्डारीले छेवाङ लामालाई सोझो सेटमा पन्छाउँदै फाईनल प्रवेश गरेका छन् । भण्डारीले ६–३, ६–१ को सेटमा पराजित गरेका थिए। भण्डारीले उपाधिको लािग जितेन्द्र परियारसँग खेल्ने छन्। जितेन्द्रले सान्तोष खत्रीलाई ६–३, ६–४को सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेका हुन्।

प्रकाशित: १५ पुस २०७९ ०९:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App