समाज

पहिरो पीडितलाई राहत वितरण

पहिरो पीडितलाई गाउँपालिकाले राहत वितरण गरेको छ। दोगडाकेदार गाउँपालिका–२, बसाडका पहिरो पीडितलाई गाउँपालिकाले राहत वितरण गरेको हो।

अविरल वर्षासँगै आएको पहिरोले आइतबार देवसिंह महराको घर भत्काएको थियो। उनको घरमा बस्दै आएकी महराकी दीदी झापुली नङगारीलाई गाउँपालिकाले ५० हजार रुपैयाँ नगदसहित कपडा, कम्बल, भाँडाकुडा र खाद्यान्न सामग्री वितरण गरेको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले बताए।

गाउँपालिका अध्यक्ष कार्की र प्रमुख प्रशासकीय अधिकृत रविन्द्रबहादुर धामी लगायतको टोलीले गाउँमै पुगेर राहत वितरण गरेका हुन्। पहिरोले घर पूर्णरुपमा क्षतिग्रस्त भएपछि अहिले नङगारी आफन्तको घरमा बसीरहेकी छन्। पहिरोले च्यापिएर तीन बाख्रा मर्नुका साथै घरभित्रको अन्नपात र लत्ताकपडा समेत नष्ट भएको थियो।

पीडित परिवारलाई तत्कालका लागि आवश्यक सामग्री र बासस्थान व्यवस्थापनका गर्न राहत वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत धामीले जानकारी दिए। पहिरोले सोही ठाउँमा अन्य पाँच घर उच्च जोखिममा परेका छन्। स्थानीय मानसिंह महरा, राइसिंह महरा, ध्वज महरा, गणेश महरा र ज्ञानेन्द्र महराको घर पहिरोको उच्च जोखिममा परेका हुन्।

प्रकाशित: १० आश्विन २०७९ १२:३८ सोमबार

दोगडाकेदार गाउँपालिका