समाज

बुद्धभुमी नगरपालिको आयोजना बुढ्ढी तालमा ढुङ्गा सञ्चालन

कपिलवस्तुको बुद्धभुमी नगरपालिकाकोका गौरवको आयोजना बुढ्ढी तालमा ढुङ्गा सञ्चालन गरिएको छ। लुम्बिनी प्रदेशको पर्यटन ग्रामीण,तथा शहरी विकास मन्त्रालयको सहयोगमा नगरपालिकाको वडा नम्बर ४ बुढ्ढी तालमा ढुङ्गा सञ्चालन गरिएको हो।

पर्यटन ग्रामीण, तथा शहरी विकास राज्यमन्त्री रिना नेपाल र मेयर केशव कुमार श्रेष्ठले संयुक्त रुपमा रिबन काटेपछि ढुङ्गमा सयर गरी उदघाटन गरिएको थियो। मन्त्रालयले बुढ्ढी तालको पर्यटकीय विकासका लागि कुल २६ लाख ९६ हजार लगानी गरेको मन्त्रालयका इन्जिनियर रोशन प्रसाद ताम्राकारले बताए। 

त्यसमध्ये ८ लाख लागतको २ वटा मोटरले चल्ने र २ वटा पाईडिलले चल्ने गरी कुल चार बटा ढुङ्गा सञ्चालन गरिएको हो। सो अवसरमा राज्यमन्त्री नेपालले तालसहित बुद्धभुमी नगरपालिकाको पर्यटकीय विकासका लागि यो महत्वपूर्ण काम भएको बताईन्। उनले प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि समेत बुढ्ढी तालको विकासका लागि ६० लाख बजेट बिनियोजन गरेको बताईन्। '

बुढ्ढी तालसहित नगरपालिकाको पर्यटकीय विकासका लागि प्रदेशले लगानी बढाउँदै जान्छ’ उनले भनिन्। उनले तालको पर्यटकीय बिकासको लागी सबैले हातेमालो गर्नुपर्ने बताईन्। सो अवसरमा मेयर श्रेष्ठले बुढ्ढी ताललाई नगरले गौरवको आयोजनामा राखेर कार्य अघि बढाएको बताए। उनले तालको डिपिआर तयार गरी एक अर्बभन्दा बढी लगानी गर्ने योजना रहेको बताए। उनले श्रोत ब्यवस्थापनका लागि संघीय र प्रदेश सरकारमा यसबारे जानकारी गरी आवश्यक बजेट माग गरिएको बताए। ‘हामीले बुढ्ढी ताललाई सुन्दर र रमणीय बनाएर पर्यटकलाई आकषर्ण गर्ने गरी काम अघि बढाउने छौं’ उनले भने। 

सो अवसरमा पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख मुक्ति प्रसाद पाण्डेयले ८० बिघामा फैलिएको चार वटा पोखरी भएको बुढ्ढी तालमा ढुङ्गा सञ्चालन भएपछि यसका आकषर्ण झन् बढेको बताए। उनले ताललाई अझ व्यवस्थित र रमणीय बनाउनुपर्ने बताए। निबर्तमान वडाध्यक्ष पवन कुमार चौधरीले तालको विकासमा स्थानीय लागि परेको बताए। उनले तालको विकासका लागि नगर, प्रदेश र संघीय सरकारले आवश्यक रकम उपलब्ध गराउनु पर्ने बताए। तालको समग्र विकास र आयआर्जनका लागि नगरपालिकाले बुढ्ढी गाउँबासी कै जिम्मामा तालको ब्यवस्थापन गर्न दिएको छ।

तालमा स्थानीयबासीले माछापालन, कुखुरा हास पालन र खसी बोका समते पालेर आयआर्जन गरीरहेको छन्। तालमा बोटिङ स्टेशन, आरसिसि ढलान समेत गरी आवश्यक रकम खर्च भएको डिभिजन कार्यालयका लेखा अधिकृत बिनोद कुमार पौडेलले बताए। उद्घाटन कार्यक्रममा कांग्रेस प्रदेश सदस्य प्रेमलता भट्ट, पत्रकार महासंघका जिल्ला सभापति किरणमान बज्राचार्य संघका कोषाध्यक्ष मोहन बेल्बासे, युवा नेता रोमलाल खनाल लगायतको सहभागीता थियो। 

प्रकाशित: १६ श्रावण २०७९ १२:१२ सोमबार

बुढ्ढी ताल बुद्धभुभी नगरपालिका