समाज

हराउँदै परम्परागत नृत्य

दुल्लुमा कला संस्कृतिसम्बन्धी आयोजिक कार्यक्रममा देखाइएको हुड्के नाच। तस्बिर: गोविन्द/नागरिक

परम्परागत नृत्यहरू लोप हुँदै गएका छन्। सामाजिक तथा राजनीतिक परिवर्तनसँगै यहाँका विभिन्न भेग र समुदायमा प्रचलित पैंजरी, हुड्के, ढोलकी, गर्रा, रत्यौलीलगायत परम्परागत लोकनृत्यहरू लोप हुन थालेका हुन्।  

अचेल गाउँघरमा लाग्ने मेलापर्वमा ठाडीभाका, रत्यौली र देउडा नाचमा बुढापाकाको लस्कर मात्रै देख्न सकिन्छ। प्रचलित यस्ता लोकनृत्यमा समेत पछिल्लो पुस्ताको आकर्षण घटेकोमा बुढापाका चिन्तित छन्। नारायण नगरपालिका–७ का ७१ वर्षीय पूर्णबहादुर थापाले अनुशासन र सामाजिक एकता कायम राख्न परम्परागत गीत र नाचले धेरै अर्थ राख्ने बताए। ‘हाम्रा पालामा धुमधाम पन्चेबाजा बजाएर विवाह गर्ने चलन थियो। अहिलेका युवा सुटुक्क मन्दिरमा गएर विवाह गर्छन्,’ थापाले भने, ‘पहिले विवाहमा पन्चैबाजा बजाउने, ढोलकी, मारुनी र हुड्का नचाउने गरिन्थ्यो।’ विवाहमा मागल गाएर नाच्दा खुबै रमाइलो हुने गरेको बुढापाका बताउँछन्।  

परम्परागत गीत र नृत्यहरू ओझेलमा पर्नुलाई पुस्तान्तरमा आएको आधुनिकता मुख्य कारण भएको दुल्लु क्षेत्रका सम्पदा संस्कृति संरक्षण समितिका संयोजक घनश्याम भण्डारीले बताए। पछिल्लो समय एफएम रेडियो र मोबाइलको बढ्दो प्रभावले यहाँका लोकनृत्यले आधुनिक समाजमा निरन्तरता पाउन छाडेको भण्डारीको भनाइ छ। सांस्कृतिक, ऐतिहासिक र सामाजिक दृष्टिले महत्वपूर्ण मानिने यस्ता नृत्य विशेष कार्यक्रमबाहेक गाँउघरमा नाच्न छाडिएको छ।  

मागल दुलही लिन जाँदा र भित्र्याउँदा गाइने विशेष भाका हो। दमाई जातिमा हुने हुड्केले हुड्का बजाएर नाच्ने नाचलाई हुड्का भन्ने गरिन्छ। पहिले पहिले विवाह, ब्रतबन्ध र अन्य खुसियालीमा ऐतिहासिक र पौराणिक वीरपुरुषको गाथा गाएर हुड्का नाँच्ने गरिन्थ्यो। जानकारका अनुसार अहिले कर्णाली तथा सुदूरपश्चिममा मागल र हुड्के विरलै नचाएको पाइन्छ।  

दैलेख, जाजरकोट र रुकुममा कुनैबेला गर्रा, मयुँर र पैंजेरी नाचले ख्याति कमाएको थियो। कम्तीमा ७ जनाको समूहमा नाचिने यी नाच आजभोलि दिनप्रतिदिन हराउँदै छन्। संस्कृति संरक्षण समितिका संयोजक भण्डारीले नृत्यहरूबारे चिन्ता व्यक्त गर्दै भने, ‘दुई–चार जना कलाका पारखीले मात्र चासो दिनुपर्ने अवस्थाले कति दिन संरक्षण होला।’ मञ्च जिल्लामै लोपोन्मुख कला–संस्कृतिको संरक्षणका लागि दुल्लुका स्थानीय कलापारखीले बेलाबेलामा कार्यक्रम आयोजना गरेर विभिन्न लोपोन्मुख नृत्य देखाउने गर्छ। ‘स्थानीय सरकारले ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि प्रचलित पुराना नृत्यहरूको संरक्षणतर्फ चासो दिएन,’ कला संस्कृतिबारे जानकार विशाल सुनारले भने, ‘आधुनिकताले कला–संस्कृति जगेर्नातर्फ कसैको ध्यान पुग्न सकेको छैन्।’ 

प्रकाशित: १० श्रावण २०७९ ०३:४७ मंगलबार

परम्परागत लोकनृत्य