मध्य तथा बुढ्यौली उमेरमा नियमित रूपमा कति घन्टा सुत्नु आवश्यक छ भन्ने विषयमा गरिएको एक बृहत् अध्ययनले दिनहुँ सात घन्टा सुत्नु उत्कृष्ट रहेको देखाएको छ। कम र अधिक समय सुत्दा एकाग्र हुने, सम्झने, नयाँ कुरा सिक्ने, समस्या समाधान र निर्णय लिन सक्ने क्षमतामा ह्रास आउने देखिएको छ। दिनहुँ सात घन्टा सुत्दा मानसिक स्वास्थ्य राम्रो रहने तर यो अवधिभन्दा बढी वा कम समय सुत्दा मानिसमा बेचैनी, उदासीपना निम्तिने तथा समग्र स्वास्थ्य बिग्रने उक्त अध्ययनले देखाएको छ।
वैज्ञानिक जर्नल नेचरमा प्रकाशित उक्त अध्ययनअन्तर्गत चीन र बेलायतका अनुसन्धानकर्ताले ३८ देखि ७३ वर्ष उमेरका ५ लाख मानिसको अध्ययन तथ्यांक समीक्षा गरेका थिए। बेलायत सरकारको बायो बैंक नामक दीर्घकालीन स्वास्थ्य अध्ययन परियोजनामा समावेश भएका यी सहभागीको निद्राको अवस्था, मानसिक स्वास्थ्य, समग्र स्वास्थ्य स्थितिसहित चरणबद्ध संज्ञानात्मक परीक्षण गरिएको थियो। अध्ययनमा सहभागी ४० हजारको आनुवांशिक तथ्यांकको समेत समीक्षा गरिएको थियो।
‘कम अथवा धेरै समय सुत्दा संज्ञानात्मक समस्या सिर्जना हुनेमा ठोकुवा गर्न नसकिए पनि लामो समय गरिएको व्यक्तिगत अध्ययनले यो समस्या सिर्जना हुने देखिएको छ,’ अध्ययनका लेखकसमेत रहेका चीनको फुडान विश्वविद्यालयका प्राध्यापक फेङ जियानफेङले वक्तव्यमा भनेका छन्। ‘तर बुढ्यौलीमा कम निद्रा हुनुको कारण जटिल छ।
यसका लागि आनुवांशिक संरचना र दिमागको संरचनाले प्रभाव पार्छ,’ जियानफेङले भनेका छन्। निद्रासम्बन्धी अन्य अध्ययनले निदाउन समस्या हुने र बेलाबेलामा ब्युँझनेमा डिमेन्सियाको जोखिम हुने र छिट्टै मृत्यु हुन सक्ने देखाएका छन्। ६ घन्टाभन्दा कम निदाउनेमा मुटुको रोगसमेत लाग्ने ती अध्ययनले देखाएका छन्।
गहिरो निद्राका बेला दिमागले शरीरका अंगमा भएको टुटफुटलाई मर्मत गर्ने र सम्झना शक्तिलाई मजबुत पार्ने भएकाले थोरै निद्राले संज्ञानात्मक क्षमता प्रभावित हुने मानिएको छ। यसैगरी थोरै समयको निद्राका कारण एमिल्वायड नामक प्रोटिनको विकास हुने र यसले मस्तिष्कमा प्रभाव पारी कुनै प्रकारको डिमेन्सिया रोग निम्त्याउने वैज्ञानिक राय छ।
अमेरिकास्थित अमेरिकी एकेडेमी अफ स्लिप मेडिसिनका प्रवक्ता तथा सहप्राध्यापक डा. राज दासगुप्ता धेरै अवधिसम्म सुत्दा संज्ञानात्मक समस्या निम्तिने तर के कारणले यस्तो हुन्छ भन्ने विषय अझै प्रस्ट नभएको बताउँछन्। ‘यो विषयमा थप अध्ययन आवश्यक छ र यसको उपचारको खोजी जरुरी छ,’ दासगुप्ता भन्छन्। ‘युवा उमेरका लागि आवश्यक पर्ने स्तरमा बुढ्यौलीमा पनि निद्रा आवश्यक छ तर उमेर बढ्दै गर्दा त्यस्तो निद्रा पाउन कठिन हुँदै जान्छ,’ उनी भन्छन्।
सहभागीले भनेको निद्राको अवधिमा अध्ययन आधारित रहेको र यसको वैज्ञानिक मापन नभएकाले अध्ययनका केही सीमा रहे पनि बृहत् स्तरमा गरिएको यो अध्ययनको नतिजा महत्त्वपूर्ण रहेको अनुसन्धानकर्ताले बताएका छन्। अध्ययनको नतिजाले सात घन्टाको निद्रा सुसंगत हिसाबमा हुनुपर्ने देखाएको छ।
अध्ययनमा सहभागी नभएका अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक रस्सेल फोस्टरले अध्ययनले थोरै र धेरै समय सुत्दा संज्ञानात्मक क्षमतामा पार्ने देखाएको तर कारण र प्रभावबारे यथेष्ट प्रमाण संकलन नगरिएको बताए। अध्ययनमा सहभागीको स्वास्थ्य स्थितिको अवस्थाको समीक्षा नगर्दा संज्ञानात्मक समस्या अन्य कारणले पनि भएको हुन सक्ने फोस्टरको तर्क छ।
सात घन्टाको सरदर निद्रालाई उत्कृष्ट मान्दा विभिन्न मानिसको निदाउने समय फरकफरक हुने तथ्यको उपेक्षा हुने उनी ठान्छन्। ‘केही मानिसलाई सात घन्टाभन्दा कम अथवा बढी निद्रा पनि स्वस्थ्यकर हुन सक्छ,’ उनी भन्छन्, ‘हामीलाई भनिने कुरा के हो भने प्रौढ निरन्तर सात घन्टा निदाउनु आवश्यक हुन्छ। विभिन्न हिसाबले यो गलत हो। निद्रा भनेको जुत्ताको साइजजस्तै हो। एउटै साइज सबैलाई फिट हुँदैन। त्यसैले उत्कृष्ट निद्रा भनेर समय तोक्दा यसले झन् अन्योल र बेचैनी बढ्न सक्छ।’–(सिएनएन)
प्रकाशित: २३ वैशाख २०७९ ०४:०४ शुक्रबार