समाज

जग्गा कारोबार झण्डै आधा घट्यो

पछिल्लो २ महिना यता जग्गा कारोबार निरन्तर घट्दै गएको भूमि व्यवस्थापन विभागले जनाएको छ। विभागका अनुसार अहिले जग्गाको कारोबार २ महिना अघिको तुलनामा झण्डै आधा घटेको छ।

‘फागुुन/चैत महिना यता जग्गाको कारोबार घट्दै गएको छ। यो अवस्था पछिल्लो हप्ता झण्डै आधा घटेको छ’ विभागका महानिर्देशक पिताम्बर घिमिरेले भने– ‘जग्गाको कारोबारका लागि वाणिज्य बैंकहरूले ऋण प्रवाह गर्न कठिनाइ गरेपछि यो अवस्था आएको हुन सक्छ।’ विभागका अनुसार गत बिहीबार देशभर ५ हजार ७ सय ५२ कारोबार भएको थियो। यसैगरी वुधबार ५ हजार ६ सय ९५ र मंगलबार ५ हजार २ सय २४ वटा कारोबार भएको थियो। फागुन/चैत महिनाअघि एक दिनमा ८ देखि १० हजार वटासम्म जग्गा कारोबार हुने गरेको घिमिरेले बताए।  

विभागको मातहतमा देशभर १ सय २६ वटा मालपोत कार्यालयमा जग्गा प्रशासनसम्बन्धी काम हुन्छ। देशभरका सबै मालपोत कार्यालयहरूले अनलाइन सेवा सुरु गरेका छन्। सबै मालपोत कार्यालयहरूले अनलाइन सेवा सुरु गरेकाले देशभर एक दिनमा कति कारोबार भयो, र यसबाट कति राजस्व उठ्यो यसको सबै डाटा केन्द्रमा आउने गरेको छ।

विभागका अनुसार देशभर कारोबार भएका सबै डाटा केन्द्रलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ। जग्गा कारोबारबाट बिहीबार २१ करोड १९ लाख ७४ हजार रूपैयाँ राजस्व उठेको थियो। यसैगरी बुधबार २५ करोड २१ लाख ८७ हजार तथा मंगलबार १३ करोड ६० लाख ९३ हजार रूपैयाँ राजस्व उठेको विभागले जनाएको छ। विभागका अनुसार फागुन/चैत महिना अघि एक दिनमा ४५ देखि ५० करोड रूपैयाँसम्म राजस्व उठ्ने गरेको थियो। जग्गाको कारोबार घट्दै जानुमा देशमा आर्थिक मन्दिको संकेत देखिएको विज्ञहरू बताउँछन्।

वडाका कर्मचारीलाई अधिकार प्रत्यायोजन नगरी अध्यक्षहरूले राजीनामा गरेका वडाहरूमा वडा अध्यक्षले गर्ने काम ठप्प भएका छन्। यसबाट पनि जग्गाको कारोबारोमा केही असर परेको हुन सक्ने भूमि व्यवस्थापन मन्त्रालयका कर्मचारीहरूको बुझाइ छ। स्थानीय तहमा उम्मेदवारी दिनुअघि आफ्नो पदबाट राजीनामा गर्नुपर्ने कानुनी बाध्यता भए पछि केही ठाउँमा वडा अध्यक्षहरूले कर्मचारीलाई अधिकार प्रत्यायोजन नगरी चुनाव लडेका छन्। त्यस्ता वडामा वडा अध्यक्षले यसअघि गर्दै आएका जग्गा कारोबार सम्बन्धी नामसारी सिफारिस, बैंकको ऋण लिन आवश्यक सिफारिसलगायतका काम ठप्प भएका छन्।

यता विभागले १ सय २६ मालपोत कार्यालय बाहेक अरू ५ वटा मालपोत कार्यालय स्थापना गर्ने तयारी गरेको छ। विभागका महानिर्देशक घिमिरेका अनुसार आगामी आर्थिक वर्ष २०७९/८० मा सर्लाहीको बलरा, धनुषाको ढल्केबर, बाँकेको नरैनापुुर, बाराको सिम्रौनगढ तथा डोटीको गडसेरामा मालपोत कार्यालय थप्ने तयारी भएको छ। ती ठाउँहरूमा नापी विभागले ८ वर्ष अघि नै नापीका कार्यालय स्थापना गरेको छ। मालपोत कार्यालय स्थापना नभएकाले नापी विभागले खोलेका कार्यलयहरू सञ्चालनमा आउन सकेका छैनन्।

प्रकाशित: १९ वैशाख २०७९ ००:५१ सोमबार

भूमि व्यवस्थापन विभाग महानिर्देशक पिताम्बर घिमिरे