समाज

सिन्धुबाट अघि बढ्यो मेलम्ची पानी

तेस्रो पटक सुरुङमार्गमा हालिएको मेलम्ची पानी सिन्धु अडिटबाट सुन्दरीजलतर्फ अघि बढेको छ। मेलम्ची खानेपानी आयोजनाको हेलम्बु अम्बाथानस्थित मुहानस्थलबाट हालिएको पानी सिन्धु अडिटसम्मको साढे १६ किलोमिटर सुरुङ छिचोल्दै अघि बढेको हो।  

बाढीले मुहानस्थलमा थुपारेको सवा लाख घनमिटरभन्दा धेरै गेग्रान पन्छाएर गएको मंगलबार मेलम्ची सुरुङमा हालिएको थियो। ‘एक सातामै मेलम्ची पानी सिन्धुबाट अगाडि बढेको छ,’ आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले नागरिकसँग भने, ‘अबको दुई–तीन दिनमा मेलम्ची सुन्दरजल आइपुग्छ।’ मेलम्ची सुन्दरीजल आइपुगेपछि साढे २६ किमी लामो सुरुङ वारपार भएर भरिन थप दुई–तीन दिन लाग्ने उनले जानकारी दिए।  

प्रवक्ता पन्तका अनुसार अबको एक सातामै उपत्यकावासीका धाराबाट मेलम्ची पानी खस्नेछ। सुरुङ भरिएर सुन्दरीजल खस्ने सुरुको पानी एक–डेढ घण्टा बागमती नदीमा हालिने छ। ‘धमिलो पानी आउन सक्ने भएकाले बागमतीमा हाल्न लागिएको हो। एक–डेढ घण्टामै पानी सङ्लिन्छ। त्यसपछि त्यसै दिनबाट बितरण सुरु हुन्छ,’ उनले भने।  

गएको असार १ र साउन १७ गते मेलम्ची खोलामा आएको बिनासकारी बाढीले आयोजनाको मुहानस्थल पुरेको थियो। बाढीले मुहानस्थलमा ठूल्ठुला ढुंगा र बालुवाको लेदोसहित एक लाख ३० हजार घनमिटर गेग्रान थुपारेको थियो। त्यही गेग्रान तीन महिना लगाएर पन्छाएपछि सुरुङमा पानी हालिएको हो। अहिले प्रतिसेकेण्ड २ सय ६५ लिटरका दरले पानी सुरुङमा हालिएको आयोजनाले जनाएको छ।  

वर्षाअघि बढीमा दुई महिनामात्र उपत्यकावासीले मेलम्ची पानी पाउने अधिकारीहरु बताउँछन्। बाढीले पुरेको अस्थायी संरचना खोतलेर त्यहीँबाटै पानी पठाइएको हो। तत्काल स्थायी संरचना बन्न सम्भव छैन। बाढीको सम्भावना प्रबल रहेकाले वर्षा सुरु हुनासाथ मुहानस्थलको गेट लगाएर पानी बन्द गर्ने तयारी रहेको प्रवक्ता पन्तले जनाए।  

मेलम्ची मुहान नजिक भ्रेमाथाङ चौरमा थुप्रिएको गेग्रान बगेर गत वर्षामा बाढी निम्तिएको थियो। खोतलिएको गेग्रान अझै त्यहाँ बिशाल परिमाणमा बाँकी नै छ। ‘वर्षामा फेरि त्यो बग्ने खतरा छ। मुहानबाट माथितिर मेलम्ची खोलामा पनि धेरै गेग्रान र ढुंगा थुप्रिएका छन्। त्यो बगेर बाढीको रुप लिँदा सुरुङमा क्षति पुर्‍याउँछ,’ बर्षामा मुहानगेट बन्द गर्नुको कारण खुलाउँदै पन्तले भने।  

सरकारले जसरी पनि चैत मसान्तभित्र मेलम्ची पानी उपत्यका झार्ने बाचा गरेको थियो। त्यही बाचा पुरा गर्न हतारमा चैत सकिनु केही दिनअघि मात्र सुरुङमा पानी हालिएको हो। मुहान माथितिर थुप्रिएको गेग्रान र ढुंगा आयोजना आफैँले हटाउने तयारी गरिरहेको छ। तलतिर थुप्रिएको गेग्रान र ढुंगा हटाउने जिम्मेवारी भने सिञ्चाइ मन्त्रालयले पाएको छ।  

सम्भावित बाढीपहिरोले आयोजनामा थप क्षति नपु¥याएमा वर्षा सकिएपछि भदौ÷असोजमा उपत्यकावासीले पुनः पानी पाउन सक्ने छन्। यो शृंखला लामै समय चल्ने देखिएको छ। स्थायी मुहानस्थल बन्न अझै केही वर्ष लाग्न सक्ने प्रवक्ता पन्त बताउँछन्। उनका अनुसार आयोजनाको मुख्य दाता एशियाली विकास बैँक (एडिबी) ले समग्र बाढी, सम्भावित खतरा र स्थायी मुहानस्थल बनाउने विषयमा अध्ययन गरिरहेको छ।  

एडिबीले प्रतिवेदनमा दिने सुझावका आधारमा मुहानस्थल बनाउने योजना सरकारले ल्याउने छ। हालको मुहानस्थल कत्तिको सुरक्षित छ भनेरसमेत एडिबीले अध्ययन गरिरहेको छ। ‘उसले मुहानस्थल नै सार्नुपर्ने सुझाव दिन पनि सक्छ,’ पन्तले भने। आयोजनाका अनुसार एडिबीले प्रतिवेदन दिएपछि सुझावका आधारमा सरकारले स्थायी मुहान बनाउने बारे कार्ययोजना बनाउनेछ। त्यसपछि बल्ल पुनः सर्वे गर्ने काम हुन्छ। ‘त्यसपछि पनि टेन्डरबाट मुहानस्थल पुनःनिर्माणमा जानुपर्ने भएकाले स्थायी रुपमा मेलम्ची सम्पन्न गर्न अझै केही बर्ष लाग्ने देखियो,’ प्रवक्ता पन्त बताउँछन्।

प्रकाशित: ५ वैशाख २०७९ १२:५१ सोमबार