समाज

युवाले गरे गाउँपालिकामा तोडफोड, कोरिया पठाउने प्रक्रियाप्रति असन्तुष्टी

इलामको फाकफोकथुम गाउँपालिका कार्यालयमा असन्तुष्ट युवाले आज (सोमबार) गरेको तोडफोड। तस्बिरहरूः सामाजिक सञ्जाल

फाकफोकथुम गाउँपालिकाको कार्यालयमा तोडफोड गरिएको छ। गाउँपालिकाले दक्षिण कोरियामा मौसमी कामदार पठाउने प्रक्रिया पारदर्शी नगरेको भन्दै असन्तुष्ट युवाले आज (सोमबार) गाउँपालिकाको कार्यालयमा तोडफोड गरेका हुन्।  

असन्तुष्ट युवालाई आज वार्ता गर्नेगरी बोलाइएको थियो। तर, बिहान १० बजेतिर गाउँपालिका कार्यालय पुगेका युवालाई धेरैबेर पर्खिंदा पनि वार्तामा नबोलाइएपछि आक्रोशित उनीहरूले तोडफोड गरेका हुन्। उनीहरूले कार्यालयको प्रशासनिक शाखाहरूमा तालाबन्दीसमेत गरेका छन्। तोडफोडबाट गाउँपालिकाको प्रशासनिक भवन, विभिन्न शाखाको कार्यकक्ष, कम्युटर, पिन्टरलगायतमा क्षति पुगेको छ।

आफूहरूलाई वार्ता गर्ने भनी झुलाएर गाउँपालिकाले बेवास्ता गरेपछि युवा समूह आक्रोशित भएको असन्तुष्टमध्येका प्रकाश लिम्बूले बताए। ‘हामीलाई वार्ता गर्ने भनेर बोलाइएपछि जनप्रतिनिधि नै सम्पर्कविहीन भए,’ उनले भने, ‘हामीलाई झुक्याएर गलाउन खोजिएपछि चुप लागेर बस्न सकिएन।’  

उनले गाउँपालिकाले अपारदर्शी ढंगले कामदार छनोट गरेकाले त्यसलाई पारदर्शी बनाउन आग्रह गरेको बताए। ‘युवालाई रोजगारी दिने काम ठीकै भएपनि जनप्रतिनिधिले छनोटप्रक्रिया नै नपुर्‍याइ आफ्ना मान्छे छानेपछि ठूलो संख्याका हामी युवा चुप लाग्न सकेनौं,’ उनले भने, ‘हाम्रो माग नै छनोटप्रक्रिया पारदर्शी हुनुपर्छ भन्ने हो।’  

युवाले तोडफोड गरेपछि अहिले जनप्रतिनिधि र असन्तुष्ट युवाबीच गाउँपालिकामा छलफल भइरहेको छ। छलफलका लागि असन्तुष्ट युवाको तर्फबाट दीपक योङहाङको संयोजकत्वमा १० जनाको वार्ता टोली निर्माण गरिएको छ। वार्तामा गाउँपालिकातर्फबाट उपाध्यक्ष र वडाध्यक्षहरू सहभागी छन्। आफूहरूको माग पूरा नभए आन्दोलन जारी राख्ने प्रकाशले बताए।  

गत शुक्रबार पनि युवाले यही विषयमा असन्तुष्टि जनाउँदै गाउँपालिका घेराउ र नाराबाजी गरेका थिए। युवा आन्दोलित बनेपछि आजका लागि वार्ता गर्ने र समाधान निकाल्ने सहमति भएको थियो।  

फाकफोकथुम गाउँपालिका र दक्षिण कोरियाको इन्जे काउन्टीबीच गत पुस २४ मा सम्झौता भइ यहाँबाट मौसमी ट्रेनी कामदार कोरिया लैजाने सहमति भएको थियो। सहमतिअनुसार कामदार छनोटमा गाउँपालिकाका केही जनप्रतिनिधिले ‘आफ्ना मान्छे’ धमाधम कोरिया पठाउन लागेको भन्दै युवाले विरोध जनाएका हुन्।  फाकफोकथुम गाउँपालिका–१, ठिङ्गेपुरका हाङसुरुम्बा लिम्बूले गाउँपालिकाले सुटुक्क कामदार छनोट गर्न लागेकाले आफूहरूले विरोध जनाएको बताए।

‘गाउँपालिकाले मौसमी कामदार पठाउन युवाबाट आवेदन माग्यो तर छान्ने बेला केही जनप्रतिनिधिले आफ्ना मान्छेमात्रै छानेपछि हामीले विरोध गरेका हौं,’ उनले भने, ‘कामदार के आधारमा छानिए, कुन प्रक्रियाले छानिए भन्ने कुनै जानकारी दिइएन, बिर्तामोडमा वैदेशिक रोजगारी व्यवसायीसँगसमेत बसेर धमाधम आफूनिकटलाई फोन गरी मेडिकल जाँचमा बोलाइएको रहेछ।’  

लिम्बूका अनुसार युवाबाट आवेदन लिन गाउँपालिकाले सूचना गर्‍यो तर कति कामदार छनोटमा परे भन्ने भन्ने सूचना कतै निकालिएको छैन। र, छनोटको कुनै प्रक्रिया छैन। गाउँपालिकाले गत फागुन १६ मा सूचना निकालेर मौसमी कामदारका रूपमा कोरिया जान चाहने युवाबाट फागुन २६ भित्र आवेदन आह्वान गरेको थियो। जान चाहने व्यक्तिबाट योग्यताका अन्य प्रमाणसहित मेडिकल रिपोर्ट, प्रहरी रिपोर्ट, १० लाख रुपैयाँसम्मको बैंक ग्यारेन्टीलगायत माग गरिएको थियो।

सूचनाअनुसार ३० देखि ४५ वर्ष उमेरसमूहको व्यक्ति कामदारका लागि लैजान योग्य हुने भनिएको छ। तर, ३० भन्दा कम उमेरको युवालाई समेत गाउँपालिकाले फोन गरी मेडिकल जाँचमा बोलाएको असन्तुष्ट युवाले जनाएका छन्।  

मौसमी कामदारका रूपमा कोरिया जान चाहने ५ सयभन्दा बढी युवाले गाउँपालिकामा आवेदन पेस गरेका थिए। तिनीहरूमध्ये १ सय ५ जना छानिने गाउँपालिकाले बताएको थियो। तर, १ सय २२ हाराहारी युवालाई वैदेशिक रोजगारी व्यवसायीसँग बसेर सुटुक्क फोन गर्दै मेडिकल जाँचमा बोलाइएको असन्तुष्ट युवा बताउँछन्।  

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवनाथ यादवले सुरुमा कामदारको आवेदन लिन प्रक्रिया पुगेको भएपनि छनोटमा चाहिँ प्रक्रिया नपुगेको स्वीकारेका थिए। ‘छनोटमा को–को परे भन्नेबारे सूचना निकालिएन,’ उनले भनेका थिए।

प्रकाशित: ७ चैत्र २०७८ ११:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App