समाज

मिथिला विहारीको डोला जनकपुरधाममा

मिथिलाञ्चलमा तीन दिन होली

मिथिला विहारीको मुख्यडोला जनकपुरधाम आइपुग्यो। पन्ध्र दिने मिथिला मध्यमा परिक्रमापछि जनकपुरधाम फर्किंकै परिक्रमामा सहभागीहरु। तस्बिरः नागरिक

मिथिला मध्यमा परिक्रमपछि मिथिला विहारीको मुख्य डोला जनकपुरधाम पुगेको छ। शुक्रबार बिहान जनकपुरधामको अन्तःगृह परिक्रमा गरेपछि धार्मिक यात्रा ‘मिथिला मध्यमा परिक्रामा’ सम्पन्न हुनेछ।

मिथिला विहारीको डोलाको नेतृत्वमा पन्ध्र दिने धार्मिक यस यात्रालाई महाकुम्भ पनि भनिन्छ। यो मिथिलाञ्चलको सबैभन्दा लामो समयसम्म चल्ने धार्मिक यात्रा हो। मध्यमा परिक्रमामा सहभागीहरु नेपालमा १ सय ५ तथा भारतका २८ गरी कुल १ सय ३३ किलोमिटरको पैदल यात्रा गर्छन्। प्राचिन मिथिलाको राजधानी जनकपुरधामको चारै कुनामा स्थापना गरिएका चार शिवालय कलानेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वर महादेवलाई आधार मानी परिक्रमा गर्ने परम्परा छ।

कचुरीबाट सुरु भएको यो यात्रा जनकपुर, कलानेश्वर, फुलहर, मठिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोषर, औरही, विशौल, कलना हुँदै पुनः जनकपुरधाम फर्केका हुन्। मिथिलाञ्चलमा अन्तःगृह परिक्रमाको भोलिपल्ट फागु पर्व मनाउने परम्परा छ।

मिथिलाञ्चल क्षेत्रमा अवस्थित मधेश प्रदेशमा यसपालि लगातार तीन दिन ‘होली’ मनाइँदैछ। मधेसभित्र रहेका पहाडी समुदायले बिहीबार अर्थात पूर्णिमाका दिन ‘होली’ मनाउँदै छन्। मधेसी समुदायले पूर्णिमाको भोलिपल्ट ‘होली’ मनाउँछन्। मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तर्गृह परिक्रमा सम्पन्न गरेर त्यसको भोलिपल्ट ‘होली’ मनाउने परम्परा पछ्याउँदै यहाँका मधेसी शनिबार समेत होली मनाउने छन्। जनकपुरधाममा शनिबार होली खेलिने छ।  

यस्तै, मिथिला नाट्यकला परिषद्ले डेढ दशकदेखि आयोजना गर्दै आएको फागु महोत्सव बिहीबार अपराह्नदेखि जानकी मन्दिर प्राङ्गणमा सुरु हुँदैछ। दुई दिवसीय महोत्सवको पहिलो दिन डम्फा प्रतियोगिता तथा हाँस्य कवि सम्मेलन एवं दोश्रो दिन शुक्रबार महामूर्ख सम्मेलन आयोजन हुने छ। जसमा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान दिने एक दर्जन विशिष्ट व्यक्तिहरुलाई मूर्खको तथा एक जनालाई महामूर्खको उपाधि प्रदान गर्ने परम्परा छ।

मिनापका अर्का पूर्वअध्यक्ष सुनिल मिश्र मिथिलाको प्रसिद्ध फागु गीत गायन परम्परालाई संरक्षण गर्न तथा फागुको अवसरमा सामाजिक सद्भाव बढाउन महोत्सवको आयोजना गरिएको जानकारी दिए।

प्रकाशित: ३ चैत्र २०७८ ०८:५९ बिहीबार