समाज

लागूऔषध कारोबारीको ‘कनेक्सन’ काठमाडौंसम्म

लागूऔषध सेवन तथा कारोबार गर्नेको संख्या बढेर यसको व्यापार मौलाइरहँदा पूर्वका जिल्लाका गिरोहको काठमाडौंसम्म ‘कनेक्सन’ रहेको खुलेको छ।  

पाँच दिनअघि काठमाडांै कागेश्वरी मनोहरा वडा नं. ८ मा डेराबाट लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित एक जना युवती पक्राउ परिन्। प्रहरीले पक्राउ परेकी कविता गुरुङ्माथि गरेको अनुसन्धानका आधारमा सुनसरीबाट दुई जना पक्राउ परेका छन्। यस आधारमा हेर्दा पूर्वका जिल्लामा कारोबारी गर्नेको ‘कनेक्सन’ काठमाडौैंसम्मै रहेको प्रहरीले जनायो।

प्रहरीले सुनसरी कोशी वडा नं. ८ का २२ वर्षे मिथुनकुमार यादव र सोही ठाउँका १९ वर्षे प्रमोदकुमार सरदारलाई पक्राउ गरी मुद्दा दर्ता गरिसकेको छ। उनीहरुको प्रारिम्भक अनुसन्धान अनुसार लागूऔषध कारोबार पूर्वका बजारसँग काठमाडौंसम्ममै पुर्‍याउने गरिएको छ। प्रहरीले पक्राउ पर्नेका साथबाट  ९६ ग्राम खैरो हिरोइन जस्तो देखिने वस्तु बरामद गरेको छ।  

केही समयअघि लागूऔषधकै कारोबारीमा भारतको जोगवनीबाट इटहरीसम्म ल्याएर काभ्रे, काठमाडौंलगायतका स्थानमा पठाउने एक महिला र मेडिकल सञ्चालन पक्राउ परेका थिए। प्रहरीले इटहरी वडा नं. ९ बस्ने ३५ वर्षीया पूजा भन्ने लक्ष्मी श्रेष्ठ र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका वडा नं. २ घर भई काभ्रे मन्डन देउपुर वडा नं. ८ मा ज्योति मेडिकल सञ्चालक २८ वर्षीय अनिल ज्योतीलाई पक्राउ गरेको थियो।  

लक्ष्मीले जोगवनीबाट इटहरीसम्म ल्याएर काभ्रेमा मेडिकल सञ्चालन गर्ने अनिललाई गिफ्ट सामग्री प्याक गरे जसरी गाडीमा पठाएर पश्चिमका जिल्लामा खपत गर्ने गरेको अनुसन्धानबाट खुलेको थियो।

पूर्वमा लागूऔषध कारोबार हुने मुख्य स्थान सीमावर्ती भारतीय बजार जोगवनी क्षेत्र नै हो। जोगवनीबाहेक सुनसरीमा ६२ किलोमिटर खुल्ला सीमावर्ती क्षेत्रबाट पनि लागूऔषध नेपाल भित्र्याउन गरिएको प्रहरीले जनायो। सुनसरी क्षेत्रको कुनै नाकामा प्रहरीको सक्रियता बढ्यो भने लागूऔषध कारोबारीले रुट परिवर्तन गर्ने गरेका छन्।  

प्रहरीको रेकर्ड अनुसार ब्राउन सुगरबाहेक अन्य लागूऔषध जोगवनीसँगै अन्य भारतीय सीमा क्षेत्रबाट ल्याइने गरिएको छ।

लागूऔषध प्रयोगकर्ताको हिसावले काठमाडौंपछि सुनसरी देशकै दोस्रो ठूलो जिल्लामा पर्छ। जसमा लागूऔषधको कारोबारका लागि मुख्य डिलिङ हुने स्थान भने यातायातको मुख्य हब इटहरी नै हो। लागूऔषधको कारोबारमा संलग्नहरुका अनुसार इटहरीबाट पूर्वका गाउँबस्तीमा सबैतिरलागूऔषध खपत हुने गरेको छ। सुनसरीको लागूऔषध कारोबार हुने अन्य मुख्य केन्द्रमा धरान, इनरुवा, भान्टाबारी, झुम्का आदि रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ फाल्गुन २०७८ १३:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App