समाज

अटोमेटिक पेस्तोलसहित तीन जना पक्राउ

बाँकेमा हतियार सहित पक्राउ परेका ब्यक्ती। तस्बिर: नागरिक

अटोमेटिक पेस्तोलसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ४ स्थित राप्ती पुल नजिकबाट पक्राउ परेका हुन्। मंगलबार राती ९ बजेतिर राप्ती नदीको पुल नजिक गोली पड्किएको भन्ने सूचनाका आधारमा पुगेको प्रहरीले चेकजाँच गर्दा अटोमेटिक पेस्तोलसहित ३ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।  

पेस्तोलसहित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ बेलासपुर निवासी २८ वर्षीय दीपेन्द्र अधिकारी, नेपालगन्ज १८ कारकाँदोका २२ वर्षीय सुशान्त केसी र लम्कीचुहा नगरपालिका वडा नम्बर ३ कैलालीका ३२ वर्षीय द्वारिका उपाध्यायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए। पक्राउ परेका उनीहरूलाई बुधबार प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।

पक्राउ परेका ब्यक्तीको साथबाट मेडईन यूएस लेखिएको अटोमेटिक पेस्तोल एक थान, पेस्तोलमा लोड गरिएको ७ थान गोली, पेस्तोलमा प्रयोग हुने २ थान गोली, एक थान खुँडा र २ थान नक बरामद गरिएको प्रहरीले जनाएको छ।  

नेपालगन्जदेखि राप्ती नदीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२५ च ३०९७ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा हतियार बरामद गरिएको प्रवक्ता न्यौपानेले बताए। गाडी रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीको चालक सिटको बाँया तर्फको सिटको सिट कभरभित्र अटोमेटिक पेस्तोल लुकाएको अवस्थामा भेटिएको थियो। पक्राउ परेका अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान कार्य अगाडी बढाइएको डिएसपी न्यौपानेले बताए।

प्रकाशित: १८ फाल्गुन २०७८ १२:०० बुधबार