समाज

जबर्जस्ती करणीका घटनामा अधिकतर बालिका पीडित

व्यस्क र बालक दुवैको निसानामा बालिका

घटना नं. १ः चिनजानकै साथी भएकाले गर्दा असोज २० गते एक बालक र बालिका इटहरी बजार घुम्न निस्किए। घुमफिर गरेर चाँडै घर फर्कने योजना बनाएर बालिका निस्किएकी थिइन्। तर, बालकले भने कुदृष्टि राखेर बालिकालाई बोलाएका रहेछन, बालकले होटलमा लगेर उनलाई जबर्जस्ती करणी गरे। अन्ततः बालिका घर फर्कन सकिनन्। घर परिवारका सदस्यले खोजी गर्दा जबर्जस्ती करणी पछि घर फर्कन नसकेको अवस्थाबाट उद्धार गरे।

दुवै जना १८ वर्षभन्दा मुनी उमेर समूहका थिए। प्रहरीले पक्राउ गरि मुद्दा चलाएका बालक अहिले सुधार गृहमा राखिएका छन्।

 घटना नं. २ः एक वर्षअघि १४ वर्षीया बालिकालाईं होटलमा काम लगाई दिने वाहनामा जबर्जस्ती यौनधन्दा गर्न लगाएको सूचनाका आधारमा इटहरीबाट प्रहरीले उद्धार गरियो।  इटहरी वडा नं. ६ मा सञ्चालित दियालो होटलबाट बालिकालाईं उद्धार गरेका थियो। प्रहरीले चेकजाँचको क्रममा होटलको कोठा नं. १०१ बाट उद्धार गरेको थियो। उद्धार गरिएका बालिकालाई धनकुटा लेगुवा पुल डाडा घर भएकी आरती केसी भन्ने पवित्रा थापाले परिवारको अनुमति बिनै काम लगाई दिने वाहनामा यौनधन्दा गर्न लगाएको प्रहरीको अनुसन्धानबाट खुलेपछि त्यसमा संलग्न तीन जनालाई मुद्दा चलायो।

घटना नं. ३ः साउन पहिलो साता  सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा सुनसरी दुहवीमा कार्यरत एक जना ट्राफिक प्रहरी पक्राउ परे। बालिकालाई जबर्जस्ती गरेको आरोपमा झापा घर भई सुनसरी दुहबीमै बस्दै आएका प्रहरी जवान शेखर चौधरी पक्राउ परेर मुद्दा चल्यो।

यी माथिका घटना त उदाहरण मात्र हुन्। समाजमा बालिका तथा महिलामाथि घिनलाग्दो रुप जबर्जस्ती करणीका घटना बढ्दो छन्। यसरी घटना बढ्दा जबर्जस्ती करणीजस्तो कुकृत्यका घटनामा थुप्रै बालक संलग्न छन् भने पीडित हुने अधिकतर बालिका नै भएको रेकर्डले देखाएको छ।

जिल्ला अदालत सुनसरीको रेकर्ड अनुसार २०७५ सालयता बालक संलग्न भएका जबर्जस्ती करणी उद्योगका १७ वटा अहिले पनि विचाराधीन अवस्थामा रहेका छन्। सो अवधिमा बाल यौन दुरुपयोग गरि बालक नै संलग्न भएका १५ वटा मुद्दाको फैसला भएको छ भने दसवटा मुद्दामा संलग्न बालक धरौटीमा छुटेका छन्। तर, मुद्दाको अन्तिम टुंगो भने लागको छैन। २०७५ सालयता जबर्जस्ती करणीमा घटनामा बालक संलग्न भएका १६८ वटा मुद्दा रहेका छन्। यी सवै जसो घटनामा पीडित हुने बालिका नै छन्। यसरी व्यस्क व्यक्तिको पनि निसानामा बालिका नै पर्ने गरेको र अपराधमा बालक संलग्न हुँदा बालिका नै पीडित हुने गरेको तथ्याङ्कले देखाएको छ।

डर, त्रास, धाक–धम्की, अनुचित प्रभाव, शरीर बन्धक राखेर वा होस् नभएको अवस्थामा कोही बालिका तथा महिलामाथि जबर्जस्ती गरिन्छ भने त्यसलाई नै जबर्जस्ती करणी मानिन्छ। बलात्कार गर्ने हरेकले फरकफरक शैली अपनाउने गरेको विभिन्न घटनाले देखाएको छ। कतिपयले नसालु पदार्थ खुवाएर त कतिपयले ललाई फकाई प्रलोभनमा पारेर गर्ने गरेका छन्।

बलात्कारको अधिकांस मुद्दामा पीडक बढी प्रभावशाली हुने भएकाले गर्दा उनीहरु पीडितदेखि प्रहरी सवैलाई प्रभावमा पारेर अनुसन्धाननलाई कमजोर बनाउने गरेका छन्। क्षतिपूर्ति दिने बाहनामा बीचमै कुरा मिलाउनेदेखि पीडितका अगाडि इज्जतको सवाल उठाएर बयान फेराउने काम पनि हुने गरेको छ।

सुनसरीमा जबर्जस्ती करणीका घटना भएर मुद्दा दर्ता गर्ने क्रम बढेको तथ्याङ्क हेर्दा भयानक र कहानीलाग्दो घटनाले बालिका र महिलाको जीवन नष्ट गरीरहेको छ।

प्रकाशित: १७ पुस २०७८ १२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App