समाज

राप्ती राजमार्ग जीर्ण, दुर्घटना बढ्दो

कात्तिक २१ गते सल्यानको दुलधारामा भएको वस दुर्घटना। फाइल फोटोः नागरिक

राप्ती राजमार्ग मृत्यु मार्ग जस्तै बनेको छ। साँघुरो सडक, उप्किएको पिच र सडकमा रहेका खाल्टाखुल्टीको कारण राप्ती राजमार्गमाा दुर्घटना बढ्दो छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार राप्ती राजमार्गको सल्यान खण्डमा मात्रै चालु आर्थिक वर्षको साउनयता ३३ वटा सवारीसाधन दुर्घटना भएका छन्। सल्यान–दाङको सीमादेखि सल्यान–रुकुमको सीमानम्म भएका सवारी दुर्घटनामा परेर १५ जनाको मृत्यु भएको सल्यान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिए।

दुर्घटनामा परेर अरू ६६ जना घाइते भएका छन्। थापाले सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सक्रियताका साथ काम गरिरहेको बताए। प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईंले राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यानको सीमादेखि सल्यानतर्फको भागको सडक स्तरोन्नतिको काम तत्काल सुरु गर्न सडक डिभिजन कार्यालय दाङसँग समन्वय भइरहेको बताए। वर्षात्का कारण रोकिएको सडक स्तरोन्नतिको काम चाडपर्वले गर्दा केही ढिला भएको र यसै सातादेखि काम सुरु गर्ने गरी निर्माण कम्पनीले तयारी गरेको उनको भनाइ छ।

कात्तिक २१ गते सल्यानको दुलधाराबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस राप्ती लोकमार्गअन्तर्गत कपुरकोट गाउँपालिकाको खारखोलामा दुर्घटना भयो। भाइटीका लगाएर घर फर्कदै गरेका १२ जनाले अकालमा ज्यान गुमाए भने २८ जना घाइते भए। राप्ती लोकमार्गअन्तर्गत सल्यान क्षेत्रमा यस्ता दुर्घटना सामान्य जस्तै बन्न थालेका छन्। कर्णाली प्रदेशलाई लुम्बिनी प्रदेशसँग जोड्ने राप्ती लोकमार्गको वर्षौंंसम्म स्तरोन्नति र विस्तार नहुँदा ‘मृत्युमार्ग’को रूपमा परिणत हुन थालेको छ। २०६३ सालमा राप्ती लोकमार्गकै भाण्टाखोलामा गाडी दुर्घटना हुँदा ४० भन्दा बढीको मृत्यु भयो। २०७५ सालमा राप्ती लोकमार्गकै राम्रीमा स्कुल बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो।

यस्ता ठूला दुर्घटना भइरहदा पनि राप्ती लोकमार्गमा हुने दुर्घटनाका विषयमा सरकार र सरोकारवाला सबै बेखबर जस्तै छन्। दुर्घटना भएर आफन्त गुमाउँदा दुःख व्यक्त गर्नुबाहेक दुर्घटना न्यूनीकरणमा कसैको ध्यान नगएको स्थानीय बताउँछन्। दाङ, सल्यान र रुकुमलाई जोड्ने राप्ती लोकमार्गअन्तर्गत अमेलियादेखि रुकुमको सल्लेसम्म एक सय ६८ दशमलव ५४ किमी सडक पर्दछ। त्यसमध्येको तुलसीपुरदेखि श्रीनगरसम्मको सडक झन बिग्रिएको छ।

राप्ती लोकमार्गको राम्री, चोरखोला, अरिंगाले, मूलपानी, खारखोला, भान्टाखोला दुर्घटना हुने अतिजोखिम क्षेत्र हुन्। यी क्षेत्रमा सडक खाल्टाखुल्टी, पहिरोले साघुरो भएर जोखिम बढेको हो। सडक क्षतविक्षत हुँदा पनि मर्मत नहुँदा दुर्घटनाको जोखिम झन् पछि झन् बढ्दै गएको स्थानीय बताउँछन्। उनीहरूले पटकपटक यस क्षेत्रमा दुर्घटना हुनुमा सडक मर्मत नहुनु, खाल्डाखुल्टी हुनु, घुम्तीहरू साँघुरो हुनु, सडक माथिबाट झरेका पहिरो नहटाइनुले सधैं जोखिम व्यहोर्नु परेको बताए।

सडकको मर्मत नहुँदा अवस्था झन् जीर्ण हुदै जान्छ। त्यसमाथि गुडाउने सवारीसाधनको गति र भार भने उस्तै छ। सडक कमजोर छ भन्ने कुरा बिर्सिएर ओभरलोड राख्ने र तीब्र गतिमा चलाउने काम रोकिन सकेको छैन।

प्रकाशित: ३० कार्तिक २०७८ ०५:०१ मंगलबार

राप्ती राजमार्ग दुर्घटना बढ्दो