मेहनत गरे सफल भइन्छ। पसिना बगाए देशमै सुन फल्छ। स्वदेशमै रहरका लहलह बाला झुलाउन सकिन्छ। प्रवास भासिएका नेपालीहरु प्रायः यस्तै सोच्छन्।
पढेर देशमै बस्छु। कलिला नानीहरुलाई माटो र सभ्यता सिकाउँछु। आफ्नै देशमा पसिनाको सिँचाइ गर्छु। स्वाभिमानी नेपाली भएर बाँच्छु। भन्ने चाहना, सपना बोकेर २०६३ सालमा स्याङ्गजाबाट राजधानी झरेका गुरुदत्त न्यौपानेले कोरियामा ९ वर्ष बिताए।
नै वर्षको अवधिमा कति पटक देश सम्झेर आँखा दुखाए। कति पटक राजनीतिक अवस्था देखेर दुखे। कति पटक आफन्त सम्झिएर भक्कानिए। त्यसको हिसाब उनीसँग छैन।
त्रिभुवन विश्वविद्यालयबाट भौतिकशास्त्रमा एमएससी सकेर नेपालमा नै बस्छु भन्ने सपना बोकेका युवा अन्ततः आफ्नो भविष्य खोज्न प्रवासिनु पर्यो। राजधानी उनको सपना जस्तो उज्यालो रहेनछ। तैपनि अँध्यारोभित्र उज्यालो खोज्ने प्रयास नगरेका होइनन्।
२०६३ सालमा उनी काठमाडौँको त्रिचन्द्र कलेजमा बिएससी भर्ना भए। ‘पढेर देशमा नै केही गर्ने चाहना थियो। घरको आर्थिक अवस्था मजबुत नभए पनि मेहनत गरेर जसरी पनि पढाइ पूरा गर्छु भन्ने दृढ संकल्प राखेँ। सपना साकार बनाउन र राजधानीमा टिक्नका लागि काम गर्नैपर्थ्यो। त्यसबेलामा राजधानीमा काम खोज्न निकै सकस भयो’, उनले बताए।
बिहान कलेज पुग्नेबित्तिकै उनी लाइब्रेरी पस्थे। कलेजमा हरेक दिन आउने राष्ट्रिय पत्रिकामा उनका आँखा ठोक्किन्थे। रोजगारीको सुवर्ण अवसर भन्ने हेडलाइनमा पुगेपछि उनको मन शान्त हुन्थ्यो । पत्रिकामा विज्ञापन देखेर धेरै ठाउँमा फोन लगाएको उनलाई सम्झना छ। प्रायः उनका आँखा शिक्षक आवश्यतामा पुग्थ्यो। कारण उनी पढाउन निकै रमाइलो मान्थे।
पत्रिकाबाट लिएको नम्बरमा उनले धेरै ठाउँमा फोन लगाउथे। उताबाट खबर गर्छौ भन्ने जवाफ आएपछि उनी ढुक्क भएर फोनको प्रतिक्षामा बस्थे। तर प्रायः ठाउँबाट फोन आउँदैनथ्यो।
एकाबिहान कलेज जाँदै गर्दा उनले कलेज अगाडि भित्तामा टाँसिएको विज्ञापन देखे। अल्बट अंग्रेजी सकेन्डरी बोर्डिङ स्कूल मैतीदेवीका लागि अंग्रेजी टिचर चाहिएको रहेछ। उनले स्कुलको नम्बर टिपेपछि विज्ञापन च्यातेर फालिदिए। कारण त्यो स्कुलमा अरूको आवेदन नपरोस भन्ने उनको चाहना थियो। अन्ततः उनले जागिर पाए। सुरुको महिना पैतालिस सय पैसा तलव आउँदा उनी निकै खुसी थिए।
जागिरको कारण उनी कहिल्यै पूरा समय कलेजमा पढ्न पाएनन्। कलेजमा एक बजेसम्म पढाइहुन्थ्यो। तर उनी नौ बजे नै स्कुल पुगिसक्नुपर्थ्यो। पूरा समय पढ्न नभ्याएपनि पनि उनले सहजै विएस्सी उतीर्ण गरे।
न्यौपानेले शिक्षण पेसालाई कहिल्यै पनि बोझका रूपमा लिएनन्। उनले पढाउने स्कुलका केटाकेटी उनकै उमेरका थिए। त्यसकारण पनि उनलाइ रमाइलो लाग्थ्यो।
एक वर्षपछि उनले लाजिम्पाटमा अनुपमविद्या सदनमा पढाउन थाले। त्यतिबेलासम्म वैदेशिक रोजगारीमा जान्छु भन्ने कल्पना समेत गरेका थिएनन्। उनले शिक्षमा नै आफ्नो भविष्य देखेका थिए।
त्यसैबेला उनी वैवाहिक जीवनमा बाँधिन पुगे। त्रिभुवन विश्वविद्यायबाट भौतिक विज्ञानमा एमएससी सक्ने सपना एकतिर थियो भने पारिवारिक जिम्मेवारी र भविष्यको अर्कोतिर अन्योलमा फस्यो।
शिक्षकको जागिरले सहजसँग जीवन चलेन। देशको राजनीति अस्थिरता र अस्तव्यस्त जीवनशैलीका कारण आफ्नो इच्छा, चाहना, सपनालाई एकातरि पन्छाएर विवाह गरेको तीन महिना नबित्दै उनी कोरिया उड्नु उनको बाध्यता थियो भने कलिला नानीहरू देश पढाइरहेका युवक अर्काको देशमा भविष्य खोज्न पठाउनु यो देशको नै दुर्भाग्य थियो।
कोरियाको एयरपोट झरेपछिको मुस्कुराएका न्यौपाने कम्पनीमा पुगेपछि छाँगाबाट खसेजस्तै भए। त्यतिबेला नै उनले बुझे सपना र भोगाइको कोरिया।
उनको काम आल्मुनियको कम्पनीमा थियो। कलमसँग खेलेको मान्छे केमिकलसँग खेल्न पुगे। उनको कम्पनीमा नेपाली कोही थिएन। उनी न भाषा बुझ्थे न काम सजिलो थियो। कम्पनीमा अरू नेपाली पनि थिएनन् । त्यसकारण उनको मन धेरै आत्तिएको थियो। उनले नजिकै एक जना नेपाली बस्नुहुन्छ भन्ने थाहा पाए त्यसपछि ढुक्कको सास फेरेका थिए।
उनले नेपालको आफ्नो हैसियत सम्झिए। आफ्नै इज्जत र अनुशासनको दायराभित्र बसेको मान्छे त्यहाँ न आफ्नो हैसियत थियो न कुनै पहिचान। जिन्दगीमा दुःख नगरेको मान्छे ठूलो सानो नभनी अह्राएको सबै काम गर्नुपर्थ्याे। जुन आफ्नो ज्यानको लागि पनि खतरा हुनसक्थ्यो।
भाषागत समस्या एकातिर थियो भने नेपालमा पढेको पढाइको न सम्मान थियो कुनै काम। कोरियनहरूले उनलाई निकै तल्लो स्तरको भाषा प्रयोग गर्थे। ‘कोरियामा उमेरको निकै महत्व हुँदो रहेछ। ठूला मान्छेले जे भने पनि सही हुने र साना मान्छेले सहरै बस्नुपर्ने प्रवृत्तिको हावी रहेछ,’ उनले थपे।
सुरुमा उनलाई निकै गाह्रो भयो। न खाना मिल्थ्यो न भाषा। कहिलेकाहीँ त १५ घन्टासम्म पनि काम गर्नुपर्थ्यो। कलम र केमिकलको बिचको भिन्नता उनले त्यसै बेला बुझे।
कुनै दिन कामले यति थाक्थे कि, एक मनले भन्थ्यो नेपालमा तेरो सबै थोक छ फर्की। तर तत्काल अर्को मनले जवाफ दिन्थ्यो,‘अस्तव्यस्त राजनीति र आफ्नो सानो कोठा भुलिसकिस्।’ मनको यही विवादमा काम गर्दागर्दै नौ वर्ष बितेको उनलाई पत्तै भएन।
जिन्दगी मेसिनजस्तो छँदै थियो। पहिलो प्राथमितामा काम थियो भने त्यसबाट बचेको समय समाजसेवामा लगाउँथे। उनको नेतृत्वमा दुःखमा परेका धेरै नेपालीहरुलाई सहयोग पनि गरिँदै आएको छ।
न्यौपाने र अन्य नेपाली युवारुरुको समूहको अगुवाइमा न्यानो कपडा बाँड्ने, रासकोट अभियानसँगै पीडामा परेका नेपालीहरुलाई सहयोगका लागि धेरै अभियान चलाए। कोरोनाको कालमा एनआरएनए लगायत अन्य संस्थासँग मिलेर करिब डेढ करोड बराबराको स्वास्थ्य सामग्री नेपालाई वितरण गरे।
उनी भन्छन्, ‘नेपालको अस्तव्यस्त राजनीतिसँग वितृष्णा त छँदै छ तैपनि देश र नेपाली साथीहरूलाई उच्च प्राथमिकतामा राखेर काम गर्दा निकै गौरववोध हुन्छ।’ कोरियामा पत्रकारिता, नियमित काम, समाजसेवामा उनी निकै सक्रिय छन्। उनी लगायत अन्य नेपाली युवाहरुको सक्रियातमा कोरियामा लाइब्रेरीदेखि मन्दिर बनाउनेसम्मको कार्यमा नेपाली युवाहरु सक्रिय छन्।
हरेक मान्छेमा पीडा छ, दुःख, पीडा, अभाव र समस्या छ। आफ्नो दुःख लुकाएर अरुलाई सहयोग गर्नु उनी मानवीय धर्म र नेपाली हुनुको कर्तव्य सम्झन्छन्।
कोरियामा उनले नौ वर्ष भोगे। विकास र समृद्धि देखे। परायामुलुको विकास र आफ्नो देशको अवस्था देख्दा उनलाई निकै दुःख लाग्छ।
उनी भन्छन्, ‘हरेक दिन राहदानी विभागमा पासपोर्ट बनाउने युवाको लाइन देख्दा पीडाबोध हुन्छ। यो देशमा सम्भावना नदेखेर आफ्नो भविष्यको सम्भावना अरुकै देशमा देखेर प्रवासिन बाध्य भएका युवाहरुको अवस्थादेख्दा मन अमिलो हुन्छ। युवा पलायन एकै पटक रोक्न त सकिँदैन तर यसलाई बिस्तारै कम गर्न सकिन्छ।’
उनी अब आफ्नै देश फर्कन चाहान्छन्। ‘जति दुःख भए पनि आफ्नै देशको माटोमा पसिना बगाउँछु। आफ्नै मेहनतको रंगले देश सजाउन चाहन्छु,’ उनले भने।
गुरुदत्त न्यौपाने प्रतिनिधि पात्र मात्र हुन्। त्रिभुवन विमास्थलबाट हरेक दिन सात सयको हाराहारीमा युवाहरु वैदेशिक रोजगारीका लागि जाने गरेका छन्। कलिला नानी, जवान श्रीमती,बुढा बाआमा र यो देशको भविष्य अन्यौलमा राखेर कहिलेसम्म युवाहरूले अर्काको मुलुकमा आफ्नो भविष्य खोज्ने?
प्रकाशित: २७ कार्तिक २०७८ १३:३७ शनिबार