सामान्य घरायसी झगडामा छिमेकीको छुरा प्रहारबाट इटहरी–३ सुनौलो बस्तीमा शुक्रबार साँझ एक जनाको मृत्यु भएको छ। छुरा प्रहारबाट सोही ठाउँका २२ वर्षीय राजु थापाको मृत्यु भएको हो। थापा र छिमेकी ५८ वर्षीय देवीप्रसाद अधिकारीबीच घरायसी विषयमा झगडा भएको थियो। अन्य बेला पनि दुई जनाबीच झगडा भइरहने गर्थ्याे।
‘दुई पक्षीय झगडा भएको सूचना पाएर प्रहरी गाउँमै दिउँसो गएर आइतबार दुवै पक्षलाई राखेर मिलापत्र गराएर फर्किएपछि फेरि झगडा गरेछन्,’ इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले भने, ‘धारिलो हतियार प्रहार गर्दा राजु गम्भीर घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको हो।’ राजुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो।
छुरा प्रहार गर्ने देवीप्रसादलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी केसीले बताए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ।
प्रकाशित: १० आश्विन २०७८ ०२:३४ आइतबार