समाज

‘कुनैपनि विकल्प नभएपछि झ्यालबाट हाम फाल्न बाध्य भयौं’

भेरी अस्पतालको कोभिड वार्डबाट हाम फालेकी स्टाफ नर्स अस्मिनी गुरुङ । तस्बिर : अर्जुन ओली/नागरिक

मेरो नाम अस्मिनी गुरुङ हो । भेरी अस्पतालको कोभिड आईसियुमा पहिलो चरणको कोरोना महामारीदेखि अहिले सम्म कार्यरत छु । हाम्रो ड्युटीको नाइट सिफ्ट चाही ७ बजेबाट सुरु हुन्छ । उहाँ बिरामी(डिल्ली रावत)  चाही कोभिड आईसियुको १३ नम्बर बेडमा भर्ना हुनुहुन्थ्यो । अनि उहाँको अवस्था चाही पहिले देखि सिरियस नै हुनुहुन्थ्यो ।  

त्यसको सम्पुर्ण जानकारी डाक्टरले गराइसक्नु भएको थियो कि तपाईको बिरामीको अवस्था गम्भिर छ । जे–जे जानकारी दिनुपर्ने हो, त्यो सबै दिइसक्नु भएको थियो । अनि अचानक बिरामीको अक्सिजन लेभल घट्यो र २०–३० सम्म पुग्यो । त्यसपछि हामीले भेन्टिलेटरमा राखेर अक्सिजन दिने योजना बनायौं । दुई जना बहिनीहरु पहिल्यै त्यहाँ थिए । मैले भेन्टिलेटर जोड्ने क्रममा उहाँ(मानबहादुर रावत)ले मलाई के भन्नुभयो भने, ‘कस्तो नर्स हो, भेन्टिलेटर जोड्न नआउने ।’ किनकी भेन्टिलेटरमा राख्ने वित्तिकै एकैचोटी अक्सिजन बढ्ने हुँदैन, समय लाग्छ । ‘कस्तो नर्स हो, कहाँदेखी पढेको हो ? लाईसेन्स खारेज गरिदिन्छु, जागिरबाट निकालिदिन्छु, यस्तो नर्सलाई यहाँ ल्याउने हो ? भेन्टिलेटर जोडेर मेरो बिरामी मार्न लागे ।’ भन्ने शब्द उहाँले निकाल्नु भयो ।  

त्यसपछि हामीले उहाँ (मानबहादुर)लाई बाहिर पठायौं । त्यसपछि हामीले जे–जे औषधि दिनुपर्ने थियो, त्यो दियौं । बिरामीको मृत्यु भइसकेपछि कन्फम(निश्चित) गर्नलाई ईसिजी गर्ने क्रममा एक जना हाम्रो स्टाफ सदिक्षालाई चाही ईसिजी गर्दा गर्दै १०/१५ जनाको समुहमा आएर घाँटी अठ्याएर मार्ने कोसिस गर्दाखेरी भाग्दै–भाग्दै आइसकेपछि हामीहरु सबैजना भागेर कोभिड आईसियुभित्र एउटा क्याविन छ, त्यहाँ क्याविनभित्र लुकेर बस्यौं । त्यहाँ पनि उहाँहरु सबै जना आएर ढोका फोड्नु भयो । ढोका फोडिसकेपछि भित्र जानु भयो । त्यसपछि हामी त्यहाँदेखी त्यहीतिर अट्याच ट्वाईलेट थियो, त्यहीनिर गएर लुक्ने कोसिस गर्दाखेरी उहाँहरु त्यहाँपनि आउनु भयो ।  

त्यो ढोका पनि फोड्दाखेरी चाही हामीसँग कुनैपनि विकल्प नभएपछि झ्यालबाट हाम फाल्न बाध्य भयौं । त्यहाँदेखि भागेर हामी फेरि नयाँ भवन बनाएको छ, त्यहाँ लुकेर बस्यौं एक घण्टाजति । त्यहाँ बसेर हामी रोएका छौं, कराएका छौं । हामी चार जना स्टाफ नर्स र एक जना अनड्युटी डाक्टर हाम फालेका हौं । हामीले अस्पताल प्रशासनलाई पहिले नै जानकारी गराइसकेका थियौं कि बिरामीको आफन्त एकदमै आक्रोशित हुनुहुन्छ, त्यही कारणले गर्दा हामीलाई प्रहरी पठाईदिनुस् भनेर भन्दा पनि उहाँहरुले प्रहरी नपठाईदिँदा यस्तो घटना भएको हो ।  

चोटपटक खुट्टामा लागेको छ । एक जना बहिनीको पनि खुट्टामा धेरै चोट लागेर एक्सरे गर्न पठाएका छौं । गहिरो चोट चाही छैन । हामीलाई पहिल्यै योजना बनाएको लागेको थियो । अवस्था यस्तो थियो की हामी कराउँदा पनि कोहीपनि बचाउन नआउने अवस्था थियो ।  

(नेपालगन्जस्थित नागरिक संवाददाता अर्जुन ओलीसँग गरिएको कुराकानीमा आधारित)

प्रकाशित: १४ जेष्ठ २०७८ ०८:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App