समाज

२० हजार वर्ग किमी क्षेत्रफलमा हवाइ फोटोग्राफ नक्सा तयार हुँदै

नापी विभागले पश्चिम तराईको उचाइसहितको फोटो नक्सा तयार गर्ने भएको छ। विभागले पश्चिम तराईको २० हजार वर्ग किलोमिटर क्षेत्रफलमा हवाई फोटोग्राफ डाटा संकलन गरी उचाइसहितको फोटो नक्सा तयार गर्ने भएको हो।

त्यसका लागि मंगलबारदेखि विभागका प्राविधिकहरूले काम सुरु गरेका छन्। अहिले प्राविधिकहरु फिल्डमै गई धमाधम लाइलडर सर्भेक्षण भइरहेको विभागले जनाएको छ।

यसबाट विकास निर्माणमा सम्भाव्यता तथा पूर्व सम्भाव्यता अध्यन गर्न फिल्डमै जानु नपर्ने, लाइडर सर्भेक्षणपछि तयार गरिएको नक्साबाट घरमै बसेर अध्ययन गर्न सकिने विभागका प्राविधिकहरूले बताएका छन्। लाइडर नक्सा तयार भएपछि घरमै बसेर प्रष्टसँग घर, बाटो, कुलो कुलेसो, खोला नदी, पुल तथा जमिनको उचाइ समेत थाहा हुने विभागका कर्मचारीहरुले बताए।

विभागका अनुसार यति ठूलो क्षेत्रफलमा नेपालमा गरिएको यो पहिलो काम हो।  

मंगलबारदेखि नै हवाइ उडानबाट लाइडर नक्सा तथा हवाइ फोटो ग्राफ डाटा संकलन गरेको विभागले यसका लागि हवाइजहाजमै जिपिएस, लाइडर सेन्सर, तथा आइएयु उपकरण जडान गरेको छ ।

भैरहवा, नेपालगञ्ज र धनगढी एपरपोर्टलाई आधार मानेर डेढदेखि दुई महिनासम्म लाइडर नक्सांकनको काम सम्पन्न गरिने विभागका सूचना अधिकारी दामोदर ढकालले बताए। ढकालका अनुसार जुन सतहमा सर्भेक्षण गर्ने हो, त्यस सतहमाथि प्लेन उडाएर क्यामराबाट तस्विर लिइन्छ । प्लेनबाटै लाइडर सेन्सरले जमिनमा सिग्नल पठाउँछ। जमिनबाट फर्केएको सिग्नल लाइडर सेन्सरमा रेकर्ड हुन्छ। लाइडर सिग्नलबाट रेकर्ड भएका डाटालाई प्रशोधन गरी उचाइ पत्ता लगाइने ढकालले जनाए।

लाइडर सर्भेक्षणबाट डिटिएम(डिजिटल टेरेम मोडेल)भौगलिक स्वरुप र फोटो नक्सा तयार हुने विभागले जनाएको छ। पहिलो चरणमा २० हजार वर्ग किमिमा लाइडर सर्भेक्षण हुने र क्रमशःदेशरभर लाइडर सर्भेक्षण गरिने विभागले जनाएको छ।

विभागका अनुसार, पहिलो चरणमा पश्चिम कञ्चनपुरदेखि चितवन सम्मको पश्चिमी तयार क्षेत्रमा लाइडर सर्भेक्षण हुने भएको छ।  

लाइडर नक्सा तयार भएमा जलविद्युत, सडक, खानेपानी, सिंचाइ, दैविक प्रकोप, पूर्वअनुमान, सुरक्षा रणनीति, निर्माण लगायतका कार्यहरूमा ठूलो योगदान पुग्ने विभागका प्राविधिकहरूको भनाइ छ।

प्रकाशित: २४ वैशाख २०७८ ०६:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App